भारतीय चुनाव : एनडीए २८६ र इन्डिया गठबन्धन २३८ सीटमा अगाडि
भारतको लोक सभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन अगाडि छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन तीव्र प्रतिस्पर्धामा देखिएको छ।
लोक सभाका ५४३ मध्ये ५४२ सीटमा मतगणना जारी छ। एक सीटमा भने कांग्रेसको उम्मेदवारी खारेज भएपछि भाजपाका उम्मेदवार यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
मतगणनाको पछिल्लो विवरण अनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धन २८६ सीटमा अगाडि छ। सन् २०१९ को निर्वाचनमा एनडीएले ३०८ सीट जितेको थियो।
त्यस्तै, कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३८ सीटमा अग्रता लिएको छ। गत निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले ८० सीट मात्रै जितेको थियो।
दुवै गठबन्धनमा नरहेका अन्य दलहरू १९ सीटमा अगाडि छन्। गत निर्वाचनमा अन्य दलले १४ सीट जितेका थिए।
यस पटक प्रायः सबै सर्वेक्षणले भाजपा नेतृत्वको एनडीए गठबन्धनले ४०० सीट पार गर्ने प्रक्षेपण गरेका थिए। उनीहरूले इन्डिया गठबन्धन १०० सीटमै समेटिने अनुमान गरेका थिए। त्यस विपरीत इन्डिया गठबन्धनले कडा टक्कर दिइरहेको छ।
विशेष गरेर उत्तर प्रदेशमा सबैको अनुमान विपरीत इन्डिया गठबन्धन अगाडि छ। उत्तर प्रदेशका ८० सीटमध्ये इन्डिया गठबन्धन ४५ र एनडीए गठबन्धन ३४ सीटमा अगाडि छ। अन्य दल एक सीटमा मात्रै अगाडि छ।
दुवै गठबन्धनमा प्रमुख नेताहरू अगाडि छन्। प्रधानमन्त्री नरेन्द्र मोदी बनारस, गृहमन्त्री अमित शाह गान्धीनगर, कंग्रेस नेता राहुल गान्धी वायनाड र राइबरेली दुवै सीटमा अग्रता लिइरहेका छन्।