कस्ता नेपाली मरिरहेछन् रूस-युक्रेन युद्धमा?
ऋण तिर्ने सपनामा थप ऋण खापेर युद्धमा रूसी बन्दूक समाइरहेका एकपछि अर्को नेपाली उम्कनै नसकिने भुंग्रोमा फसिरहेका छन्।
रूस-युक्रेन युद्धमा हालसम्म कम्तीमा २२ नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ। रूसी सेनामा रहेका नेपालीलाई फिर्ता गराउन माग गरिरहेका अभियन्ता भने ३९ जनाको मृत्यु भइसकेको दाबी गरिरहेछन्।
मन्त्रालयका अनुसार सम्पर्कमा नरहेकाको खोजीका लागि आवेदन दिनेको संख्या ९९ पुगेको छ भने घाइते भएका वा अन्य कारणले त्यहाँ रहेका नेपालीलाई फिर्ता गराइदिन अनुरोध गर्नेको संख्या १४२ छ। युद्धमा कति नेपाली संलग्न छन् भन्ने यकीन तथ्यांक चाहिं कसैसँग छैन।
राष्ट्रपति भ्लादिमिर पुटिनसँग असहमति राखेकै कारण निर्वासनमा रहेकी रूसी पत्रकार इरिना क्राव्त्सोभाका अनुसार करीब एक हजार नेपाली रूसी सेनामा कार्यरत छन्। तिनको अवस्था सञ्चारमाध्यममा आएको भन्दा धेरै दर्दनाक रहेको उनी बताउँछिन्। क्राव्त्सोभा यूरोपबाट प्रकाशन हुँदै आएको नोभाया ग्याजेट यूरोपाकी विशेष संवाददाता हुन्।
दुवै देशसँग शत्रुता नभएको देशका नागरिक युद्धमा होमिएर मर्न/मार्न किन तयार भइरहेछन् त? यो प्रश्नको जवाफ मृतककै परिवार र आफन्तबाट खोज्ने प्रयत्न गरेका छौं। यस आधारमा धेरैजसोले ऋणको परिबन्धबाट उम्किन यस्तो जोखिम मोलेको पाइएको छ। यद्यपि दलालले उनीहरूलाई विना जोखिम पैसा कमाइने आश्वासन बाँडेको देखिन्छ।
कतिपय नेपाली कोभिड-१९ महामारीपछि व्यवसाय बिग्रिएर, कोही बेरोजगारीका कारणले, कोही विदेशमै रहे पनि थप कमाउने लोभमा, कोही रूसमै पढ्दापढ्दै त कोही लहलहैमा गएका छन्। यिनमा विगतमा सुरक्षा निकायमा काम गरेर बन्दूक चलाउन जानेका व्यक्ति पनि उल्लेख्य छन्।
जति पनि गएका छन्, अधिकांश चाहिं ऋण लिएर गएका छन्। कमाउन गएको मान्छे नै बितेपछि अब त्यो ऋणको दायित्व परिवारको थाप्लोमा आइपुगेको छ। यहाँ रूस-युक्रेन युद्धमा अहिलेसम्म ज्यान गुमाएका नेपालीको पारिवारिक-आर्थिक पृष्ठभूमि सहितको विवरण प्रस्तुत छ :
दलालले मोडिदिएको बाटो
गत मंसीर १४ मा अप्रत्याशित नम्बरबाट आएको फोनले टिना घिमिरे (३७) को बेचैनी केही दिनलाई कम भयो। झन्डै डेढ महीनादेखि बेपत्ता पतिको आवाज सुन्दा खुशीको सीमा थिएन। सेनामा भर्ती हुन भनी असोजमा रूस पुगेका पदमबहादुर घिमिरे दुई दिनपछि नै सम्पर्कविहीन थिए।
युक्रेनसँगको युद्ध दलालले बताएभन्दा निकै जोखिमपूर्ण रहेको बुझेपछि उनी भाग्न खोजेका रहेछन्। त्यही क्रममा पक्राउ परेपछि अहिले फोन गरेका रहेछन्। “अब युद्धमा लैजान्छ होला, मिल्यो भने फोन गर्छु,” फोन राख्नुअघि पदमले भनेका थिए।
यसबीच सामाजिक सञ्जालमा आउने युद्धका दृश्यले टिनाको निद्रा बिथोलिरहे। तर पदमको फोन आएन। परिवारले उनको अवस्था बुझिदिन सरकार गुहार्यो। आफू जस्तै पीडामा परेका अरू परिवारसँग मिलेर दबाबमूलक कार्यक्रम चलायो। तर कतैबाट पदमको अवस्था पत्ता लागेन।
गत चैत १ मा रूसी दूतावासबाट आएको फोनले भने बचेखुचेको आशा समेत समाप्त पारिदियो। पदमले युद्धमोर्चामै ज्यान गुमाएछन्। टिनाले निकै दिन आफूलाई सम्हाल्नै सकिनन्। पतिको मुहार अन्तिम पटक हेर्ने इच्छा समेत पूरा भएन। दूतावासबाट शव नेपाल नआउने खबर आएको छ। टिनाको चिन्ता छ, “अब एक्लैले घरपरिवार कसरी सम्हाल्ने?”
पदमका दुई छोरीमध्ये एउटीले यसै पटक एसईई दिइन् भने अर्की कक्षा ७ मा पढ्दै छिन्। नेपाली सेनामा १७ वर्ष खटिएर अवकाश लिएका पदमले नेपालमा सुरक्षागार्ड बाहेक अन्य कामको अवसर देखेनन्। सुरक्षागार्ड बसेर छोरीहरूलाई पढाउन सकिंदैन भन्ने ठाने। अनि रोजगारीका लागि क्रोएशिया जाने तयारी गरे।
टिनाका अनुसार पदमले क्रोएशिया जान काठमाडौंको बाँसबारीस्थित सुमेरु मेनपावरका हरिबहादुर विश्वकर्मालाई २०७८ सालमा राहदानी बुझाएका थिए। ६ महीनाभित्र उडाउने भनेको मेनपावरले अनेक बहानामा झुलाएर दिक्क बनायो। “अति भो भनेर पासपोर्ट माग्न जाँदा दलालले रूस पठाउने प्रलोभन देखाएछ,” टिना भन्छिन्, “साढे तीन लाख मासिक तलब, पीआर दिइने र परिवार लैजान मिल्ने तर कसैलाई नभन्नू भनेको रहेछ।”
विदेशिने तयारी गर्दै गर्दा परिवारलाई क्रोएशिया नै जान लागेको बताउने गरेका पदमले हिंड्ने दिन मात्र रूस जान लागेको बताएका थिए। टिनाका अनुसार पदमले ऋण गरेर दलाललाई नौ लाख रुपैयाँ बुझाएका थिए। उनले विश्वकर्मा विरुद्ध प्रहरीमा उजुरी पनि दिएकी छन्। पति गुमाएको पीडा र ऋणको पासोमा रहेकी उनी भविष्य सम्झिएर अत्तालिएकी छन्। उनी भन्छिन्, “यी छोरीहरूको बिचल्ली हुने भो, खै कसरी पो सम्हाल्नु!”
उदयपुरको चौदण्डीगढी नगरपालिका-६, बसाहाका पदमबहादुर पछिल्लो समय काठमाडौंको सुन्ताखानीमा बसोबास गर्दै आएका थिए।
बेखबर परिवार
मलेशियामा सेक्युरिटी गार्डको जागीर खाएर २०६९ सालमा नेपाल फर्किएपछि धनकुटाको साँगुरीगढी-५ का खगेन्द्र राइका मगर बेरोजगार थिए। त्यही क्रममा पत्नीसँग सम्बन्धविच्छेद भयो। बूढी आमा र छोरी स्याहार्ने दायित्व आयोे। घर चलाउनै मुश्किल परेपछि उनी फेरि लागे विदेशिने तर्खरमा।
अब मलेशियाभन्दा अझ कमाइ हुने देश जान खोज्दै थिए। बहिनी भद्रमायाका अनुसार इरान र किर्गिस्तान जाने प्रयासमा दलालले १० लाख रुपैयाँ खाइदिइसकेको थियो।
यही क्रममा नेपाली सेनामा कार्यरत गाउँकै छिमेकी बहिनीले रूस पठाइदिने भन्दै चिरञ्जीवी बस्नेत नामका व्यक्तिसँग सम्पर्क गराइदिइन्। चिरञ्जीवीले पनि कुनै जोखिम नहुने, युद्धमा खटिनुनपर्ने भन्दै आश्वासन दिएका थिए।
कतै भिसा नलागेर विरक्तिरहेका खगेन्द्र रूस जान तयार भइहाले। “मान्छेहरू मरिरहेका छन्, नजानू भन्दा मर्नेहरू घरमै बसेर पनि मरेका छन् भन्नुभयो,” भद्रमाया भन्छिन्, “त्यसपछि हामी दुई दिदीबहिनीले सयकडा तीनको ब्याजमा १४ लाख रुपैयाँ ऋण खोजेर पठाएका थियौं।”
मंसीरमा रूस पुगेका खगेन्द्रले परिवारसँग नियमितजसो सम्पर्क गरिरहेकै थिए। माघमा ६० हजार रुपैयाँ पनि पठाएका थिए। अन्तिम पटक फागुन १८ मा थप तीन लाख रुपैयाँ पठाउने बताएका थिए। त्यसपछि परिवारसँग दोहोरो संवाद भएन। “एकै चोटि चैत ९ मा युद्धमा जान लागेको भनी मेसेज छाड्नुभएको रहेछ,” भद्रमाया भन्छिन्, “त्यसपछि फोन नआएकाले उहाँको खोजी गरिदिन परराष्ट्र मन्त्रालय र रूसी दूतावासमा सम्पर्क गर्दा वास्ता गरेनन्।”
परराष्ट्र मन्त्रालयले चैत २० मा खगेन्द्रको मृत्यु भएको भनी विज्ञप्ति जारी गरिसकेको छ। तर परिवार दुई महीनापछि अर्थात् जेठ १७ सम्म पनि यसबारे बेखबर थियो। हिमालखबरले परराष्ट्रको विज्ञप्तिबारे जानकारी गराएपछि बल्ल उनीहरूले थाहा पाए। “रूसमा रहेका उहाँका साथीहरूसँग सम्पर्क गर्दा कतिपय मानिस ६ महीना हराएर फर्केका छन्, तपाईंको दाइ पनि फर्कन्छ भनेका थिए,” भद्रमायाले भक्कानिंदै भन्छिन्, “हामी दाइको बाटो हेरिरहेका थियौं, मृत्युको खबर पो आइसकेछ।”
परिवारलाई ढाँटेर युद्धमा
धादिङको गंगाजमुना गाउँपालिका-३ का पूर्णबहादुर गुरुङका दम्पती आठ वर्षअघि धादिङबेसी झरेका थिए। उद्देश्य थियो- दुई सन्तानलाई बोर्डिङ स्कूल पढाउने। गुरुङले त्यहाँ आफ्नै बच्चा पढ्ने स्कूलको भ्यान चलाउने काम पाए। तर पारिश्रमिकले खर्च धान्न धौधौ थियो। केही वर्षपछि उनले पनि विदेशिने सोच बनाए।
साथीभाइसँग सोधखोज गर्न थाले। त्यही क्रममा रूस पठाउने दलालसँग सम्पर्क भयो। “आफन्त, साथीभाइ र सहकारीबाट नौ लाख ऋण गरेर दलाललाई बुझाउनुभएको रहेछ,” पत्नी लीलु सुनाउँछिन्।
पूर्णबहादुरले गत कात्तिक ६ मा नेपाल छाडेका थिए। उनले परिवारलाई रूस जाने मात्र बताएका थिए, काम बताएका थिएनन्। पत्नीसँग ‘ह्वाट्सएप’ मा कुराकानी भइरहेकै थियो। मंसीर पहिलो साता भने पाँच दिन जति कुराकानी नहुने खबर दिए। “नेटवर्क नआउने ठाउँमा काम छ, अब पाँच दिनपछि फोन गर्छु भन्नुभएको थियो,” लीलु भन्छिन्।
त्यसपछि पूर्णबहादुरको फोन आएन। यसबीच सामाजिक सञ्जालमा रूस-युक्रेन युद्धमा नेपाली सहभागी भएका भिडिओ छ्याप्छ्याप्ती भए। लीलुको मनमा शंका पस्यो, भित्रभित्रै गलाउँदै लग्यो। तैपनि पतिको फोन पर्खिरहिन्।
मंसीर २२ गते ह्वाट्सएपमा कल आयो पनि। तर त्यो पूर्णबहादुरको नभई उनीसँगै रूस गएका धादिङकै अर्का व्यक्तिको थियो। उनले पाँच दिनअघि पूर्णबहादुरको मृत्यु भएको खबर सुनाए। “दुईमध्ये एकलाई केही भयो भने घरसम्म खबर पुर्याइदिने उहाँहरूको सल्लाह भएको रहेछ,” लीलु भन्छिन्, “हामीलाई ढाँटेर युद्धमा जानुभएछ।”
७६ वर्षीया सासू, ११ वर्षीया छोरी र पाँच वर्षीय छोरा सम्हाल्ने जिम्मा अब लीलुको एक्लो थाप्लोमा आइपरेको छ। अर्कातिर पूर्णबहादुरलाई ऋण दिएकाहरू अहिले धमाधम फिर्ता मागिरहेछन्। सरसापट गरेर हातमुख जोरिरहेकी लीलुले उपाय भेटेकी छैनन्। उनी भन्छिन्, “पैसा कमाउन गएका श्रीमान् नै रहेनन्, त्यत्रो पैसा म कहाँबाट ल्याएर तिरूँ!”
लीलुलाई अन्तिम पटक पतिको अनुहार देख्न नपाएकोमा समेत थकथकी छ। उनलाई राज्यबाट खासै आश त छैन, तैपनि कामना गर्छिन्, “शवसम्म ल्याइदिए पनि उहाँको आत्माले शान्ति पाउँथ्यो कि!”
क्रोएशिया भन्दै रूसतिर
मलेशियामा चार वर्ष बिताएपछि रसुवाको नौकुण्ड गाउँपालिका-५ का का सुन्दर मोक्तानले स्वदेश फर्किएर सानोतिनो ठेक्कापट्टा शुरू गरे। तर लगत्तै आएको कोभिड-१९ महामारीले चौपट पारिदियो। काम गरेको ठाउँबाट करीब १० लाख रुपैयाँ उठाउन सकेनन्। गाउँका ससाना गोरेटो, मन्दिर आदिको ठेक्का लिने उनका लागि यत्तिको रकम फस्नु सामान्य थिएन।
विरक्तिएका उनले पनि गत असोजमा रोजगारीका लागि क्रोएशिया जाने भन्दै घर छाडे। तर केही दिनपछि पत्नी पातलीलाई फोनमा रूस पुगेको सुनाए। कमाइ राम्रो हुने, पीआर समेत पाइने भन्दै ढाडस दिए।
रूस युक्रेनसँग युद्धमा होमिएको र पति रूसी सेनामा गएको पातलीलाई पत्तै थिएन। यो कुरा उनले त्यति वेला मात्र थाहा पाइन्, जब पति युद्धमा खटिने भए। रूस पुगेको करीब दुई सातापछि सुन्दरले भने, “हामीलाई जंगलमा तालीमका लागि राखिएको छ। अब यहाँबाट निस्किएपछि मात्र फोन गर्छु।”
पातली अत्तालिइन्। यसबीच टिकटकमा आउने रूस-युक्रेन युद्धका भिडिओले उनलाई छटपटीमा पारिरहे। पतिलाई केही नहोस् भनी प्रार्थना गरिरहिन्। करीब साढे दुई महीना फोन आएन। तर पुस १४ को बिहानै बजेको फोनले होशहवास उडाइदियो। खबर त्यही थियो, जुन उनले सुन्न नपरोस् भनी प्रार्थना गर्दै आएकी थिइन्।
भारतीय सेनामा रहेका ससुरालाई उहिल्यै संकटकालको वेला गाउँ आउँदा माओवादीले मारेका थिए। अब पति पनि रहेनन्। घरमा ६१ वर्षीया सासू, १४ वर्षीया छोरी र ११ वर्षीय छोरा छन्। अब ती सबैलाई पातलीले नै हेर्नु छ।
उनका अनुसार सुन्दरले क्रोएशिया जान भन्दै १८ लाख रुपैयाँ ऋण गरेका थिए। भन्छिन्, “त्यत्रो ऋण लिएर कमाउन गएका श्रीमान् बितेको खबर सुन्दा आफैंलाई मर्नु भएको छ।”
छोरी देख्नै नपाई अस्ताएका भरत
कैलालीको टीकापुरका ३६ वर्षीय भरतबहादुर शाही २०८० साउनमा सुरक्षागार्डको काम गर्न दुबई हिंडेका थिए। तर त्यहाँ पुगेपछि उनको मन फेरियो। त्यहीं भेटिएका साथीहरूले रूसमा महीनाकै पाँच लाख रुपैयाँ आम्दानी हुने, भविष्यमा स्थायी रूपमा उतै बस्न र परिवार लैजान पाउने प्रलोभन देखाए।
पाँच लाख ऋण काढेर दुबई पुगेका भरतले यति सुनेपछि दायाँबायाँ सोचेनन्। रूसतिरै हान्निए। पत्नी भद्राले ज्यान जोखिममा नपार्न पटक पटक सम्झाइन्। उनले सुनेनन्।
बरु युद्ध रोकिइसकेको र त्यताको समाचार धेरै नहेर्न भन्दै थप पाँच लाख रुपैयाँ जोहो गरेर पठाउन अह्राए। “टीकापुरको घर र एक कट्ठा जमीन ब्यांकमा धितो राखेर साउन पहिलो साता पाँच लाख पठाएँ,” भद्रा भन्छिन्।
त्यसको एक महीनामै शाही केही साथीहरूसँग रूस पुगिसकेका थिए। शुरूशुरूमा तालीममा रहेको भन्दै रमाइलो गरिएका भिडिओ पठाउँथे। अनि पत्नीलाई आश्वस्त पार्न भन्थे, “मिडियामा आए जस्तो डरलाग्दो अवस्था छैन।”
गर्भवती भद्राले पति रूस पुगेकै वेला छोरी जन्माइन्। कात्तिक २६ मा छोरीको न्वारन सकिएको दुई दिन मात्र भएको थियो। लक्ष्मीपूजाको उल्लास चलिरहँदा साँझ ५ बजेतिर भरतले फोनमा मलिनो स्वरमा भने, “अब म यहाँबाट भाग्छु होला।”
सुनेर भद्राले आँसु थाम्न सकिनन्। भरतले छोराछोरी कसैको सोधखोज गरेनन्। “एक पटक तिम्रो हाँसेको अनुहार हेरेर जान्छु,” भनेर फोन काटे। थप फोन आएन।
त्यसबीच भद्राले पतिसँग गएका साथीहरूलाई सम्पर्क गरिन्। तर कसैले केही भनेनन्। महीना दिनपछि गत मंसीर २८ गते भरत बितेको खबर दिए। “विश्वास नै भइरहेको थिएन, तर मलाई बहिनी मान्ने एक दाइले नै भनेपछि पत्याउनै पर्यो,” उनी सम्झन्छिन्।
भद्राले पनि पतिको शव पाएकी छैनन्। पतिसँगै गएकाहरूलाई त्यसका लागि पहल गरिदिन अनुनय पनि गरिन्। तर उनीहरूले भरत कहाँ र कसरी बितेका हुन् भन्नेसम्म बताउन सकेका छैनन्। परिवारले पुस १ मा कुशको शव बनाएर दाहसंस्कार गर्यो।
भद्रालाई अब चार वर्षीय छोरा र तीन महीनाकी छोरीको लालनपालन मात्र होइन, पति विदेश जाँदा लागेको १० लाख ऋणको समेत भार छ। क्षतिपूर्ति पाउने/नपाउने टुंगो छैन। “आगामी दिन कस्तो हुने हो, सोच्दा कहाली लाग्छ,” उनी भन्छिन्।
त्यो अन्तिम ‘भोइस मेसेज’
बाग्लुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विक पाँच वर्ष साउदी अरब र चार वर्ष कतार बसेपछि गाउँमै उद्यम गर्ने सोचले स्वदेश फर्किएका थिए। नेपाल फर्किएपछि यातायात व्यवसाय गर्न बोलेरो भ्यान किने।
परिवारका अनुसार नौ लाख रुपैयाँमा किनेको ‘सेकेन्ड ह्यान्ड’ गाडी मर्मत गर्नै पाँच लाख लाग्यो। तर कमाइ भने जस्तो भएन। ब्यांकको किस्ता तिर्नै धौधौ परेपछि उनले गाडी बेचे। यतिन्जेल १५ लाख रुपैयाँ ऋण लागिसकेको थियो।
त्यसपछि जितबहादुरले मासिक २० हजार तलबमा साहुको भ्यान चलाउन थाले। ऋण तिर्नु त परको कुरा, पाँच जनाको परिवार पाल्नै मुश्किल पर्यो। तब उनी विदेश जाने योजनामा लागे।
२०८० भदौमा उनको सम्पर्क रूस पठाउने दलालसँग भयो। थप ६ लाख ऋण गरेर उनी असोज ११ मा रूस उडे।
पत्नी विष्णुका अनुसार जितबहादुरलाई दलालले रूस पुगेपछि युद्धमा जानुपर्ने भनेकै थिएन। “युद्ध गर्न भनेको भए उहाँ जानुहुने थिएन, रूसमा युद्ध छ भन्ने थाहा नभएकाले नै हामी फस्यौं,” उनी भन्छिन्।
रूस पुगेका जितबहादुरले आफूलाई युद्धमा खटाइएको र उम्कने विकल्प नरहेको सुनाएपछि परिवारमा सन्नाटा छायो। विष्णुका अनुसार पति माघअघि नै तीन पटक युद्धमा गइसकेका थिए। हरेक पटक जाँदा सातदेखि १० दिनसम्म सम्पर्कविहीन हुन्थे। पतिले फोन गरेपछि बल्ल उनलाई राहत मिल्थ्यो।
गत माघ ७ को राति ११ बजे जितबहादुरले अकस्मात् युद्धमा जान लागेको भन्दै इमोमा ‘भोइस मेसेज’ छाडे। तर दुई साता बित्दा पनि सम्पर्क गरेनन्। त्यसपछि विष्णुको मनमा चिसो पस्यो। एकाएक फागुन ९ मा जितबहादुर बितेको खबर आयो। “जे सुन्नुनपरोस् भनेर कामना गरेकी थिएँ, आखिर त्यही सुन्नुपर्यो,” उनी भन्छिन्।
विष्णुका अनुसार जितबहादुरले गाडी किन्दा र विदेश जाँदाको गरेर २५ लाख रुपैयाँ ऋण छ। तर घरमा कमाउने कोही छैनन्। १८ र १२ वर्षका दुई छोरी र १० वर्षका छोरा छन्। सम्पत्तिका नाममा रहेको तीनकोठे घरको लालपुर्जा पनि ब्यांकमा धितो छ। “छोराछोरी कमाउने उमेरका हुँदासम्म यही घर पनि नरहला भन्ने पीर छ,” उनी भन्छिन्।
ऋण तिर्न जोखिम मोल्दा ज्यानै गयो
बाँकेका सञ्जय केसी बैजनाथ गाउँपालिका-५ मा हार्डवेयर पसल चलाउँथे। राम्रैसँग चलिरहेको व्यवसाय कोभिड-१९ महामारीले उठ्नै नसक्ने गरी थला पारिदियो। परिवारका अनुसार सञ्जय ९० लाख रुपैयाँको ऋणमा डुबिसकेका थिए। बजारमा उधारो रहेको ५० लाख रुपैयाँ उठिरहेको थिएन।
सहकारी र ब्यांकले च्याप्न थालेपछि ऋण तिर्नकै लागि ६५ लाख रुपैयाँमा १० कट्ठा जग्गा बेचेको बुबा अमर बताउँछन्। बुबाले ५० लाख रुपैयाँ सञ्जयलाई दिए। त्यसले केही ऋण तिरे पनि अझै तिर्न बाँकी थियो। तर व्यवसायप्रति सञ्जयको मन मरिसकेको थियो, त्यसैले विदेश जाने सोच बनाए।
त्यही वेला उनको भेट रोमानिया पठाइदिन्छु भन्ने दलालसँग भयो। दलालले दुबईबाट जानुपर्ने भन्दै उनलाई २०८० भदौमा त्यहीं बोलायो। दुबई जाने वेला जग्गा बेचेर बाँकी रहेको १० लाख रुपैयाँ पनि सञ्जयलाई दिएको अमर बताउँछन्। “दुबईबाट कसरी रूस पुग्यो, हामीलाई केही जानकारी छैन,” उनी भन्छन्।
उनलाई छोराको रूस जाने निर्णयमा यसकारण पनि आश्चर्य लाग्छ कि नेपाल छाड्नुअघि सञ्जय आफैं रूस र युक्रेनबीच डरलाग्दो युद्ध भइरहेको समाचार सुनाउँथे। घर छाडेको १५ दिनसम्म परिवारसँग नियमित कुराकानी भइरहेकै थियो। त्यसपछि एकाएक सम्पर्कविहीन भए।
एकै पटक मंसीर महीनामा सम्पर्क हुँदा उनले खंग्रङ्ङै पार्ने खबर सुनाए- रूसी सेनाका तर्फबाट युद्धमा जान लागेको। “ज्यान जोखिममा पारेर किन गइस् भनेर सोध्दा आँसु झार्यो,” अमर छोरासँगको अन्तिम भिडिओ संवाद सम्झन्छन्, “रूस हिंडेको थाहा पाएको भए प्रहरी लगाएर यहीं एअरपोर्टमै रोक्थें, तर छनक नै पाइनँ।”
युद्धमा खटाइएको थाहा पाएपछि पनि अमरले छोरालाई उद्धार गर्न निकै प्रयास गरे। त्यहाँबाट उम्किन जति खर्च लागे पनि पठाइदिने खबर पठाए। तर त्यसपछि छोरासँग सम्पर्क नै भएन। बस्, उनले छोरालाई केही नहोस् भनी प्रार्थना मात्र गर्न सके। तर गत माघ ९ मा उनको मृत्यु भएको खबर आयो।
अमरका अनुसार सञ्जयको ऋण अझै ५० लाख रुपैयाँ छ। ब्यांक र सहकारीले दबाब दिएकोदियै छन्। ६१ वर्षीय अमर बाँकी जग्गा बेच्दा पनि त्यो तिर्न नपुग्ने बताउँछन्।
उनी भन्छन्, “बुढेसकालको सहारा बन्ला भनेको छोरा कसरी भड्खालोमा जाकियो, सोच्न पनि सकेको छैन।” सञ्जयका पत्नी र १४ वर्षीय छोरा छन्।
रूसमा अस्ताएका एक्ला छोरा
कपिलवस्तुको बाणगंगा-१, मन्द्रेलीकी ४७ वर्षीया लक्ष्मी कार्कीलाई छोरा रूपक सम्झनासाथ भक्कानो छुट्छ। उनी भन्छिन्, “बुढेसकालको एक मात्र सहारा थियो, अब अनुहारसम्म देख्न नपाइने भयो।”
२४ वर्षीय रूपक २०७९ जेठमा आफ्ना तीन साथीसँगै विद्यार्थी भिसामा रूस गए। उनीहरू पढाइसँगै सानोतिनो काम पनि गर्थे। तर त्यो कमाइ रूस जाँदा लागेको ऋण तिर्न पर्याप्त थिएन। लक्ष्मीका अनुसार रूपक भिडिओ कुराकानीमा राम्रो काम पाउन गाह्रो भएकाले कमाउन नसकेको गुनासो गर्थे।
रूपकले २०८० मंसीरमा आमालाई आफू सेनामा भर्ती हुन लागेको बताएका थिए। सँगैका साथीहरू दुई साताअघि गएको र आफूलाई पनि बोलाइएको सुनाए। अनि भने, “६ महीना तालीममा राख्छ, त्यो वेला फोन सम्पर्क हुन्न होला है।”
लक्ष्मीका अनुसार उनलाई रूस युद्ध गरिरहेको र छोरा त्यसैमा खटिन लागेको थाहा थिएन। भन्छिन्, “मैले त नेपालकै सेनाको जस्तो जागीर भन्ने सोचेकी थिएँ।”
तालीममा जाने भनेदेखि नै रूपक बेपत्ता थिए। त्यतिन्जेल रूसी सेनामा गएका नेपालीले ज्यान गुमाएका समाचार छ्यापछ्याप्ती भइसकेका थिए। ती समाचारले लक्ष्मीलाई निकै अत्याए।
मंसीर दोस्रो साता रूपकको पनि त्यही खबर आयो। छोराकै एक साथीले लक्ष्मीलाई फोन गरेर उनी बितेको खबर दिए। “हामीले छोराको शव नदेखीकनै किरिया नगर्ने भनेका थियौं, तर गाउँलेहरूले भनेपछि पुस ८ मा गरिदियौं,” आमा भन्छिन्।
एक मात्र छोराको मृत्युपछि बुबा ओइलाए जस्ता भएका छन्। छोरालाई रूस पठाउँदा ऋण लिएको १५ लाख तिर्ने उपाय दम्पतीले भेटेका छैनन्। “हामी बूढाबूढीले केही सोच्नै सकेका छैनौं,” लक्ष्मी भन्छिन्।
फेरि एक्लै भए छोराछोरी
नेपाली सेनाका सिपाही ३० वर्षीय नवीन शाही पेशाप्रति सन्तुष्ट थिएनन्। तलबले परिवारको नियमित आवश्यकता धान्नै धौधौ थियो। त्यसैले सात वर्ष बिताएको जागीर चटक्कै छाडेर भिजिट भिसामा दुबई पुगे।
त्यहाँ दुई वर्ष बस्दा होटलमा कुकको काम पाएर मासिक ६० हजार रुपैयाँ बचाउने भइसकेका थिए। पत्नी दीपा पनि ओमनमा गार्मेन्टमा काम गरेर मासिक ३५ हजार बचाउँथिन्। १२ वर्षीय छोरा र पाँच वर्षीया छोरी जाजरकोटको शिवालय गाउँपालिका- ६ स्थित गाउँमै थिए। “घरमा ऋण धेरै भएकाले छोराछोरी छाडेर दुवै जना विदेश बस्न बाध्य भयौं,” दीपा भन्छिन्।
उनका अनुसार दुबईबाटै नवीनको सम्पर्क दलालसँग भयो। तिनै मार्फत दुबईमै रहेका अन्य नेपाली समेत रूस गए। दलालले पीआर पाइने र उतै परिवार लैजान मिल्ने प्रलोभन देखाएको थियो। “हामीलाई युद्ध गर्नेको सामान बोक्ने र खाना पकाइदिने काम हो, केही खतरा छैन भन्नुभएको थियो,” दीपा भन्छिन्, “राम्रै हुन्छ भनेपछि साथीहरूसँग मागेर १२ लाख जम्मा गरेका थियौं।”
नवीनले असोज २२ मा दुबई छाडेका थिए। रूस पुगेको १५ दिनसम्म ‘ह्वाट्सएप’ मा पत्नीसँग कुराकानी हुन्थ्यो। त्यसपछि भने सम्पर्कविहीन भए। आफैं पनि बिरानो मुलुकमा रहेकी दीपासँग खबर पर्खनुको विकल्प थिएन।
यसबीच आइरहने युद्धका समाचारले उनको बेचैनी बढाइरहेका थिए। युक्रेनको आक्रमणमा गत फागुनमा नवीन बिते। उनले समाचारबाटै यो खबर थाहा पाइन्।
पतिको किरिया गर्न नेपाल आएकी दीपा फेरि ओमन फर्कने बताउँछिन्। पहिलेको ऋण त छँदै छ, पति रूस जाँदा लागेको ऋण समेत अब उनैको थाप्लोमा आइपुगेको छ। भन्छिन्, “ऋणबाट मुक्ति मिल्ला भनेर संघर्ष गर्दा झन् ऋणमा डुबाएर जानुभयो।”
घाइते भएको खबर अनि मृत्युको विज्ञप्ति
झापाको हल्दीबारी गाउँपालिका-१, कपुरथानका ३३ वर्षीय गंगाराम अधिकारी २०७८ मंसीरमा कतार पुगे। कतारको कमाइ अघिल्लो चोटि साउदी अरबमा काम गर्दाको जति थिएन। ड्राइभिङ काममा लगिएका उनलाई कम्पनीले नियमित पारिश्रमिक दिएको थिएन। त्यही क्रममा रूस पठाउने दलालसँग सम्पर्क भएछ। उनी त्यतै हान्निए।
पत्नी अनुराधाका अनुसार गंगारामले रूस पुगेपछि मात्रै परिवारलाई यसको जानकारी दिएका थिए। कतारबाट दुबई हुँदै मस्को पुगेका उनी २०८० मंसीर ४ मा रूसी सेनामा भर्ना भए।
झन्डै दुई महीना तालीम लिए। तालीम सकिएपछि माघ ४ मा पत्नी अनुराधा, आमा मनमाया, बुबा रघुनाथ लगायत परिवारजनसँग कुराकानी गरेका थिए। “त्यति वेला भोलि लडाइँमा जाँदै छु भन्नुभएको थियो,” अनुराधा भन्छिन्, “त्यसपछि उहाँको फोन आएन।”
यसबीच परिवार गंगारामको स्थिति बुझ्न विभिन्न निकाय धायो। रूसमै रहेकाहरूसँग हारगुहार गर्यो। यत्तिकैमा माघ १२ मा गाउँभरि गंगारामको मृत्यु भएको हल्ला फैलियो। तर त्यसअघि माघ १० मा गंगाराम घाइते भएको खबर आएकाले गाउँलेले त्यसैलाई मृत्यु भएको भनेर हल्ला फैलाएको हुन सक्ने अनुमान लगाउँदै परिवारले मन बुझाइरहेको थियो।
गत चैत १ मा परराष्ट्र मन्त्रालयले गंगारामको मृत्यु भएको भनी विज्ञप्ति जारी गरेपछि भने उनीहरूलाई पत्याउन करै लाग्यो। तैपनि सकेसम्म छोरा बितेको विश्वास गर्नै चाहेनन्। त्यसैले बुबा रघुनाथ भोलि पल्ट ज्योतिषीलाई चिना देखाउन गए। ज्योतिषीले छोरो फर्कने आश देखाएकाले उनीहरूले तत्काल किरिया गरेनन्।
धेरै ठाउँबाट मृत्युको खबर आधिकारिक रहेको पुष्टि भएपछि भने उनीहरूले मन मारे। गत चैत ५ मा कुशको शव बनाएर दाहसंस्कार गरे।
गंगारामका १५ र पाँच वर्षका दुई छोरा छन्। “अब छोराहरूको भविष्य के होला भन्ने कुराले साह्रै चिन्ता परिरहेको छ,” अनुराधा भन्छिन्।
प्लटिङले बर्बादी
नेपाली सेनाबाट अवकाश पाएपछि काठमाडौंको टोखा नगरपालिका-१ का ४८ वर्षीय शुक्रबहादुर तामाङ फुर्सदिला भए। तब उनले जग्गा प्लटिङ गर्ने चिनजानकै साथीहरूसँग व्यवसायमा साझेदारी गरे। यसका लागि ब्यांकमा घर धितो राखेर लगानी गरे। तर व्यवसायले प्रतिफल दिएन। न जग्गा बिक्यो न त साथीहरूले पैसा फिर्ता गरे। यता ब्यांकले किस्ता तिर्न ताकेता गरिरह्यो।
तनावमा परेका शुक्रबहादुरले तब रोजगारीका लागि कतार जाने भन्दै गत असोज २२ मा परिवारलाई बिदाइको हात हल्लाए। पत्नी बुद्धिमायाका अनुसार पतिले ब्यांकबाट ५० लाख रुपैयाँ ऋण लिएका थिए। त्यही तिर्न सुरक्षा गार्डका रूपमा काम गर्न जाने बताएका थिए। तर केही दिनपछि उनले रूस पुगेको खबर दिए। खासमा उनी काठमाडौंबाट दलालको लहलहैमा लागेर रूस नै हिंडेका रहेछन्।
बुद्धिमायाका अनुसार गत मंसीरसम्म शुक्रबहादुरसँग फोनमा कुराकानी भइरहेकै थियो। शुक्रबहादुर युद्धमा जाने तयारी चलिरहेको सुनाउँथे, बुद्धिमाया भाग्न सल्लाह दिन्थिन्। मंसीर अन्तिम सातादेखि भने उनी सम्पर्कविहीन थिए। पुस ५ मा एकाएक मृत्यु भएको खबर सञ्चारमाध्यममा आयो।
तैपनि शव नभेटिएकाले अलिअलि आश राखी परिवार शुक्रबहादुरको यकीन स्थिति पत्ता लगाइदिन भन्दै सम्बद्ध निकाय धायो। सँगै गएका साथीले नै शुक्रबहादुरको मृत्यु भएको भनेर वैशाख १६ मा सुनाएपछि भने पत्याउन कर लाग्यो। “तैपनि शव नदेखेकाले अझै पनि टुप्लुक्क आइपुग्नुहुन्छ कि भन्ने आश लाग्छ,” बुद्धिमाया भन्छिन्।
यी दम्पतीका २७ वर्षका छोरा र २९ वर्षकी छोरी छन्। ब्यांकले कसेको कस्यै छ। ऋण निखनेर घर जोगाउने उपाय उनीहरूले भेटेका छैनन्। “अब त घर न घाटका पो हुन लाग्यौं,” बुद्धिमाया भन्छिन्।
कोरोनाले व्यवसाय डुबेपछिको बाध्यता
राजकुमार रोका केही वर्षअघिसम्म सफल व्यवसायी थिए। दोलखाको मेलुङ गाउँपालिका-६ मूल थलो रहेका उनको काठमाडौं, धापासीमा फर्निशिङ पसल थियो। सात वर्षअघि खोलेको पसलले राम्रै आम्दानी दिएकाले लगानी बढाउँदै लगेका थिए।
त्यही क्रममा करीब दुई वर्ष चलेको कोभिड-१९ महामारीले चौपट बनाइदियो। सामान बिक्न छाडे। उधारो समेत उठ्न छाड्यो। घाटा बढ्दै गएपछि उनी पसल बन्द गर्न बाध्य भए।
दाजु सुमनका अनुसार पसल बन्द गर्दा राजकुमारको थाप्लामा डेढ करोड रुपैयाँ ऋण थियो। त्यही तिर्न विदेश जाने सोच बनाएका उनले परिवारलाई रूस जाने बताएका थिए। “कस मार्फत कसरी गयो, हामीलाई थाहा छैन, तर ऋणमा डुबेकाले यहाँ बस्ने अवस्था थिएन,” सुमन भन्छन्।
३५ वर्षीय राजकुमार २०८० असोज १४ मा नेपालबाट हिंडेका थिए। कात्तिकमा उनको मृत्यु भएको खबर आइहाल्यो। बीचमा एक पटक परिवारलाई सम्पर्क गरे पनि यकीन कुरा बताएका थिएनन्। “उसको निर्णय राम्रै होला भन्ने सोचेर खासै चासो दिएका थिएनौं, मृत्युको खबर आएपछि मात्रै युद्धमा गएको थाहा भयो,” दाजु सुमन भन्छन्।
राजकुमारका एक छोराले हालै एसईई दिए भने छोरी दुई वर्षकी भइन्। पत्नीलाई दुई सन्तानसँगै करोडभन्दा माथिको ऋणको बोझ थपिएको छ। “हामीले केही सोच्नै सकेका छैनौं, क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं,” सुमन भन्छन्।
पहिले तलब अनि मृत्युको खबर
देवान राईले १२ कक्षा उत्तीर्ण गरेपछि दक्षिण कोरिया जान ईपीएसमा नाम निकालेका थिए। तर कोरोना महामारीले कोरिया लैजाने प्रक्रिया नै रद्द भयो। तब उनी पढ्दै कमाउने भन्दै रूस पुगे।
दाजु आशिकका अनुसार देवान एक वर्षसम्म पनि राम्रो कमाइ नभएको गुनासो गरिरहन्थे। भाषा पढ्नमै धेरै समय खर्चनुपर्ने र काम धेरै गर्न नपाइने भनी सुनाउँथे। १० जना साथीहरूसँग होस्टलमा बस्थे। तिनैमध्येका एक जनाको सम्पर्क रूसी सेनामा पठाउने दलालसँग भएछ। युक्रेनसँग युद्ध चल्दै गर्दा आठ साथी सेनामा जोडिए।
साथीहरू गएको १० दिनपछि २६ वर्षीय देवान पनि रूसी सेनामा गए। “हामीले त्यस्तो लडाइँ चलेको छ, नजा भन्दा बाहिर हल्ला भए जस्तो छैन, चिन्ता गर्नु पर्दैन भन्थ्यो,” दाजु आशिक भन्छन्, “पहिलो महीनाको तलब भनेर तीन लाख रुपैयाँ पठाएको थियो।”
आशिकका अनुसार देवानको मृत्यु असोज २२ मा भए पनि परिवारले मंसीर १ मा मात्र खबर पाएको थियो। “एकाएक सम्पर्कविहीन भएपछि खोज्न हारगुहार गर्दागर्दै मृत्युको खबर आयो,” उनी भन्छन्, “पढ्न गएको मान्छे युद्धमा जाला भन्ने छनकसम्म थिएन।”
पुर्ख्यौली थलो उदयपुर रहेको देवानको परिवार पोखरा बसाइँ सरेको थियो। उनको परिवारमा अब बुबा, आमा र दाइ मात्र छन्। देवान रूस जाँदा लागेको १० लाख सहित अन्य पनि ऋण रहेको र त्यो तिर्न अब आफू पनि विदेशिने तयारीमा रहेको आशिक सुनाउँछन्। भन्छन्, “यसअघि पनि विदेश गएर फर्किएको थिएँ, ऋण तिर्नकै लागि फेरि विदेशिनुपर्ने भो।”
अफगानिस्तानको जागीर छाडेर रूस
स्याङ्जाको पुतलीबजार नगरपालिका-५ का प्रीतम कार्की नेपाली सेनामा सिपाही थिए। त्यहाँ १६ वर्ष बिताएर अवकाश लिएपछि सुरक्षा गार्डका रूपमा काम गर्न थाले। त्यसको ६ वर्षपछि उनले वैदेशिक रोजगारमा जाने योजना बनाए।
संयुक्त राष्ट्रसंघको अफगानिस्तानस्थित कार्यालयको सुरक्षा गार्डका रूपमा छानिए पनि। त्यो जागीरले उनको आर्थिक स्थिति सुधारियो। आम्दानी बढ्दा परिवार खुशी थियो। प्रीतमले महीनाको एक लाख रुपैयाँ घर पठाउने गरेको उनका आफन्त लोक गौतम बताउँछन्।
यसैगरी पाँच वर्ष बित्यो। प्रीतम वेलावेला छुट्टीमा नेपाल आउँथे। पछिल्लो चोटि नेपाल आएकै वेला उनको भेट एक साथीसँग भयो जो रूस जाने तयारीमा थिए। त्यो भेटपछि उनको पनि सोच बदलियो। “कमाइ त अफगानिस्तानमै राम्रो थियो, तर रूसमा ग्रीनकार्ड पाइने र परिवार लैजान मिल्ने भनिएपछि त्यता जानुभएको रहेछ,” लोक भन्छन्।
असोजमा रूस पुगेदेखि नै प्रीतम सम्पर्कविहीन भएपछि परिवार आत्तिइरहेको थियो। रूस गए पनि सेनामै भर्ती भएका र युक्रेनसँगको युद्धमा खटिएका होलान् भन्ने उनीहरूलाई शंकासम्म थिएन। तर गत मंसीर १४ गते उनी युद्धका क्रममा बितेको खबर आयो। “हामीले अझै यो कुरा विश्वास गर्न सकेका छैनौं,” लोक भन्छन्।
प्रीतमको परिवारमा बुबाआमा, श्रीमती तथा ११ र ६ वर्षका दुई छोरा छन्।
ऋणबाट उम्किन युद्धको भुंग्रोमा
नेपाली सेनामा भर्ती भएका इलामको इलाम नगरपालिका-९ का गंगाराज मोक्तानले पाँच वर्षमै जागीर छाडे, २०७२ सालमा। केही वर्ष बेरोजगार भएर गाउँमै बिताए। २०७६ सालमा रोजगारका लागि दुबई पुगे। तर त्यहाँ भने जस्तो कमाइ नभएपछि त्यतैबाट माल्टा जाने तयारी थाले।
यसकै लागि दलाललाई ६ लाख रुपैयाँ बुझाइसकेका थिए। दलालले झुलाइरहेको थियो। त्यही वेला उनको भेट रूस पठाउने दलालसँग भयो। उसलाई सात लाख रुपैयाँ बुझाए। असोज दोस्रो साता रूस उड्नुअघि गंगाराजले पत्नी याङ्किलालाई भनेका थिए, “साथीहरू धमाधम गइरहेका छन्। त्यहाँ कमाइ हुन्छ रे, म पनि जान्छु।”
याङ्किलाका अनुसार उनले पतिलाई युद्धमा होमिएको देशको सेनामा नजान आग्रह गरेकी थिइन्। तर गंगाराज ‘ऋणमा डुबिसकियो, उक्सिनका लागि जोखिम मोल्नुपर्छ’ भनेर रूस उडेका थिए।
त्यसपछि १५ दिनसम्म उनीहरूबीच सामाजिक सञ्जाल इमो र टेलिग्राममा नियमित सम्पर्क भयो। अर्को कुराकानी भने एकै चोटि कात्तिक २६ मा लक्ष्मीपूजाका दिन भएको थियो। याङ्किलाका अनुसार त्यति वेला उनले आफू युद्धग्रस्त क्षेत्रमा एक साता बसेको र आरामका लागि दुई दिनको समय लिएको बताएका थिए।
कात्तिक २८ मा गंगाराज अनलाइन देखिए पनि ‘कल’ आएन। एकै पल्ट मंसीर १८ मा रूसस्थित नेपाली दूतावासबाट गंगाराज बितेको फोन आयो। “कात्तिक २९ गते भाइटीकाकै दिन घटना भएको रहेछ, हामीलाई पछि मात्र खबर आयो,” याङ्किला भन्छिन्।
शुरूमा शव झिकाइदिन अड्डी कसेको परिवारले शव नआउने बुझेपछि पुसको पहिलो साता काजकिरिया गर्यो। गंगाराजका सात वर्षका छोरा छन्। परिवार अझै शोकबाट निस्किन सकेको छैन। अर्कातिर पतिले रूस र माल्टा जान लगाएको १५ लाख रुपैयाँभन्दा बढीको ऋणको भारीले थिचिएकी छन्, याङ्किला।
विरक्तिएर दुबई हुँदै रूस
स्याङ्जाको वालिङ नगरपालिका-१४, मान्खुका हरिप्रसाद अर्याल १८ वर्षकै उमेरमा नेपाली सेनामा भर्ती भएका थिए, सैनिक जवान पदमा। कक्षा १२ उत्तीर्ण गरेका उनले सहजै बढुवा हुने सम्भावना देखेनन्। तलब पनि आकर्षक लागेन। त्यसैले जागीर छाडेर विदेश जाने योजना बुन्न थाले।
दुई दाजु कमल र राजु पहिल्यैदेखि दुबईमा काम गर्थे। बुबा पूर्व भारतीय सैनिक थिए।
वालिङ-१४ का वडाध्यक्ष राजु कुँवरका अनुसार हरिप्रसादले दक्षिण कोरिया जान भाषा सिके। परीक्षा पनि दिए, तर नाम निस्किएन। ओमन प्रहरी र कुवेतमा समेत आवेदन दिए। त्यता पनि विफल भएपछि विरक्तिएका थिए।
यही क्रममा उनी कात्तिक ३ मा रूस पुगेका थिए। दुबई हुँदै गएका उनी मंसीर १९ सम्म परिवारकै सम्पर्कमा थिए। त्यसपछि भने फोन आएन। पुस १७ मा एकै पटक मृत्युको खबर आयो। परराष्ट्र मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको थियो।
कोरोनाले जागीर खोसेपछि
धादिङको धुनिबेसी नगरपालिकाका राजकुमार गिरीले जीविकाका निम्ति के मात्र गरेनन्? नौबिसेमै खाजा पसल खोले। सुरक्षा गार्डका रूपमा काम गरे। खाडीमा पसिना बगाए। उनी १३ वर्षअघि पहिलो पटक रोजगारीका लागि कुवेत गएका थिए।
कोभिड-१९ महामारीले त्यो जागीर खोसेपछि फर्किएर केही समय चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा सुरक्षा गार्ड बने। डेढ वर्षअघि सुरक्षा गार्डकै काममा दुबई गए।
पत्नी शर्मिलाका अनुसार राजकुमार दुबईबाटै दलाललाई आठ लाख रुपैयाँ बुझाएर २०८० भदौ १६ मा रूस पुगेका थिए। रूसका तर्फबाट युद्धमा खटिएकै वेला गत मंसीर १६ मा उनको मृत्यु भएको खबर आयो। तैपनि शव नआएकाले परिवारलाई झिनो आश थियो।
परराष्ट्र मन्त्रालयले झन्डै एक महीनापछि राजकुमारको मृत्यु भएको पुष्टि गरेपछि भने उनीहरूले काजकिरिया गरे। “ज्यानको बाजी राखेर युद्धमा नजान भनेका थियौं, तर खतरा नमोली जीवन चल्दैन भनेर जानुभएको थियो,” शर्मिला भन्छिन्।
अधुरै रह्यो घर
दार्चुलाको महाकाली नगरपालिका-२ का ३६ वर्षीय कुन्दनसिंह नागाल पाँच वर्षअघिसम्म सशस्त्र प्रहरीका सहायक हवल्दार थिए। त्यसपछि त्यो जागीर छाडेर दुबईको प्रहरीमा भर्ती भए। कारण थियो- तुलनात्मक रूपमा आकर्षक कमाइ।
दुबईमा तीन वर्ष बिताइसकेका थिए, अचानक कोभिड-१९ फैलियो। विश्वव्यापी महामारीका वेला परिवारसँगै बस्ने भनी उनी नेपाल आए। तर त्यसपछि दुबई गएनन्। बरु गाउँबाट महेन्द्रनगरमा बसाइँ सरे। जागीरबाट कमाएको रकममा ऋण थपेर घर बनाउँदै थिए।
पत्नी प्रतीक्षाका अनुसार घर बनिनसक्दै कुन्दन रूस जाने योजना बनाउन थाले। ३० लाख रुपैयाँ ऋणमा रहेका उनी थप १० लाख रुपैयाँ ऋण गरेर असोज ९ मा उडी पनि हाले। “कात्तिक २१ मा अब म रेडजोनमा जान लागें, बाँचिन्छ कि मरिन्छ थाहा छैन भनेर फोन गर्नुभएको थियो,” प्रतीक्षा सम्झन्छिन्, “भोलि पल्टै घाइते भएको खबर आयो, तर सम्पर्क गर्न सकिएन।”
यत्तिकैमा पुस ४ गते कुन्दनको मृत्यु भएको खबर आयो। हल्ला होला भन्ने ठानेकी प्रतीक्षा परराष्ट्र मन्त्रालयकै विज्ञप्ति देखेपछि भने खंग्रङ्ङ भइन्।
घर अझै अधुरै छ। ऋण फर्काउन पटक पटक ताकेता आइसक्यो। ९ र १४ वर्षीय छोराकी एक्ली सहारा प्रतीक्षा ऋण र शोकको चेपुवामा छिन्। “के गर्ने हो, सोच्नै सकेकी छैन,” उनी भन्छिन्।
ऋण काढेर कतारबाट रूस
प्यूठान नगरपालिका-४, काठेबरका सोमेश सुनार तीन वर्षअघि रोजगार खोज्दै कतार पुगेका थिए। त्यहीं रूस पठाउने दलालसँग सम्पर्क भयो। उसैको प्रलोभनमा परी रूस जान तयार भएका उनले परिवारलाई साढे पाँच लाख रुपैयाँ पठाइदिन भने।
पत्नी विष्णुमायाका अनुसार सोमेशले गत मंसीर २३ मा फोन गरेर युद्धमा जान लागेको जानकारी गराएका थिए। त्यसपछि केही दिन सम्पर्क हुन पाएन। जब सम्पर्क भयो, त्यही संवाद अन्तिम हुन पुग्यो।
उनले आफूहरूलाई युक्रेनसँग युद्ध भइरहेको क्षेत्रमा लैजान लागिएको बताएका थिए। त्यसपछि परिवारको काम नै सोमेशको स्थिति बुझिदिन परराष्ट्र मन्त्रालय गुहार्ने भयो।
विष्णुमायाका अनुसार पुसको दोस्रो साता सोमेशको मृत्यु भएको खबर आयो। पतिको मृत्यु कसरी र कहिले भयो, उनलाई थाहा छैन। भन्छिन्, “उहाँ कसरी त्यस्तो ठाउँ जान तयार हुनुभयो, थाहा पाउन सकेका छैनौं।”
सोमेशका बुबा कालबहादुर र भाइ अनुज भारतमा रोजगारी गर्छन्।
शव पर्खिरहेको परिवार
महोत्तरीको सोनमा गाउँपालिकाका अनित साहले ओभरसीयर गरेपछि भने जस्तो रोजगार पाइरहेका थिएनन्। त्यसैले गाउँमै बुबाले चलाउँदै आएको मेडिकल स्टोरमा सघाउँथे। यत्तिकैमा रूसमा इन्जिनीयरिङ पढ्न सहज हुने सुनेपछि दुई वर्षअघि ६ लाख रुपैयाँ खर्चिएर उतै लागे।
पढाइ राम्रै चलिरहेको थियो। तर रूस पुगेको पाँच महीनामै २३ वर्षीय अनितले आफू साथीहरूसँग रूसी सेनामा भर्ती भएको परिवारलाई सुनाए। परिवारले उनलाई गाली गर्दै तत्काल त्यो काम छाडिहाल्न सुझायो।
उनले उल्टै सेनामै भविष्य राम्रो हुने र भर्ना भइसकेपछि फर्कन नमिल्ने भन्दै सम्झाउन खोजे। आफन्त सरोज नायकका अनुसार अनित कसरी र को मार्फत सेनामा गए भन्ने थाहा छैन। “जानुअघि घरमा सल्लाह गरेको भए हामी जान दिन्नथ्यौं,” उनी भन्छन्।
त्यो फोनपछि अनितसँग परिवारको सम्पर्क भएन। पाँच महीनाअघि एकै चोटि मृत्युको खबर आयो। सरोजका अनुसार शव नआएकाले काजकिरिया गरिएको छैन। “रूसी दूतावासले अस्तु पठाइदिने भनेकाले कुरिरहेका छौं,” सरोज भन्छन्।
रूस पुगेदेखि नै सम्पर्कविहीन
रोल्पाको त्रिवेणी गाउँपालिका-७ का ४५ वर्षीय घनसिंह पुन दाङमा मोबाइल पसल चलाउँथे। त्यसको आम्दानीले परिवार धान्न सकस परेको थियो। दुई वर्ष दुबई बसेर आए पनि आर्थिक स्थिति सुध्रिएको थिएन। त्यसैले यूरोपेली देश छिर्न दलाल खोज्दै थिए। यस्तैमा रूस पठाइदिने दलाल भेटे।
घनसिंहका आफन्त तुलसीप्रसाद पुनका अनुसार उनी पहिल्यै ११ लाख रुपैयाँको ऋणमा थिए। त्यही तिर्न भनी दलाललाई १३ लाख रुपैयाँ बुझाएर दिल्ली हुँदै मंसीर अन्तिमतिर रूस पुगे। “गएदेखि नै सम्पर्कविहीन थियो, फागुन ११ मा मृत्यु भएको खबर आयो,” तुलसीप्रसाद भन्छन्। घनसिंहका पत्नी, दुई छोरा र एक छोरी छन्।
ल्याब टेक्निसियन पढ्न गएका छोरा सैन्य पोशाकमा
काठमाडौंमा फार्मेसी चलाउँदै आएका गोरखाका सन्दीप थपलिया २०७९ सालमा ल्याब टेक्निसियन विषय पढ्न रूस पुगेका थिए। एक वर्षमै उनी रूसी सेनामा गए। परिवारलाई पछि मात्र खबर दिए।
दिदी शान्ताका अनुसार २०८० जेठ २४ सम्म उनी परिवारको सम्पर्कमै थिए। त्यसपछि भने बेपत्ता भए। अर्को खबर एकै पटक कात्तिकमा आयो- उनको मृत्युको।
परराष्ट्र मन्त्रालयले नै पुष्टि गरेपछि परिवारलाई पत्याउन कर लाग्यो। यसबीचका पाँच महीना परिवारले उनको खोजबिन गरिदिन मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासमा गुहार लगाएको थियो।
कोभिड-१९ महामारीका वेला सन्दीपले टेकुस्थित सरकारी प्रयोगशालामा काम गरेका थिए। करार सकिएपछि कामको खोजीमा भौंतारिंदै उनी रूस पुगेको दिदी शान्ता सुनाउँछिन्। “एकाएक सेनाको पोशाक लगाएको फोटो पठायो,” उनी भन्छिन्, “उसले यस्तो निर्णय किन लियो, बुझ्न सकेका छैनौं।”
(सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)
यो पनि पढ्नुहोस् :