अटिजम विरुद्ध सर्जुको अभियान
आफ्नो प्रशिक्षणबाट बोल्दै नबोल्ने बालबालिका अहिले अरूसँग कुराकानी गर्न थालेको, आफैं खान, लुगा लगाउन सक्ने भएको देख्दा सर्जु आनन्दित हुन्छिन्।
धरान उपमहानगरपालिका-११, चाँदनी चोक नजिकै छ, स्पेशल एजुकेशन सेन्टर। अटिजम लगायत फरक क्षमता भएका बालबालिकालाई पढाइसँगै विभिन्न प्रशिक्षण दिइने यस केन्द्रकी सञ्चालिका हुन्, सर्जु थापा मगर।
अटिजमले स्नायु र शारीरिक विकासमा बाधा पारी कुराकानी गर्न, सिक्न-जान्नमा अवरोध गर्दा जीवन जटिल बन्न पुग्छ। यही जटिलतालाई सहज बनाउन सर्जु प्रयासरत छिन्। केन्द्रमा अटिजम भएका १२० बालबालिकालाई थेरापी र विभिन्न प्रशिक्षणका माध्यमबाट खेल मार्फत एकअर्कासँग बोल्ने, चित्र बनाउने, खाना खाने, लुगा लगाउने सीप सिकाइरहेकी हुन्छिन्। यसका लागि सहकर्मीले पनि साथ दिइरहेका छन्।
फरक क्षमताका आफ्ना सन्तानको पढाइ र प्रशिक्षणका लागि धरान सहित इटहरी, विराटनगर र झापाका विभिन्न स्थानबाट समेत अभिभावक आउने गरेको सर्जु बताउँछिन्। “मैले विशेष खालका बच्चालाई सिकाउन सेन्टर खोलें, तर यहाँ आउने ९९ प्रतिशत अटिजम भएका बच्चा छन्। समाजमा अटिजमको समस्या बढिरहेको देख्छु,” उनी भन्छिन्।
बालबालिकासँगको सामीप्यले स्थापित केन्द्र
२०४४ सालमा रेयुकाई संस्थाले नर्वेको सहयोगमा सुस्त मनस्थिति भएका बालबालिकाका लागि एउटा परियोजना ल्याएको थियो। यसैमा सहभागी भएर सर्जुले विशेष शिक्षा परिषद् र समाज कल्याण परिषद्बाट विशेष शिक्षा सम्बन्धी प्रशिक्षकको तालीम लिएकी थिइन्। पछि परियोजना अन्तर्गतै उनी धरानमा स्थापित सुस्त मनस्थिति विद्यालयकी संस्थापक प्रधानाध्यापक पनि भइन्।
यसपछिका १८ वर्ष सर्जुले सुस्त मनस्थिति भएका बालबालिकासँगै बिताइन्। त्यसैले विद्यालय छाडेपछि पनि उनलाई बालबालिकाको यादले सताइरह्यो। “सुस्त मनस्थितिका बच्चाहरूसँग भेटेपछि उनीहरूलाई खेलाएँ, सरसफाइ गरिदिएँ, त्यसमा उनीहरूसँग यति नजिक भएँ कि, कहिल्यै टाढा हुन सकिनँ,” उनी भन्छिन्।
२०६८ सालमा सर्जुले साथीहरूसँग मिलेर ‘ब्लजम मन्टेसरी’ खोलिन् जहाँ उनले फरक क्षमताका बालबालिकालाई पनि राखेर पढाउन थालिन्। तर एकै ठाउँमा राखेर पढाउँदा प्रभावकारी भएन। एक वर्षपछि उनले मन्टेसरीकै छेउमा दुई वटा कोठा भाडामा लिएर फरक क्षमताका बालबालिकालाई छुट्टै पढाउन थालिन्।
२०७१ सालसम्म ४० जना अटिजम भएका बालबालिका जम्मा भइसकेका थिए। यसपछि न्यूरो डिसअर्डर, डाउन सिन्ड्रम लगायत समस्या भएका बालबालिकालाई रेखदेख र प्रशिक्षण दिन भनेर उनले आफ्नै घरमा ‘स्पेशल एजुकेशन सेन्टर’ स्थापना गरिन्।
अहिले त बालबालिकाको संख्या बढेसँगै छुट्टै भवनमा केन्द्र विस्तार भएको छ। ३२ जना कर्मचारी छन्। सञ्चालन खर्च मासिक चारदेखि पाँच लाख रुपैयाँ हुने गरेको छ।
केन्द्रको आयस्रोत भनेको अभिभावकबाट लिइने मासिक ६ हजार रुपैयाँ शुल्क मात्र हो। जुन पैसाले खर्च धान्नै मुश्किल पर्ने उनी बताउँछिन्। “मैले यो व्यवसायका लागि खोलेको होइन। पैसा तिर्न नसक्नेसँग शुल्क पनि लिएकी छैन, तर स्टाफलाई दिन र अन्य खर्च गर्न पैसा चाहिन्छ। नपुगेको वेला त गोजीको हालेर चलाएकी छु,” उनी भन्छिन्।
कहिलेकाहीं आर्थिक समस्या पर्दा सर्जुलाई श्रीमान् र छोराले पनि सहयोग गर्ने गरेका छन्। उनका श्रीमान् पनि बालबालिकाकै क्षेत्रमा काम गर्छन्, छोरा विदेशमा छन्। सर्जुका साथीहरूले पनि विदेशबाट उनलाई वेलामौकामा सहयोग गर्ने गरेका छन्। कहिलेकाहीं नर्वेबाट स्वयंसेवकहरू आएर सहयोग गर्छन्।
उपमहानगरले दिएन अनुमति
सर्जुले अटिजम भएका ५०० भन्दा बढी बालबालिकालाई प्रशिक्षण दिइसकेकी छन्। धेरै अभिभावकलाई अटिजमबारे बुझाएकी छन्।
तर घरआँगनकै स्थानीय सरकारलाई उनले हालसम्म बुझाउन सकेकी छैनन्। तालीम केन्द्रको अनुमति मागेर धरान उपमहानगरपालिकामा निवेदन दिएको ६ महीना बितिसक्दा पनि उनले अनुमति पाएकी छैनन्। “नगरपालिकाका मान्छे अनुगमनमा आउँछन्, बच्चाहरू खेलाउँछन्, राम्रो काम गर्नुभएको छ भनेर जान्छन्। तर अनुमति अहिलेसम्म पाएकी छैन,” उनी भन्छिन्। उनले अहिले व्यवसायका रूपमा दर्ता गरेर केन्द्र सञ्चालन गरिरहेकी छन्।
केन्द्रमा बालबालिकालाई आवश्यकता र क्षमता अनुसार विभिन्न समूह बनाएर कक्षामा राखिने गरेको छ। दुईदेखि आठ वर्षका बालबालिकालाई बिहान १० देखि ३ बजेसम्म प्रशिक्षण दिइन्छ। आठ वर्षमाथिका बालबालिकालाई जेनिथ बोर्डिङ स्कूलमा पढाउने व्यवस्था मिलाइएको छ।
आफ्नो प्रशिक्षणबाट बोल्दै नबोल्ने बालबालिका अहिले अरूसँग कुरा गर्न थालेको, आफैं खान, लुगा लगाउन सक्ने भएको देख्दा सर्जु आनन्दित हुन्छिन्। “पहिला बच्चाको अवस्था देखेर डिप्रेशनमा गएका अभिभावक समेत बच्चामा आएको परिवर्तन देख्दा खुशी भएर आँसु झार्छन्। त्यो मेरा लागि सबैभन्दा खुशीको क्षण हुन्छ,” उनी भन्छिन्।
सर्जुले बालबालिकालाई मात्रै होइन, अभिभावकलाई समेत प्रशिक्षण दिंदै आएकी छन्। अटिजम भएका बालबालिकाका अभिभावकलाई घरमा कसरी हेरचाह गर्ने भनेर हरेक शुक्रबार प्रशिक्षण दिने गर्छिन्।
आफू जस्तै बालबालिकासँग नजिक भएर काम गर्न चाहनेलाई पनि उनले काम सिकाइरहेकी छन्। उनीसँग प्रशिक्षण लिएकाहरूले विराटनगर र झापामा यस्तै प्रशिक्षण केन्द्र खोलेका छन्। “यो क्षेत्रमा आउन चाहनेले व्यवसाय गर्ने सोचले होइन, सेवा गर्ने भावनाले आउनुपर्छ,” उनी भन्छिन्।
सर्जुका अनुभवमा फरक क्षमताका बालबालिकाको जीवन सहज बनाउन थेरापीको ८० प्रतिशत भूमिका हुन्छ। “थेरापी र अन्य तालीम लिएपछि उनीहरूले एकोहोरो रूपमा गर्ने काम गर्न सक्छन्। आत्मनिर्भर बन्न सक्छन्। म उनीहरूलाई आफैं केही गर्न सक्ने बनाउन चाहन्छु,” उनी भन्छिन्।
त्यसैले उनको एउटा सपना छ, फरक क्षमताका बालबालिकाका लागि ठूलो थेरापी हल बनाउने। यो सपना छिटै पूरा हुने उनको विश्वास छ।