जो अन्नपूर्णको चुलीमा पुगेनन्
साहसिक पर्यटनको ढोका खोलेको अन्नपूर्ण आरोहणको नेतृत्व गरेका फ्रान्सेली आरोही मौरिस हर्जोगलाई त संसारभर मानसम्मान मिल्यो, तर चुचुरोमा पुर्याउने शेर्पालाई नेपालमा समेत सम्झिन आवश्यक ठानिएन।
अमेरिकी लेखक डायना वारेनको एउटा गीत छ ‘आई वाज हियर’। ट्वीन टावरमा हमला भएको दिन ९/११ अर्थात् ११ सेप्टेम्बर २००१ को घटनाबाट प्रभावित भएर लेखिएको यो गीतमा जीवनकालमा केही प्रभाव छाड्ने हुटहुटी र मृत्युपछि अरूले सम्झिरहून् भन्ने भाव छ।
त्यस घटनापछि लेखिएको यस गीतमा अमेरिकी चर्चित गायिका बियोन्सेले आवाज भरिन्। यो गीत यति लोकप्रिय बन्यो कि वारेन र बियोन्से दुवैको करिअरकै महत्त्वपूर्ण सावित भयो।
‘आई वाज हियर’ ले भने जस्तै आफू बाँचुन्जेल केही न केही प्रभाव छाड्ने, केही गर्ने मानवीय स्वभाव नै हो। ३१ वर्षे लक्का जवान मौरिस हर्जोगमा पनि त्यस्तै हुटहुटी थियो। आफ्नो सीमाभन्दा बाहिर जान सक्ने आँट थियो। त्यही आँटले हर्जोगलाई नेपालसम्म डोर्यायो।
यो २००७ सालतिरको कुरा हो, नेपालमा राणाशासन विरुद्ध क्रान्तिको बिगुल फुकिंदै थियो। संसारका अन्य मुलुकमा विकास, उद्योगधन्दा, सिर्जनशीलताको दौड शुरू भइसकेको थियो। फ्रान्समा भने युवामाझ पर्वतारोहणको बेग्लै उत्साह र जोश थियो।
विश्वभर पर्वतारोहीले आठ हजार मिटरमाथिका हिमाल चढ्ने प्रयास गरिरहेका थिए। तर कोही सफल हुन सकेका थिएनन्। विश्वकै अग्लो हिमाल सगरमाथा चढ्ने प्रयास पनि सफल भएको थिएन।
हर्जोगले पनि आठ हजार मिटरमाथिको हिमाल चढिछाड्ने संकल्प लिए। त्यसका लागि उनले नेपालका दुई हिमाल धौलागिरि (८,१६७ मिटर) र अन्नपूर्ण (८,०९१ मिटर) मध्ये जुन सकिन्छ त्यही चढ्ने भन्ने निधो गरेर भारतको बाटो हुँदै नेपाल आइपुगेका थिए।
नेपालको नक्शा बोकेर आएको टोली पटक पटक माथि उक्लिंदै, चढ्न सक्ने बाटोको अध्ययन गर्दै फेरि झर्ने गर्थ्यो। हिमपहिरोको जोखिम, अल्टिच्यूड सिक्नेसको जोखिमबाट जोगिन पनि प्रयासरत थियो।
टोलीले बोकेर आएको नक्शा गलत सावित भयो। त्यसपछि हिमाल र हिमालको गोरेटोको सही नक्शा हर्जोग आफैंले कोरे। धौलागिरि चढ्ने प्रयास गर्दा असम्भव देखिएपछि अन्त्यमा अन्नपूर्ण चढ्ने निधो गरेका थिए।
तीन महीनाको अथक प्रयासपछि २००७ जेठ २१ गते (३ जून १९५०) मा अन्नपूर्ण हिमालको सफल आरोहण गरे। मौरिस हर्जोग र लुइस लाचनेल अन्नपूर्णको चुचुरोमा पुगे। उनीहरूलाई चुचुरोसम्मको यात्रा गराउने शेर्पा सहयोगी भने तलै रोकिए। “शेर्पाहरूले चुचुरोमा जान मानेनन्, अन्तिम क्याम्पसम्म हर्जोगसँगै पुगेका थिए,” नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भन्छन्।
अरूलाई हिमाल चढाए पनि आफू नचढ्नुको कारण थियो, हिमाललाई देवता मान्ने परम्परा। “त्यति वेला शेर्पाहरूले हिमाललाई देवता मान्थे। हिमालको शिरमा टेक्नु भनेको देवताको शिरमा टेक्नु जस्तो ठान्थे,” पाँच दशकदेखि आरोहणमा सक्रिय शेर्पा भन्छन्, “त्यसैले शेर्पाहरू हिमालको चुचुरोमा पुग्दैनथे, अन्नपूर्णमा पनि गएनन्।”
हर्जोगले पनि अन्नपूर्ण पुस्तकमा यो विषय उल्लेख गरेका छन्। आरोहणबाट फर्केपछि उनले फ्रान्सेली भाषामा लेखेको उक्त किताब ६० भाषामा अनुवाद भएको छ। हालसम्म पाँच करोडभन्दा बढी प्रति बिक्री भइसकेको तथ्यांक छ।
यस पुस्तकले विश्व पर्वतारोहणको इतिहासमा तरंग नै ल्याइदियो। जसले गर्दा अन्नपूर्ण आरोहणपछि हर्जोगको चर्चा भयो। उनीसँगै चुचुरोमा पुगेका लुइस लाचनेलको नाम भने कमैले लिन्छन्।
झन् त्यति वेला आरोहणको प्रयास गरेका अन्य सात जना, उनीहरूसँगै रहेका नेपाली शेर्पा र फ्रान्सेली टोलीलाई त्यहाँसम्म पुर्याउन सहयोग गर्नेहरूको नाम ओझेल परेको छ। “अन्नपूर्ण आरोहण गर्ने शेर्पा र गैरशेर्पालाई सबैले बिर्सिए,” नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङ भन्छन्।
त्यति वेला मात्रै होइन, अहिले पनि अन्नपूर्ण आरोहणको विषय आउँदा हर्जोगको नाम मात्रै लिने गरिन्छ।
जो हर्जोगसँगै आएका थिए
फ्रान्सबाट आरोहणका लागि निस्किएका सात जनामा कोही पर्वतारोही नै थिए भने कोही डाक्टर त कोही फोटोग्राफर थिए। हर्जोगसँग आरोहण गर्ने २९ वर्षका लुइस लाचनेल पर्वतारोही र स्कीइङका प्रशिक्षक नै थिए। उनी स्कीइङका लागि प्रसिद्ध फ्रान्सको स्यामोनी भ्यालीका गाइड पनि थिए। अन्नपूर्ण आरोहणको पाँच वर्षपछि स्कीइङ गर्दा दुर्घटनामा परेर लाचनेलको अवसान भयो।
यस्तै, अर्का पर्वतारोही तथा एरोनटिकल इन्जिनीयर थिए, जिन कुजी। जो आरोहण दलका कान्छा सदस्य थिए। त्यति वेला उनी २७ वर्षका थिए।
अर्का सदस्य थिए, लियोनल टरे। पर्वतारोही टरे लाचनेल जस्तै स्यामोनी भ्यालीका गाइड थिए। अन्नपूर्ण आरोहणको पाँच वर्षपछि १५ मे १९५५ मा टरे र कुजीले मकालु हिमाल आरोहण गरेका थिए। यस हिमालको चुचुरोमा सर्वप्रथम मानव पाइला राख्ने कीर्तिमान उनीहरूले नै बनाएका थिए।
अन्नपूर्ण दलमा सहभागी गेस्टन रेबफेट फ्रान्सेली पर्वतारोही र गाइड थिए। आरोहणमा फोटोग्राफर मार्शल आइज्याक पनि थिए। फ्रान्समा हुने स्की च्याम्पियनशिपमा फिल्मदेखि पर्वतारोहणको फोटो उनै खिच्ने गर्थे। अन्नपूर्ण आरोहणपश्चात् उनले निर्माण गरेको अन्नपूर्ण फिल्म नै प्रसारण गरिएको थियो।
फ्रान्सका सर्जन ज्याक्यूश ओडट पनि अन्नपूर्ण आरोहण दलमा थिए। आरोहणमा रहेका कुजीका साथी मार्शल साट्स पनि यसमा सामेल भए। उनी फिजिसिस्ट थिए, साथै पर्वतारोहण पनि गर्थे। फ्रेन्च डिप्लोम्याट फ्रान्सिस दी नोयलाले अन्नपूर्ण आरोहणका लागि नेपाल र भारतमा व्यवस्थापन गर्न सघाएका थिए।
शेर्पाहरू जो चुचुरोमा चढेनन्
अन्नपूर्णको आरोहणपछि हिउँले हर्जोग र लाचनेलका हात र खुट्टाका औंला खाइदिएको थियो। उनीहरूलाई हिमालबाट तल झार्ने शेर्पा नै थिए। पहिले माथि चढ्न सघाएका शेर्पाले पछि बोकेर तल ल्याए।
अन्नपूर्ण पर्वतारोहणको अन्तिम पाँचौं शिविर (२४,६०० फिट) सम्म पुगेका शेर्पाहरूले अन्नपूर्ण आरोहणमा सघाए। सगरमाथा, कञ्चनजंघा हिमालमा पहिले नै आरोहण प्रयास गरेका पर्वतारोही आङ थार्के शेर्पाको नाम त्यति वेलै चर्चित थियो। हर्जोगले उनलाई आफ्नो समूहमा ल्याएका थिए।
आङ थार्के तिनै आरोही हुन्, जसलाई शेर्पा समुदायले आरोहणका पिताका रूपमा सम्मान गर्छ। त्यस आरोहणले आङ थार्के र हर्जोगको सम्बन्ध प्रगाढ बनाएको थियो। हर्जोगले अन्नपूर्ण पुस्तकमा पनि उनीबारे उल्लेख गरेका छन्।
आङ थार्केसँगै फू थार्के शेर्पा, दावा धिन्डुप, आङ छिरिङ, सार्की, आङ दावा, अइला शेर्पाको नाम पुस्तकमा उल्लेख गरेका छन्। उनीहरूले आफ्नो ज्यानको परवाह नगरी हर्जोग र लाचनेललाई अन्नपूर्ण आरोहण गराएका थिए।
यस्तै, अन्नपूर्ण आरोहणमा सघाउने अर्का व्यक्ति थिए, जीबी राणा। उनी सेनाका क्याप्टेन थिए। राजाले नै उनलाई आरोहण व्यवस्थापनमा खटाएका थिए। त्यो आरोहणमा सहभागी फू थार्के शेर्पा मात्रै जीवित रहेको पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पा बताउँछन्।
दुई सय भरिया र ६ रुपैयाँ भाडा
अन्नपूर्ण आरोहणका लागि आवश्यक सामान फ्रान्सबाटै ल्याइएको थियो। भारतबाट नेपालको सीमासम्म गाडीमा ल्याइएको थियो। त्यसपछि बुटवल, पाल्पा हुँदै मुस्ताङ टुकुचेसम्म पैदलयात्रा तय गर्नुपर्ने थियो। यसका लागि २०० भरिया लगाइएको थियो।
आरोहण टोलीले भरियालाई ६ रुपैयाँ दिएको थियो। त्यससँगै एक प्याकेट रेड स्टार चुरोट दिने गरेको हर्जोगले पुस्तकमा लेखेका छन्। ऐतिहासिक आरोहणमा सहभागी यी भरिया को थिए भन्ने कतै उल्लेख छैन।
भरिया मात्रै होइन, अन्नपूर्णको चुचुरोसम्म पुर्याउने शेर्पाबारे पनि लेखाजोखा गरिएको छैन। उनीहरूको योगदानको कदर नगरिएको पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पा बताउँछन्। “शेर्पाहरूको योगदानको कदर त्यति वेला पनि धेरै भएको थिएन र आजको दिन पनि शेर्पाको योगदानलाई राज्यले गन्दैन,” उनी भन्छन्।
यो पनि पढ्नुहोस् : धम्पुसमा फुरुङ्ङ राजदूत, सेलरोटी र गुन्द्रुक चाख्दा मक्ख