आजबाट कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालन
कान्ति लोकपथमा आजदेखि यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ।
मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि लोकपथ बन्द गरिएको थियो। कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनीयर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिए।
“ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ,” उनले भने, “ललितपुरतर्फ सिंगल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ। बहुवर्षीय टेन्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ। बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालन हुनेछ।”
वैशाख १५ गतेदेखि आंशिक रूपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुंगाले काल्चे खण्डको सडकमा क्षति पुगेपछि वैशाख २१ गतेदेखि पुनः पूर्ण रूपमा बन्द भएको थियो।
काठमाडौंलाई हेटौंडासँग जोड्ने दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ।
कान्ति लोकपथको हेटौंडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो। यसमध्ये बुद्धचोकदेखि-टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो, बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय, ललितपुरको हो।