मधेशका प्रमुख दल विपक्षी बेन्चमा
मधेश प्रदेश सभाको बैठकमा सत्तापक्षको भन्दा विपक्षी बेन्चमा बढी सांसद बसेका छन्।
मधेश प्रदेश सभाको सोमबारदेखि शुरू भएको प्रदेश सभा बैठकमा सत्तापक्षमा तीन दल मात्रै देखिएका छन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको प्रदेश सभाको बैठकमा बढी सांसद देखिए।
विपक्षी बेन्चमा एमाले, नेपाली कांग्रेस, माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बसेका थिए। सत्तापक्षमा भने सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी (जसपा), नेपाल, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका सांसद मात्रै बसे। नेकपा (एकीकृत समाजवादी) र नेपाल संघीय समाजवादी पार्टीका सांसद अनुपस्थित रहे।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेश सरकार अल्पमतमा परेको बताए। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन खोजेकाले त्यसपछि नयाँ सरकार बनाउने उनको भनाइ थियो। “हामीसँग बहुमत छ, वर्तमान सरकारले विश्वासको मत पाउनेछैन,” साहले भने।
जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले पनि अब नयाँ सरकार बन्ने दाबी गरे। “यो सरकारले विश्वासको मत पाउन सक्दैन, त्यसपछि जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बन्छ,” उनले भने।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादीका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादीका एक-एक सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ।
यसैबीच मधेश प्रदेशको कृषि विश्वविद्यालयको भवन शिलान्यास र प्रदेश सभामा भएको तोडफोड घटनाको छानबिन हुने भएको छ। शिलान्यासको क्रममा प्रहरीले लाठी चार्ज गरेको भन्दै जनमत पार्टीले संसदीय छानबिन समिति गठनको माग गर्दै प्रदेश सभा अवरुद्ध पार्दै आएको थियो। गत वैशाख ४ मा मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा समेत जनमतले अवरोध गरेपछि प्रदेश सभामै तोडफोड भएको थियो।
दुवै घटनाको प्रदेश सभा मामिला समितिले छानबिन गर्ने भएको छ। यसमा प्रतिनिधित्व नहुने दललाई सदस्यको रुपमा राखिने सभामुख रामचन्द्र मण्डलले बताए।