कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा
काठमाडौं चक्रपथभित्रका विद्यालयमा पढ्ने करीब दुई लाख बालबालिका दीर्घरोगी पार्ने जोखिम भएको बिखालु हावामा सास फेरिरहेका छन्। तर मानवसिर्जित धूवाँ-धूलोको प्रकोप रोक्न सरकारको ध्यानै छैन।
डम्म हुस्सु लागेको गत माघको एक बिहान। ठिहिर्याउने चिसोमा रानीपोखरीस्थित दरबार हाइस्कूल (भानु मावि)को प्रांगणमा प्रार्थनाका लागि विद्यार्थी जम्मा भएका थिए। विद्यालयसँगै जोडिएको सडकमा अनवरत गुडिरहेका गाडीको कर्कश ध्वनिले पनि बालबालिकाको कल्याङमल्याङ छोप्न सकेको थिएन। पंक्तिबद्ध विद्यार्थीमध्ये केहीका अनुहार मास्कले छोपिएको थियो, तर तिनको ख्वाक्कखुक्कको आवाज परैबाट सुन्न सकिन्थ्यो। अधिकांश विद्यार्थीले मास्क लगाएका थिएनन्। तिनीहरूलाई थाहा थिएन, सास फेरिरहेको हावामा अदृश्य बिखालु धूवाँ-धूलो मिसिएको थियो।
दरबार हाइस्कूलको आँगनमा हामीले वायुको गुणस्तर मापन यन्त्रबाट हावाको गुणस्तर नाप्न थालेपछि विद्यार्थीको जिज्ञासु नजर हामीतिर सोझियो। केही विद्यार्थीले वरिपरि झुरुप्प घेरे र यन्त्रबारे सोधखोज गर्न थाले। हावाको गुणस्तर नाप्ने यन्त्रबारे हामीले उनीहरूलाई बताइरहँदा यसले डरलाग्दो तथ्यांक उजागर गरिरहेको थियो। उक्त यन्त्रले त्यति वेला वायुमण्डलमा पार्टिकुलेट म्याटर (पीएम) २.५ को परिमाण प्रतिघनमिटर २११ माइक्रोग्राम भएको देखायो। कलिला बालबालिकाको फोक्सोमा आँखाले नदेखिने घातक धूवाँ-धूलोका कण भरिइरहेको संकेत थियो, यो। २.५ माइक्रोमिटरभन्दा कम व्यास भएका धूवाँ-धूलोका मसिना कणलाई पीएम २.५ भनिन्छ। ती कण हाम्रो कपालभन्दा २५ गुणा मसिना हुन्छन्।
नेपालले २४ घण्टामा सरदर पीएम २.५ को मात्रा प्रतिघनमिटर ४० माइक्रोग्रामसम्म रहने हावालाई स्वस्थ भनी मापदण्ड तोकेको छ। यसभन्दा माथि धूवाँ र धूलोको घुलन जति बढ्छ, हावा उति नै प्रदूषित हुँदै जान्छ। विद्यालयमा त्यति वेला हावामा घुलेको धूवाँको परिमाण नेपाल सरकारको मापदण्डले सुरक्षित मानेको तुलनामा पाँच गुणाभन्दा पनि बढी थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुरक्षित भनेको भन्दा त यो १४ गुणा धेरै थियो। डब्लूएचओले २४ घण्टामा हावामा सरदर पीएम २.५ को मात्रा प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुनु असुरक्षित मानेको छ।
प्रदूषित हावा कक्षाकोठाभित्र पनि व्याप्त थियो। त्यही बिखालु हावामा सास फेर्दै बालबालिका दिनभरि आफ्नो भविष्य कोर्ने पढाइलेखाइमा व्यस्त थिए।
मध्याह्न हुँदै गएपछि सडकमा गाडीको ताँती अलि कम हुन थाल्यो। हाम्रो वायु प्रदूषण मापन यन्त्रले पनि हावामा घोलिएको धूवाँ र धूलोको मात्रा क्रमशः घटिरहेको देखायो। तैपनि विद्यालय समयको ६ घण्टामा पीएम २.५ को मात्रा औसतमा १२६ रहेको हाम्रो रेकर्डमा देखियो।
भानु माविबाट पूर्वतर्फ केही पाइला लम्काउने बित्तिकै रत्नपार्कको व्यस्त सडक छेवैमा हावाको गुणस्तर मापन गर्ने यन्त्र जडान गरिएको भेटिन्छ। यस यन्त्रले हरेक मिनेटमा वायुको गुणस्तरको रेकर्ड राख्छ। हामीले भानु माविमा हावाको जाँच गरेकै दिन माघ १७ गते उक्त यन्त्रले त्यस क्षेत्रमा २४ घण्टाभरिमा पीएम २.५ को मात्रा प्रतिघनमिटर सरदरमा १७९ माइक्रोग्राम पुगेको रेकर्ड गरेको थियो। शहरको केन्द्रमा प्रदूषणको व्यापक पकड रहेको प्रमाण थियो, यो।
परम्परा र आधुनिकताको सम्मिलन भएको काठमाडौं शहरको १२३ वर्ष पुरानो दरबार हाइस्कूलको प्रांगणमा वायुको गुणस्तरको खराब स्थितिले वातावरण र विकासबीचको गहिरो असन्तुलन देखाउँछ। देवशमशेर जबराले स्थापना गरेको र प्राचीन रानीपोखरीको किनारमा उभिएको यो विद्यालयबाट बितेको एक शताब्दीभन्दा बढी अवधिमा हजारौं विद्यार्थी दीक्षित भइसकेका छन्, तर अहिलेको पुस्ताले जस्तो खराब हावामा सास फेर्न यसअघिका पुस्ता विवश थिएनन्। बालबालिकाको फोक्सोमा अहिले जति बिखालु धूवाँ यसअघि कहिल्यै पुगेको थिएन। किनभने हावालाई दूषित पार्ने सवारीसाधन, कलकारखाना र मानवीय क्रियाकलाप अहिले जस्तो विगतमा कहिल्यै थिएन।
दरबार हाइस्कूलमा बहने हावा कति प्रदूषित छ भन्ने छनक शहरको भीडभाडबाट पर, चक्रपथबाट ६ किलोमिटर उत्तर-पश्चिममा रहेको श्री कालीदेवी मावि प्रांगणको हावाको तुलनाबाट मिल्छ।
माघ २५ को बिहान शिवपुरी जंगलको फेदमा रहेको तारकेश्वर नगरपालिकास्थित श्री कालीदेवी माविमा प्रार्थनाको वेलाको दृश्य दरबार हाइस्कूलको भन्दा फरक थियो। कुनै पनि विद्यार्थीको अनुहार मास्कभित्र छोपिएको हामीले देखेनौं। त्यति वेला चौरमा हावाको गुणस्तर मापन गर्दा पीएम २.५ को मात्रा ८९ मात्रै देखिएको थियो। त्यसको १५ मिनेटपछि कक्षाकोठाभित्रको हावामा पीएम २.५ को मात्रा ९० देखियो। तर त्यो लामो समय टिकेन। हावाले धूवाँ र धूलोको कण पश्चिमबाट पूर्वतिर बगाउन थालेपछि ११ बज्दा नबज्दै उक्त क्षेत्रमा पीएम २.५ को परिमाण ३५ मा ओर्लियो। यो अवस्था त्यो दिन त्यसपछिको समयमा पनि कायम रह्यो।
उक्त स्कूलमा विद्यालय समयको सरदर ६ घण्टामा औसत पीएम २.५ को परिमाण ४० मात्रै रहेको हामीले मापन गर्यौं। नेपालको वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ ले तय गरेको २४ घण्टामा हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४० माइक्रोग्राम हुनुपर्ने सीमाभित्रै रहेकाले तुलनात्मक रूपमा सास फेर्न लायक हावा भनेर बुझ्न सकिन्थ्यो। कालीदेवी माविकी विद्यालय नर्स भुवना घिमिरेले भनिन्, “हाम्रो विद्यालय वरिपरि बग्ने हावामा धूवाँ-धूलो छैन। चक्रपथभित्रको जस्तो यहाँको हावामा गन्ध पनि छैन। तपाईंले यहाँ देख्नुभयो होला, कसैले पनि मास्क लगाएका छैनन्।”
वर्षैभरि प्रदूषण
गएको चैतको अन्तिम सातादेखि झन्डै एक महीना काठमाडौंको वायुमा भयावह प्रदूषण मिसियो। हावाको गुणस्तर अनुगमन गर्ने स्वीजरल्यान्डको प्लेटफर्म आईक्यू एअरले चैत २८ गतेको बिहान वायु गुणस्तरको हिसाबले काठमाडौं संसारभरमै सबैभन्दा प्रदूषित रहेको देखायो। यो एक दिनको मात्रै कुरा थिएन। वैशाखका अधिकांश दिन काठमाडौंको हावा निस्सासिंदो थियो। आईक्यू एअरका अनुसार वैशाख ८ को साँझ, वैशाख १४ को बिहान, १५ र १९ गतेको दिउँसो संसारमै सर्वाधिक धेरै वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौं पहिलो स्थानमा पुगेको थियो। वैशाखको अन्तिम साता पानी परेर वायुमण्डल नपखालिंदासम्म काठमाडौंको हावामा धूलो र धूवाँको मात्रा अत्यन्त बढी थियो।
वायु प्रदूषण अति चर्को भएका दिनमा पनि दरबार हाइस्कूल लगायत विद्यालय चलिरहेकै थिए। सास फेर्नै कठिन हुने वातावरणमा पनि विद्यार्थी विद्यालय जान बाध्य नै थिए। वायु प्रदूषण अचाक्ली बढेकै कारण २०७७ चैतमा सरकारले देशभरिका विद्यालय चार दिन बन्द गरेको थियो। त्यसयता त्यस्तो अभ्यास अहिलेसम्म दोहोरिएको छैन। जबकि पछिल्ला वर्षमा संसारमै उच्च वायु प्रदूषण भएका मुलुकमध्ये नेपाल अग्रस्थानमै आउँछ। आईक्यू एअरको विश्व वायु गुणस्तर प्रतिवेदन, २०२३ ले संसारका १३४ मुलुकमध्ये सर्वाधिक हानिकारक वायु भएको मुलुकको आठौं स्थानमा नेपाल रहेको उजागर गरेको थियो। अझ, संसारभरिका ११४ राजधानीमध्ये विषाक्त हावा फैलिएको शहरका रूपमा काठमाडौं ११औं स्थानमा दरिएको थियो।
हावामा पीएम २.५ को मात्राको आधारमा यस्तो निष्कर्ष निकालिएको थियो। सन् २०२३ मा नेपालको हावामा पीएम २.५ सरदर ४२.४ माइक्रोग्राम प्रतिघनमिटर थियो। डब्लूएचओले हावामा पीएम २.५ को मात्रा वार्षिक प्रतिघनमिटर औसत ५ माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ। यस अनुसार नेपालको हावा डब्लूएचओले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको थियो। दरबार हाइस्कूल छेवैको रत्नपार्कस्थित वायु मापन केन्द्रको तथ्यांक अनुसार त सन् २०२३ मा (सबै दिनका तथ्यांक उपलब्ध छैनन्) सरदरमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ९६.२ माइक्रोग्राम थियो। जुन नेपालको सरदरको तुलनामा दोब्बरभन्दा पनि बढी हो।
यस्तो प्रदूषित वायुमा भएका धूलोका मसिना कण फोक्सो हुँदै रगतमा मिसिएर शरीरभरि फैलिन्छन्। त्यसैले यसलाई घातक मानिएको संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्। उनी भन्छन्, “धूलोका कणले रगतमा मिसिएर अन्य अंगहरूमा असर पुर्याउँछ। यो धेरै घातक छ भन्ने त थाहा छ, तर कुन हदसम्म भनेर धेरै कुरा खुल्नै बाँकी छ।”
विषाक्त हावा समग्रमा सबै मानिसका लागि घातक नै हुन्छ। त्यसमा पनि यसले बालबालिका र ज्येष्ठ नागरिक जस्ता संवेदनशील समूहलाई बढी क्षति पुर्याउँछ। कान्ति बाल अस्पतालका पूर्व निर्देशक तथा बालरोग विशेषज्ञ डा. गणेश राई भन्छन्, “हुर्किंदै गरेका बालबालिका अस्वस्थ हावामा लामो समय बस्दा उनीहरूको शरीरमा गम्भीर असर पर्न सक्छ। त्यो असर रुघाखोकी, टाउको दुख्ने वा सास फेर्न गाह्रो हुनेमा मात्रै सीमित हुँदैन, फोक्सो र मुटुको दीर्घरोग र क्यान्सरको कारणसम्म बन्न सक्छ।”
हामीले वायु प्रदूषणको अवस्था मापन गरेका विद्यालयहरूको हावा डा. राईले औंल्याएको गम्भीर असर पार्ने घातक स्तरको थियो। दरबार हाइस्कूलमा विद्यालय समयमा हावामा औसत पीएम २.५ को मात्रा १२६ थियो। हामीले तुलनाका लागि काठमाडौंको चक्रपथमार्गको बालाजु माछापोखरीभन्दा ५०० मिटर बाहिरको तरुण माविमा पनि हावाको गुणस्तर मापन गरेका थियौं। माघ तेस्रो साताको एक दिन तरुण विद्यालयको हावामा पीएम २.५ को मात्रा दरबार हाइस्कूलमा जति नभए पनि सास फेर्न लायक भने नभएको फेला पार्यौं। विद्यार्थी विद्यालय प्रवेश गर्ने वेला बिहान ९ः४५ बजे विद्यालयको चौरमा पीएम २.५ को मात्रा १५५ सम्म पुगेको थियो। यस विद्यालयमा दिउँसोका ६ घण्टामा सरदरमा पीएम २.५ को मात्रा १०१ देखियो।
त्यस्तो विषाक्त हावाले कति हानि गर्छ भन्ने उदाहरण सोही विद्यालयकी कक्षा ५ की छात्रा प्रमिसा बर्देवा हुन्। १२ वर्षीया प्रमिसालाई वेलावेला खोकी लाग्थ्यो, घ्यारघ्यार हुन्थ्यो। फार्मेसीबाट औषधि किनेर खाएका वेला तैबिसेक निको भए जस्तो भए पनि वायुको स्तर खस्किनासाथ रोगले फेरि च्यापिहाल्थ्यो। उनकी आमा मञ्जु भन्छिन्, “बिरामी परेको पर्यै गरेर छोरीको पढाइ बिग्रिइसक्यो, गएको फागुनमा त जम्मा तीन दिन मात्रै स्कूल गई।” चिकित्सकले वायु प्रदूषणकै कारण प्रमिसालाई श्वासप्रश्वासको रोग लागेकाले दूषित हावाबाट बच्न सुझाव दिने गरेका छन्। तर एक किलोमिटर परको गणेशस्थानबाट हिंडेर विद्यालय आउजाउ गर्ने प्रमिसाले दूषित हावामै सास फेर्नुपर्छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर ललितपुरमा पूर्व प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म गरी साढे ६ लाख बालबालिका अध्ययनरत छन्। यी तीन जिल्ला देशमै सर्वाधिक सवारीसाधन गुड्ने, घना बस्ती भएका र सर्वाधिक वायु प्रदूषणको चपेटामा रहेका क्षेत्र हुन्। विद्यालय जाने साढे ६ लाख विद्यार्थीमध्ये कक्षा पाँचदेखि तल पढ्नेको संख्या मात्रै तीन लाख ६२ हजार छ। सामान्यतया १० वर्षभन्दा तलको उमेरसमूहका यी बालबालिकाको फोक्सो कलिलैमा धूवाँ-धूलोको चपेटामा पर्छ।
वर्षा याम शुरू हुनुअघि काठमाडौं सहित देशैभरि वायु प्रदूषण उच्च हुने गरे पनि सबै ठाउँमा एकनास हुँदैन। काठमाडौंको चक्रपथभित्रको क्षेत्र घना बस्ती, साँघुरा सडक र सवारीसाधनको भीडभाड भएको ठाउँका रूपमा चिनिन्छ। त्यसैले बढी प्रदूषण पनि चक्रपथभित्रै हुन्छ। काठमाडौंको भित्री भागमा रहेको दरबार हाइस्कूल, चक्रपथबाट आधा किलोमिटर परको तरुण मावि र चक्रपथबाट ६ किमी टाढाको कालीदेवी माविमा हावाको गुणस्तरको अन्तरले यही तथ्य देखाउँछ।
चक्रपथभित्र जग्गाको महँगो मूल्यका कारण उपलब्ध जग्गामा धेरै घर बनाइएकाले खुला स्थान मुश्किलले देख्न पाइन्छ। रूखबिरुवा त छँदै छैनन् भने पनि हुन्छ। धेरैजसो सार्वजनिक र संस्थागत विद्यालय मूल सडकका छेउमै खडा गरिएका हुन्छन्। त्यसै कारण सवारीसाधनबाट निस्किने धूवाँ सोझै विद्यालय हाताको हावामा घोलिन पुग्छ। हावामा हुने घातक धूलोका कण घटाउने विकल्प विद्यालयहरूसँग पनि छैन। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक केलाउँदा चक्रपथभित्रका विद्यालय पढ्ने करीब दुई लाख बालबालिका चर्को प्रदूषणबीच पढ्नुपर्ने बाध्यतामा रहेको हामीले फेला पारेका छौं।
आफ्ना सन्तान जतिसुकै विषाक्त हावामा सास फेर्न बाध्य भए पनि अधिकांश अभिभावक लाचार छन्। किनभने उनीहरूलाई जीवनका अन्य आवश्यकता र विवशताले थिचेको छ। तरुण विद्यालयकी छात्रा प्रमिसाकी आमा मञ्जु भन्छिन्, “हावा फोहोर भएकाले रोग लागेको भन्छन्, तर हामीले के नै गर्न सक्छौं र? घर चलाउन, बालबच्चा पढाउन काठमाडौं नबसी पनि भएन।”
दैनिक पेटपालोका लागि संघर्ष गर्नुपर्ने परिवारका लागि वायु प्रदूषणभन्दा जीवनयापनका लागि कमाउनु ज्यादा महत्त्वपूर्ण मुद्दा हुन्। मञ्जुको परिवार गोंगबुस्थित गणेशस्थानमा बस्छ। सडक स्तरोन्नतिको क्रममा रहेको गोंगबु-सामाखुसी क्षेत्रमा सवारीसाधनले धूलो उडाउँदा धेरैजसो समय कुहिरीमण्डल नै हुन्छ। त्यसैले यस क्षेत्रको हावा अन्यत्रका तुलनामा झन् प्रदूषित छ।
नेपालमा यस वर्ष बर्खा शुरू नहुन्जेलका धेरैजसो दिन सास फेर्न लायक हावा नभएको तथ्यांकहरूले पुष्टि गर्छन्। काठमाडौंको महाराजगन्जस्थित अमेरिकी दूतावास र रत्नपार्कको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार सन् २०२४ लागेपछिका सबै दिन यी क्षेत्रको हावा डब्लूएचओले तोकेको सास फेर्न लायक मापदण्डभित्र छैन। सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म यी दुई स्थानमा पीएम २.५ को मात्रा दैनिक औसत क्रमशः प्रतिघनमिटर १५५ माइक्रोग्राम र १५१ माइक्रोग्राम छ। वायु प्रदूषण नाप्ने उपत्यकाको चक्रपथभित्रका अन्य स्टेशनहरूले पनि यस्तै अवस्था देखाएका छन्। यसले बितेका चार महीनामा काठमाडौंमा डब्लूएचओको मापदण्डका तुलनामा हावा सरदरमा १० गुणाभन्दा धेरै प्रदूषित रहेको देखाउँछ।
सन् २०२३ मा पनि त्यस्तै थियो। त्यो वर्षको तथ्यांक उपलब्ध भएका २६९ दिनमध्ये रत्नपार्कस्थित वायु गुणस्तर मापन स्टेशनका अनुसार २१ दिन मात्रै हावा स्वच्छ थियो। अर्थात् ९२ प्रतिशत दिनमा हावा सास फेर्न लायक थिएन। महाराजगन्जमा रहेको अमेरिकी दूतावासको स्टेशनका अनुसार पनि त्यस क्षेत्रमा ६० प्रतिशत दिनमा अस्वस्थकर हावा थियो।
बालबालिकाको महाशत्रु
वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठ अस्ट्रेलियाबाट सपरिवार नेपाल फर्किएको चार वर्ष भयो। अहिले सात वर्ष पुगेका उनका छोरालाई नेपाल फर्किएपछि दम देखा पर्यो। “शंका त अस्ट्रेलियामा छँदा नै गरेका थियौं, तर नेपाल फर्किएपछि चर्को प्रदूषणले उसको श्वासप्रश्वासको समस्या गहिरियो, त्यसयता औषधि (इन्हेलर) नियमित लिनुपरिरहेको छ,” श्रेष्ठ भन्छन्। उनी वायु प्रदूषण चर्को भएका वेला छोरालाई विशेष ध्यान दिनुपर्ने बताउँछन्। “कहिलेकाहीं उसको स्कूलबाट दिउँसो फोन आउँदा म डरले खंग्रङ्ङ हुन्छु। कतै उसलाई केही त भएन भन्ने लागिहाल्छ,” श्रेष्ठले भने।
बोलीचालीमा दम वा धम्की भनिने श्वासप्रश्वास सम्बन्धी समस्या कलिलै उमेरका बालबालिकाको मुख्य रोगमध्ये एक बन्न थालेको चिकित्सकहरूको अनुभव छ। बालरोग विशेषज्ञ डा. गणेश राई भन्छन्, “हरेक अस्पताल र क्लिनिकमा जँचाउन पुग्नेमध्ये एकचौथाइ बालबालिका दमकै बिरामी छन्। सबैभन्दा महत्वपूर्ण कुरा, मैले देख्दादेख्दै पछिल्ला वर्षमा उपचारमा आउनेको संख्या धेरै बढेको छ। सास फेर्ने हावा खराब भएर यसो भएको हो भन्न अप्ठ्यारो छैन।”
हिमालखबरले कुराकानी गरेका बालरोगका अन्य चिकित्सकहरूका अनुसार अहिले अस्पताल पुग्ने बालबालिकामध्ये श्वासप्रश्वास सम्बन्धी समस्या हुनेको संख्या धेरै छ। कान्ति बाल अस्पतालको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ। उक्त अस्पतालको मेडिकल वार्डमा आर्थिक वर्ष २०७९/८० मा भर्ना भएर उपचार गरिएका बिरामीमध्ये ३८ प्रतिशत श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित भएको अस्पतालको वार्षिक प्रतिवेदनमा उल्लेख छ। अर्थात् तीनमध्ये कम्तीमा एक बालबालिका श्वासप्रश्वासका बिरामी हुन्।
कान्ति अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष निमोनिया, ब्रोंकाइटिस र दम जस्ता श्वासप्रश्वास सम्बन्धी रोगका चार हजार ३९२ बालबालिकालाई उपचार तथा परामर्श दिइएको थियो। कोभिड-१९ महामारीका दुई वर्ष श्वासप्रश्वास सम्बन्धी रोग जँचाउन र उपचार गर्न आउने बालबालिका ह्वात्तै घटेका थिए। उपचार र परामर्शका लागि आव २०७७/७८ मा ९१० जना र २०७८/७९ मा एक हजार ७३३ जना बालबालिका मात्र आएका थिए। अस्पतालको तथ्यांक अनुसार पछिल्ला नौ वर्षमा श्वासप्रश्वास सम्बन्धी उपचार तथा परामर्शका लागि आएका बालबालिकाको संख्या गत आर्थिक वर्षमा सबैभन्दा धेरै थियो।
यसले श्वासप्रश्वासको समस्याबाट धेरै बालबालिका प्रभावित भइरहेको देखाउँछ। महिला र बालबालिकामा वायु प्रदूषणको असर विषयमा सेभ द चिल्ड्रेनले सन् २०२४ मा प्रकाशन गरेको अध्ययनले बालबालिकामा दम, निमोनिया लगायत श्वासप्रश्वास सम्बन्धी रोगको मुख्य कारणमध्ये एक घर बाहिरको वायु प्रदूषणलाई मानेको छ। यसले बालबालिकाको वृद्धि र विकासमै असर पारिरहेको उक्त अध्ययनमा उल्लेख छ।
ओखलढुंगाबाट आएर साँखुमा बस्ने टेकबहादुर बोगटी आफ्नो ११ वर्षीय छोरो ख्याउटे र श्वासप्रश्वासको रोगी भएकोमा चिन्तित छन्। छोरो किशोरलाई आफू जस्तै ज्यामी काम गर्ने बनाउनु छैन उनलाई। कक्षा ५ मा पढ्ने किशोरले राम्ररी लेखपढ गरी दाम र नाम कमाउला भन्ने आशा छ। तर सानै छँदादेखि श्वासप्रश्वासको समस्या भएका किशोरलाई धूलो र धूवाँ बढेका वेला झन् च्याप्छ। पछिल्ला महीनाहरूमा धेरै सताउन थालेपछि उनले छोरालाई कान्ति बाल अस्पताल पुर्याएर उपचार थालेका छन्।
टेकबहादुर भन्छन्, “डाक्टरले हावा फोहोर भएर छोरालाई रोगले सताएको भन्नुभयो, सकभर फोहोर हावाबाट बचाउन भन्नुभएको छ। तर काठमाडौंमा सबैतिर हावा फोहोर छ, कहाँ लगेर बचाउनू?” छोरो बिरामी परेयता खर्चले नधानेको गुनासो गर्दै उनी भन्छन्, “ज्यामी कामबाट आएको कमाइले घरपरिवार चलाउनुपर्छ। छोराको उपचारमा दौडिंदा काम गर्न जान पनि मिलेन। भात खानै धौधौ परेका वेला उपचारमा लागेको खर्चले थला पारेको छ।”
वायु प्रदूषण बढेका वेला स्कूले बालबालिकामा अनेकौं समस्या निम्तिन्छ। रानीपोखरीस्थित भानु माविकी नर्स भावना ओझा जोशी हिउँदका वेला विद्यालयभित्र रहेको उनको क्लिनिकमा टाउको दुख्ने, रुघाखोकी, आँखा पोल्ने वा श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउने विद्यार्थी दैनिक रूपमा बढ्ने बताउँछिन्। “हावामा प्रदूषण बढ्ने वेला यस्ता रोगीको संख्या बढ्छ, दिनमा दुई/तीन जना विद्यार्थी त यस्ता समस्या लिएर आएकै हुन्छन्,” उनी भन्छिन्।
बालरोग सम्बन्धी चिकित्सकहरूका अनुसार बालबालिकामा हुने दम अहिले व्यापक मात्रामा फैलिएको छ। तर यसको एकमुष्ट तथ्यांक उपलब्ध छैन। बालबालिकाको श्वासप्रश्वास सम्बन्धमा विशेषज्ञता हासिल गरेका कान्ति बाल अस्पतालका चिकित्सक जगत्जीवन घिमिरे वायु प्रदूषण बढ्नासाथ अस्पतालमा रुघा, खोकी, दम, श्वासप्रश्वासका बिरामी बालबालिकाको संख्या थपिने बताउँछन्। जस्तो- गत पुसयता कान्तिको जनरल वार्डमा आएकामध्ये एकतिहाइ श्वासप्रश्वासका बिरामी छन्। “१२ आईसीयू बेडमध्ये आठ वटा त श्वासप्रश्वासका बिरामीले ओगट्छन्,” डा. घिमिरे भन्छन्।
बालरोग विशेषज्ञ डा. राईका अनुसार धूवाँ-धूलोका कारण रुघाखोकी बिग्रेका, दम, निमोनिया भएका, खोकी लगायत श्वासप्रश्वासका रोगी मात्र होइन, छालामा एलर्जी र आँखा रातो हुने समस्या भएका बिरामीको संख्या पनि पछिल्ला वर्षहरूमा लगातार बढिरहेको छ। यसको तथ्यांक अस्पतालहरूसँग हामीले मागे पनि उनीहरूले व्यवस्थित तथ्यांक नराखेको जवाफ दिए। बालबालिकामा श्वासप्रश्वासको समस्या कति व्यापक बनेको छ भन्नेबारे डा. राई भन्छन्, “१५/२० वर्षअघि झाडापखाला, टाइफाइड, जन्डिस, कुपोषणका रोगी धेरै हुन्थे, अहिले त्यसको ठाउँ श्वासप्रश्वासका रोगी बालबालिकाले लिएका छन्।”
नुवाकोट घर भई काठमाडौंको मनमैजुमा बस्ने विनोद सापकोटाका छोरा आरोग्यलाई बालखैमा दमले आक्रमण गरेको छ। भर्खर विद्यालय जान थालेका तीन वर्षीय आरोग्यलाई दैनिक चार पटक इन्हेलर लगाउनुपर्छ। चिसो बढ्दा र धूवाँ-धूलो बढेका वेला उनलाई गाह्रो हुन्छ। चिकित्सकले यस्तो वेला उनलाई घर बाहिर नलैजान भनेका छन्। सापकोटा भन्छन्, “सानो भएकाले मास्क लगाउन पनि मान्दैन। प्रदूषणबाट जोगाउनै कठिन छ।”
धूवाँ-धूलोबाट जोगाउन बालबालिकालाई मास्क लगाउनु फाइदाजनक छ वा छैन भन्नेमा पनि प्रश्न छ। बालरोग विशेषज्ञ डा. राई भन्छन्, “पाँच वर्षमुनिका बालबालिकालाई मास्क लगाउनु फाइदाजनक नहुन सक्छ, किनभने उनीहरूले मास्क लगाउँदा सास फेर्न गाह्रो भएको भन्न सक्दैनन्।”
धूवाँ-धूलोका नदेखिने कण भएका विषाक्त हावाको देखिने प्रभाव डरलाग्दो छ। वायु प्रदूषणले निम्त्याउने रोग नेपालीका लागि मृत्युको मुख्य कारणमध्ये एक बन्न थालिसकेको सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘बर्डन अफ डिजिज्’ रिपोर्टमा उल्लेख छ। प्रतिवेदनका अनुसार वायु प्रदूषणसिर्जित रोगका कारण नेपालमा दैनिक ४९ जनाको ज्यान जाने गरेको छ। अमेरिकाको युनिभर्सिटी अफ सिकागोको एअर क्वालिटी लाइफ इन्डेक्स (सन् २०२१) का अनुसार डब्लूएचओको मापदण्डलाई आधार मान्दा पीएम २.५ का कारण नेपालीको औसत आयु ४.६ वर्षले घटिरहेको छ।
बालबालिकाको छातीरोग विशेषज्ञ डा. प्रशान्त रिजाल वायु प्रदूषणका कारक सवारीसाधन, कलकारखाना ठप्प रहेका कोभिड-१९ महामारीको बन्दाबन्दीका वेला आफूकहाँ जँचाउन आउने बालबालिकामध्ये निमोनिया, दमका बिरामी कम देखिएको उदाहरण दिंदै विषाक्त हावाकै कारण श्वासप्रश्वास सहितका रोग निम्तिएको भन्न मिल्ने बताउँछन्। उनी भन्छन्, “बन्दाबन्दी शुरू हुनुअघि दैनिक तीन/चार जना निमोनियाका बिरामी आउँथे, बन्दाबन्दी शुरू भएपछि महीनाको तीन/चार जना मात्रै आउन थाले,” उनले भने, “यसले सवारीसाधन कम चल्ने, उद्योग आदिबाट निस्किने धूवाँ र धूलो कम हुने बित्तिकै बालबालिकाको रोग घटेको महसूस गरें।”
बिखालु वायुको स्रोत
काठमाडौंको हावालाई विषाक्त गराउने कारण धेरैजसो प्रस्ट छन्- सवारीसाधन र इँटाभट्टाबाट निस्किने धूवाँ, उद्योग र कलकारखानाले निकाल्ने धूवाँ-धूलो, निर्माण गतिविधि, डढेलो, फोहोर जलाउँदा निस्किने धूवाँ र सीमापारबाट प्रदूषण बोकेर आउने हावा।
काठमाडौं उपत्यकाको वायु प्रदूषणबारे एन्ना मुल, प्रकाश भावे, भूपेन्द्र दास सहितले सन् २०१७ मा गरेको अध्ययनले १२ हजार ३९ सवारीसाधनमध्ये ३५ प्रतिशतले देखिने गरी कालो धूवाँ फाल्ने गरेको देखाएको थियो। कालो धूवाँको मुस्लो फाल्ने सवारीमध्ये अधिकांश बस र ट्रक थिए। काठमाडौं उपत्यकामा मनसुनपूर्वको वायु प्रदूषणबारे मोहम्मद रोबिउल इस्लाम, अरनिको पाँडे, महेश्वर रुपाखेती सहितका अनुसन्धाताले सन् २०२० मा प्रकाशन गरेको अध्ययनले वायु प्रदूषण हुनुमा मर्मत नगरी चलाइएका सवारीसाधनलाई मुख्य कारण मानेको थियो। यस अध्ययनले वायुमा पीएम २.५ प्रदूषण बढाउन फोहोर जलाउँदा निस्किने धूवाँ र सवारीसाधनको उत्सर्जनको १८/१८ प्रतिशत, बालीनालीका ठुटा-पराल जलाउँदा तथा डढेलोबाट निस्किने धूवाँको १७ प्रतिशत योगदान रहेको देखाएको थियो।
यातायात व्यवस्था विभागका अनुसार नेपालमा दर्ता भएका सवारीसाधनको संख्या ५० लाख नाघिसकेको छ। पछिल्लो पाँच वर्षमा सवारीसाधनको संख्या दोब्बर हुनुले धूवाँ उत्सर्जनको मात्रा पनि उसैगरी बढेको निश्चित छ। एक दशकको बीचमा पेट्रोलियम पदार्थको खपत १६० प्रतिशत बढेको छ।
भिडिओ: गोपेन राई/हिमालखबर
तर वायु विषाक्त हुने क्रम रोक्न सरकारको पहलकदमी पर्याप्त छैन। वायु प्रदूषणको चिन्ता गरेरै सरकारले २०५६ सालदेखि काठमाडौं उपत्यकामा गाडी जाँच गरेर धूवाँ कम फाल्नेलाई उत्तीर्ण भएको जनाउने हरियो स्टिकर दिने व्यवस्था थालेको थियो। नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार चारपांग्रे सवारीसाधनले हरेक वर्ष सवारीको धूवाँ जाँच गराउनुपर्छ। जाँचमा उत्तीर्ण नभए सवारी गुडाउन नपाउने, जरिवाना गरिने सहितका व्यवस्था छन्। तर उपत्यकामा गुड्ने सबै सवारीसाधनले नियमित धूवाँ जाँच गराउँदैनन् भन्ने त हरियो स्टिकर लिने सवारीसाधनको संख्याले बताउँछ।
हिमालखबरले धूवाँ जाँच गर्ने चार वटा सरकारी कार्यालयबाट संकलन गरेको तथ्यांक अनुसार गत आव २०७९/८० मा काठमाडौंमा एक लाख १३ हजार ३३० सवारीसाधनले धूवाँ जाँच गराएर हरियो स्टिकर लिएका थिए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा चल्ने १६ लाखभन्दा बढी सवारीसाधनमध्ये तीन लाख २० हजारभन्दा बढी चारपांग्रे छन्। यसले के देखाउँछ भने, तीनमध्ये एक सवारीसाधनले मात्रै धूवाँ जाँच नियमित गराइरहेका छन्।
धूवाँ परीक्षणमा सफल दरिएका सवारीसाधन पनि ठीक अवस्थामा नै छन् भन्न सकिन्न। वातावरण विभागले २०७९ मंसीर र पुसमा काठमाडौं उपत्यकामा सवारीसाधनको छड्के जाँच गर्दा हरियो स्टिकर टाँसिएकै सवारीसाधनमध्ये पनि ३७ प्रतिशतले कालो धूवाँ फालिरहेको फेला पारेको थियो। हरियो स्टिकर नलिएका कति गाडी चल्तीमा छन् भन्ने यकीन तथ्यांक कुनै सरकारी कार्यालयसँग छैन। अर्कातिर, कुल सवारीसाधनमध्ये ८० प्रतिशत हिस्सा ओगट्ने मोटरसाइकलको त धूवाँको परीक्षण नै हुँदैन। भारतमा भने वायु प्रदूषण न्यूनीकरणकै लागि पेट्रोलियम पदार्थबाट चल्ने दुईपांग्रे सवारीलाई पनि हरेक वर्ष परीक्षण अनिवार्य गरिएको छ।
शहरी क्षेत्रमा वायुमण्डललाई सास फेर्नै कठिन बनाउने अर्को मुख्य कारण फोहोर जलाउँदा निस्किने धूवाँ पनि हो। कानूनले फोहोर जलाउन वर्जित गरे पनि त्यो कागजमै सीमित छ। राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२२ मा गरेको अध्ययनले देशका नगरपालिकाहरूमा बर्सेनि १० लाख टन फोहोर उत्पादन हुने र यसमध्ये २२ हजार ७५ टन (२.२ प्रतिशत) दहन हुने गरेको देखाएको थियो। वातावरण विभागको सन् २०२० को वेस्ट म्यानेजमेन्ट बेसलाइन सर्भेले ३२.१ प्रतिशत नगरपालिकाले संकलित फोहोर जलाउने गरेको देखाएको थियो।
उपत्यकाका सरकारी कार्यालयभित्रै रूखबिरुवाका पातपतिंगर, फोहोर जलाइने गरेको देखिन्छ। गाउँ देहातमा किसानले अनाज काटेपछिका ठुटा, पराल जलाउने प्रवृत्ति त झनै ठूलो भएको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउँछन्। राष्ट्रिय कृषि गणना, २०७८ मा देशका ४२.४ प्रतिशत वडामा कृषि कार्यबाट निस्किएको फोहोर जलाउने गरेको उल्लेख छ। दास भन्छन्, “हाम्रो अध्ययनले हरेक वर्ष नेपालमा ३० लाख मेट्रिक टन कृषि अवशेष जलाउने गरेको भेटिएको छ। यसमध्ये ९० प्रतिशत त तराई क्षेत्रमै जलाइन्छ।”
मनसुनी वर्षा शुरू हुनुअघिका महीनाहरूमा विभिन्न स्थानका जंगलमा लाग्ने डढेलोले वायु प्रदूषणलाई थप खराब स्तरमा ओराल्न भूमिका खेल्छ। सजेश कुइँकेल, विनोद पोखरेल र नवराज भट्टराईले सन् २०२४ मा प्रकाशन गरेको अध्ययनले डढेलो र काठमाडौंको वायु प्रदूषणको बीचमा गहिरो सम्बन्ध रहेको र डढेलो लागेको वेला प्रदूषण बढ्ने देखाएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाको मोडिज भू-उपग्रहले सन् २०१३ देखि २०२३ को एक दशकमा नेपालका २७ हजार ७५८ स्थानमा डढेलो देखिएको पहिचान गरेको छ। यो औसतमा हरेक वर्ष दुई हजार ७७५ वटा हुन आउँछ। सन् २०२४ मा त पहिलो चार महीनामै चार हजार ११४ स्थानमा डढेलो लागेको तथ्यांक छ।
हिउँदमा भारत र पाकिस्तानका किसानले धान, गहुँ जस्ता अनाज काटिसकेपछि खेतमै जलाउने ठूटाबाट निस्किने धूवाँलाई पश्चिमी वायुले सोहोरेर नेपाल भित्र्याएपछि हावा थप बिग्रिने वायु गुणस्तर विज्ञ दास बताउँछन्। कचौरा आकारको उपत्यकामा वायुमण्डलमा हावाको प्रसार थुनिएपछि गुणस्तर थप बिग्रिने उनको भनाइ छ। यसका साथै, लम्बिन थालेको खडेरीले वायुमण्डल धुलाम्य बनाइराख्न योगदान गर्छ। पछिल्ला वर्षमा हिउँदे वर्षाको क्रम घटिरहेको छ। जस्तो- यो वर्ष र गत वर्षका हिउँद दुवै चरम सुक्खा भए। जल तथा मौसम विज्ञान विभागका अनुसार २०६२ सालयताका ६ हिउँदमा मात्रै सरदरभन्दा बढी पानी परेको छ भने बाँकी तुलनात्मक रूपमा सुक्खा देखिए।
आँखाले देखिंदैन, सरकारले पनि देख्दैन
काठमाडौं उपत्यकाको वायुको गुणस्तरबारे प्रश्न उठेपछि मन्त्रिपरिषद्ले २०७६ सालमै ‘काठमाडौं उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्ययोजना’ बनाएको थियो। कार्ययोजनामा सवारीसाधनको उत्सर्जन घटाउन एक वर्षभित्र सवारीसाधनको प्रदूषण मापदण्ड यूरो ४ लागू गर्ने, फोहोर जलाउन रोक्ने, डिजेलबाट चल्ने सवारीमा फिल्टर प्रयोग गर्नुपर्ने व्यवस्था लागू गर्ने सहितका बुँदा समेटिएका थिए। चार वर्ष बितिसक्दा ती कार्यान्वयनमा आएका छैनन्। सवारीसाधनबाट हुने प्रदूषण उत्सर्जन नियन्त्रण गर्न भारतले सन् २०२० देखि नै यूरो ६ मापदण्ड बराबरको बीएस ६ मापदण्ड अपनाइसकेको छ। नेपालमा भने अहिलेसम्म यूरो ३ मापदण्ड नै कायम छ। व्यवसायीको दबाव र राजनीतिक स्वार्थले मापदण्ड परिवर्तनको विषय पेचिलो बनिरहेको छ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण घटाउन वन तथा वातावरण मन्त्रालयले २०७४ माघ ८ मा इँटा उद्योगबाट निस्किने धूवाँ र चिम्नीको उचाइ सम्बन्धी मापदण्ड अघि सारेको थियो। नेपाल इँटा उद्योग महासंघका अनुसार काठमाडौं उपत्यकामा करीब सात दर्जन इँटा उद्योग छन्। यीमध्ये कति इँटा उद्योगले मापदण्ड अनुसार चिम्नीबाट निस्किने धूलोको कणको मात्रा (सस्पेक्टेड पार्टिकुलेट म्याटर) पालन गर्छन् भनी अनुगमन गरिएको छैन। वातावरण व्यवस्थापनको अनुगमन गर्ने जिम्मा पाएको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली त्यस्तो अनुगमन गर्न नसकिएको बताउँछन्। इँटाभट्टा सञ्चालन अनुमति सम्बन्धी मापदण्डमा बस्ती र जंगलको एक किलोमिटरभित्र चलाउन नपाइने, वरपर धूलोरहित सडक र हरियाली बनाउनुपर्ने व्यवस्था छ। तर उपत्यकाका अधिकांश भट्टा बस्तीकै बीचमा सञ्चालनमा छन्।
पेट्रोलियम पदार्थको उपयोगमा सरकारले कर थपेर निरुत्साहित गर्न पनि खोजेको छ। पेट्रोल र डिजेलमा प्रतिलिटर ५० पैसा प्रदूषण नियन्त्रण शुल्क लिने गरिएको छ। यो हरेक वर्ष कम्तीमा रु. तीन अर्ब २० करोडभन्दा बढी जम्मा हुन्छ। तर यो रकम छुट्टै कोषमा जम्मा गरेर प्रदूषण न्यूनीकरणमा खर्चिने गरिएको छैन।
वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठ वायु प्रदूषण नियन्त्रणमा सरकारको फिटिक्कै ध्यान नपुगेको र वातावरण सुधार्न विगतमा गरिएको प्रयासलाई बेवास्ता गरिंदाको परिणाम अहिले देखिएको बताउँछन्। त्यसको एउटा उदाहरण बिजुलीबाट चल्ने ट्रली बस हो। २०३१ सालमा चीन सरकारको सहयोगमा काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म चलाइएको बिजुलीबाट चल्ने ट्रली बस २०५० को दशकको अन्तिमतिर बन्द भयो। वातावरणमा असर नपारी हजारौं यात्रुलाई सेवा दिने ट्रली बसको निरन्तर सञ्चालनमा चासो दिइएन।
“२०५० को दशकमा शुरू गरिएको ब्याट्रीबाट चल्ने सफा टेम्पो जस्ता प्रविधिलाई पनि थप फैलाउन ध्यान दिइएन,” वातावरणविद् भूषण तुलाधर भन्छन्, “सफा टेम्पो नेपालकै सफल अभियान भए पनि नीतिनिर्माताको प्राथमिकतामा परेन।”
काठमाडौं उपत्यकामा वायु प्रदूषण गर्ने भन्दै सरकारले दुई दशकअघि चोभारस्थित सरकारी स्वामित्वको हिमाल सिमेन्ट कारखाना बन्द गराएको थियो। यो विस्मृतिमा पर्दै गएपछि सरकारले धादिङको नौबिसे क्षेत्रमा निजी क्षेत्रमा पछिल्लो दशकमा दुई वटा सिमेन्ट उद्योग खोल्न अनुमति दियो। काठमाडौंमा निरुत्साहन गरिएका दर्जनौं इँटाभट्टा धादिङतिरै सरेका छन्, जसले निकाल्ने धूवाँलाई पश्चिमी वायुले उडाएर काठमाडौं ल्याइपुर्याउँछ।
डिजेल, पेट्रोलबाट चल्ने पुराना सवारीसाधनलाई बिजुली गाडीमा रूपान्तर गर्न सकिने विकल्पले वायु प्रदूषणसँग जुध्ने ठूलो समाधान दिन्छ। साझा यातायातले परीक्षणका रूपमा डिजेलबाट सञ्चालित एउटा पुरानो बसलाई विद्युतीय ब्याट्रीबाट चल्ने बनाएको छ। तर उक्त बसलाई सडकमा सञ्चालन गर्न आवश्यक कानून नै छैन।
काठमाडौंमा २० वर्ष पुराना सवारीसाधनलाई चल्न नदिने नीति सरकारले २०७१ सालमै पारित गरेको थियो। सवारीधनीको दबाब र सरकारको लाचारीका कारण यो नीति कार्यान्वयन हुन सकेको छैन। वातावरणविद् तुलाधर पेट्रोलियम पदार्थबाट चल्ने पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरणका लागि आवश्यक कानून र नीति आवश्यक भए पनि सरकारले बेवास्ता गरिरहेको बताउँछन्। उनी भन्छन्, “वायु प्रदूषण बढायो भनेर पेट्रोलियम पदार्थबाट चल्ने टेम्पो दुई दशकअघि काठमाडौंबाट हटाइएको थियो, अहिले बिजुलीबाट चल्ने सस्तो टेम्पो आइसक्दा पनि सरकारले किन रोकिरहेको छ?”
संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी धूवाँको मुस्लो निस्किने गरी खुलेआम आगो बालिंदा वा निर्माण आचारसंहिता विपरीत धूलो उडाएर काम गरिंदा पनि रोकथाम गरिएको वा निरुत्साहनका लागि कारबाही गरिएको नपाउँदा आश्चर्य लाग्ने बताउँछन्। उनी भन्छन्, “काठमाडौंमा कालो धूवाँ फाल्दै ट्रक र बसहरू निर्बाध दौडिइरहेकै छन्। सरकार कतिसम्म असंवेदनशील छ भन्ने उदाहरण हो, यो।”
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल संविधानमै स्वच्छ हावाको हक हुनेछ भनेर लेखिए पनि नागरिकले त्यो हक नपाएको बताउँछन्। उनी भन्छन्, “आफ्ना छोराछोरीको स्वास्थ्य जोगाउन नागरिकले अदालतमा मुद्दा हालेर स्वच्छ हावा नहुँदाको क्षतिपूर्ति माग्नुपर्यो। किनभने संविधानमा स्वच्छ वातावरणमा बाँच्न पाउने हक तोकिएको छ।”
तर विषाक्त हावाको भुक्तमान खेप्नुपरेका नागरिकलाई आफ्नो हक के हो वा होइन भन्ने थाहा छैन। ज्यामी टेकबहादुरलाई आफ्नो बालक छोरो बिरामी पार्ने बिखालु हावा चल्न नदिन सरकारले दायित्व पूरा नगरेको जानकारी छैन। उनी भन्छन्, “डाक्टरले छोरालाई बिखालु हावाबाट बचाउनू भन्छन्। रोजीरोटी यहीं छ, काठमाडौं छोडेर कहाँ जानू? गाउँमा हावा सफा त होला, गुजारा चाहिं कसरी चलाउने?”
प्रदूषणले बालबालिकालाई कसरी गर्छ असर?
हावामा मिसिएको धूलो र धूवाँले बालबालिकामा बढी असर गर्नुका कारणहरू छन्। बालबालिकाका फोक्सो, मस्तिष्क लगायत अंग विकास हुने क्रममै हुन्छन्। पूर्ण विकसित नभइसकेका अंगहरूका कारण प्रतिरक्षा प्रणाली बलियो हुँदैन। यसले गर्दा प्रदूषण वा यसले निम्त्याउने रोगसँग लड्ने क्षमता पनि कमजोर हुन्छ।
अर्कातिर, बालबालिकाले सास फेर्ने दर पनि वयस्कको भन्दा बढी हुन्छ। सामान्यतया १८ वर्षभन्दा माथि उमेरका मानिसले एक मिनेटमा १२ देखि २० पटकसम्म सास फेर्छन् भने बालबालिकाले प्रतिमिनेट ३० पटकभन्दा पनि बढी सास फेर्न सक्छन्। यसले गर्दा उनीहरूको शरीरभित्र प्रदूषण बढी मात्रामा जाने सम्भावना धेरै हुन्छ।
चिकित्सकहरूका अनुसार प्रदूषित हावाले बालबालिकाको श्वासनलीमा एलर्जी गराएर खुम्च्याउँछ र समयमै उपचार नगरे श्वासनलीको बनावटमै परिवर्तन ल्याएर आजीवन दमको रोगी बनाउँछ। हावा प्रदूषित हुँदाको असर घाँटी, नाक, फोक्सोमा मात्रै होइन, शरीरका धेरै अंगमा पर्छ। धूवाँ-धूलोका मसिना कण फोक्सोमा मात्रै बस्दैनन्, रक्त सञ्चालन प्रणाली मार्फत मुटु सहितका अंगमा पुगेर असर पार्छन्। अध्ययनहरूले वायुमा मिसिएको धूवाँलाई पनि क्यान्सरको कारकमध्ये एक मानेका छन्।
हामीले तथ्यांक संकलन र प्रशोधन कसरी गर्यौंं?
हावामा विभिन्न प्रकारका प्रदूषण मिसिएको हुन्छ र तिनलाई मापन गर्ने पनि विभिन्न विधि छन्। यस अध्ययनमा हामीले पीएम (पार्टिकुलेट म्याटर) २.५ को मापनलाई आधार बनाएर यस सम्बन्धी उपलब्ध तथ्यांकको मात्रै विश्लेषण गरेका छौं। पीएम २.५ जनस्वास्थ्यका लागि खतरनाक रहेको र नेपालको शहरी क्षेत्रको हावालाई यसले व्यापक प्रदूषित गरेका कारण हामीले यसको मापन गरेका हौं। काठमाडौं उपत्यकाभित्रका तीन फरक स्थानका विद्यालयको हावामा पीएम २.५ को मात्रा संकलन गर्न हामीले अभिच कम्पनीको वायु गुणस्तर मापन यन्त्र प्रयोग गरेका थियौं। यसले विद्यालयहरूमा हरेक क्षण वायुमा रहेको पीएम २.५ को मात्रा देखाउँथ्यो, जसलाई हामीले बढीमा प्रत्येक आधा घण्टाको फरकमा रेकर्ड राखेर विश्लेषण गरेका हौं। विद्यालय समयभरिको तथ्यांक संकलन गरिएको छ।
काठमाडौंको शहरी केन्द्रमा रहेको दरबार हाइस्कूल (भानु मावि), चक्रपथबाट ६०० मिटर बाहिरको तरुण मावि र चक्रपथबाट ६ किलोमिटर टाढा रहेको श्री कालीदेवी माविमा गत माघमा विद्यालय समयमा वायुको गुणस्तरको तथ्यांक संकलन गरिएको थियो। काठमाडौंको घना शहरी क्षेत्रको हावामा पीएम २.५ को मात्रा कति धेरै छ र चक्रपथबाट टाढा जाँदा वायु प्रदूषण पनि कसरी घट्छ भनेर तथ्यांकगत तुलना देखाउन हामीले फरक स्थानका यी विद्यालय छनोट गरेका थियौं।
हावामा मिसिएको पीएम २.५ को मात्रा हरेक यन्त्रका सेन्सरले फरक रेकर्ड गर्न सक्छ र तथ्यांकमा पनि विविधता आउन सक्छ। यसका बावजूद हामीसँग उपलब्ध यन्त्रको रेकर्डका आधारमा विश्लेषण गरेका छौं। हामीले विद्यालयमा संकलन गरेको पीएम २.५ को मात्राको वैधता जाँच्न वातावरण विभागको वायुको गुणस्तर अनुगमन प्रणालीले देखाएको तथ्यांकसँग पनि तुलना गरेका थियौं। जसबाट काठमाडौंका विभिन्न क्षेत्रमा रहेका स्टेशनले संकलन गरेको पीएम २.५ को परिमाणसँग हाम्रो आँकडा धेरै हदसम्म मेल खायो।
हामीले स्टोरीमा प्रयोग गरेका सन् २०२३ तथा २०२४ को पीएम २.५ का तथ्यांक वातावरण विभागको वायुको गुणस्तर अनुगमन प्रणालीले द वर्ल्ड एअर क्वालिटी इन्डेक्स प्रोजेक्टलाई उपलब्ध गराएको ‘रियल टाइम’ आँकडाबाट लिइएको हो। यो प्रमाणित गरिएको तथ्यांक नभएकाले प्रशोधनका क्रममा फेरबदल आउन सक्ने प्रोजेक्टले जनाएको छ। यसैगरी, काठमाडौं उपत्यकाभित्रका विद्यालय तथा चक्रपथभित्रका विद्यालय र विद्यार्थीको संख्या शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकको प्रशोधनबाट निकालिएको हो।
(यो रिपोर्ट तथ्यांक पत्रकारिता केन्द्र नेपाल र अर्थ जर्नालिजम् नेटवर्कसँगको सहकार्यमा तयार पारिएको हो।)