भारतको लोक सभामा भाजपा एक्लैको बहुमत नपुग्ने
भारतको लोक सभा निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को बहुमत नपुग्ने देखिएको छ।
लोक सभा निर्वाचनको मतगणना जारी छ। भारतीय चुनाव आयोगका अनुसार अपराह्न ३ बजेसम्मको मतगणनामा भाजपाले तीन सीट जितेको छ भने २३७ सीटमा अग्रता लिएको छ। ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सीट आवश्यक पर्छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा चुनावमा गएको भाजपाले ४०० भन्दा बढी सीट पाउने नारा लगाएको थियो। तर उसले बहुमत पनि नपाउने देखिएको छ। सन् २०१९ मा भएको निर्वाचनमा भाजपाले ३०३ सीट जितेको थियो।
भाजपा नेतृत्वको एनडीए गठबन्धनको भने बहुमत पुग्ने देखिएको छ। एनडीए गठबन्धन २९२ सीटमा अगाडि छ।
त्यस्तै, भारतीय राष्ट्रिय कंग्रेसको गत निर्वाचनभन्दा सीट संख्या बढ्ने देखिएको छ। अहिलेसम्म एक सीट जितेको छ भने ९८ सीटमा अगाडि छ। गत निर्वाचनमा ५२ सीट जितेको थियो।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले बहुमत पाउने सम्भावना कम छ। अहिलेसम्म इन्डिया गठबन्धनले एक सीट जितेको छ भने २०० सीटमा अग्रता लिएको छ।
अहिले कुनै गठबन्धनमा नरहेको ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसले पश्चिम बंगालमा आफ्नो दबदबा कायम राख्ने देखिएको छ। पश्चिम बंगालका ४२ मध्ये २९ सीटमा तृणमूल कंग्रेसले अग्रता लिइरहेको छ। पश्चिम बंगालमा १२ सीटमा भाजपा र एक सीटमा कंग्रेसले अग्रता लिइरहेका छन्।
सबैभन्दा बढी सीट रहेको उत्तर प्रदेशमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी अग्रस्थानमा देखिएको छ। उत्तर प्रदेशका ८० मध्ये ३५ सीटमा समाजवादी पार्टीले अग्रता लिइरहेको छ। त्यस्तै, ३४ सीटमा भाजपा, सात सीटमा कंग्रेस, दुई सीटमा राष्ट्रिय लोक दल, अजाद समाजवादी पार्टी र अपना दलले एक-एक सीटमा अग्रता लिइरहेका छन्।
त्यस्तै, अर्को ठूलो राज्य बिहारमा नीतीश कुमार नेतृत्वको जनता दल (युनाइटेड) अग्रस्थानमा देखिएको छ। बिहारका ४० सीटमध्ये १४ सीटमा जनता दलको अग्रता छ। भाजपा १२, लोक जनशक्ति पार्टी पाँच, राष्ट्रिय जनता दल चार, कंग्रेस र कम्युनिस्ट पार्टी दुई-दुई सीटमा अग्रता लिइरहेका छन्।