धम्पुसमा फुरुङ्ङ राजदूत, सेलरोटी र गुन्द्रुक चाख्दा मक्ख
अन्नपूर्ण दिवसको छेको पारेर पोखरा आइपुगेका विभिन्न देशका राजदूत धम्पुसको पदयात्रामा रमाए भने बाटोमा सेलरोटी र गुन्द्रुक चाख्दा मक्ख देखिन्थे।
नेपालका लागि थाइल्यान्डका राजदूत सुआपोङ सिरिसर्न पहिलो पटक पोखरा आइपुगे, जेठ २० मा। एक वर्षअघि नै राजदूतका रूपमा नेपाल आएका सिरिसर्नलाई बल्ल पोखरा घुम्ने अवसर जुर्यो। श्रीमती रुंगमानी सिरिसर्नसँगै पोखरा आइपुगेका उनी प्रफुल्ल थिए। उनले भने, “पोखरा साँच्चिकै सुन्दर रहेछ।”
अन्नपूर्ण दिवसको छेको पारेर सिरिसर्न सहित विभिन्न देशका राजदूत, कूटनीतिज्ञ पोखरा आइपुगेका हुन्। पर्यटन व्यवसायीसँगै उनीहरू पनि पोखरादेखि धम्पुससम्म गाडीमा हुइँकिए।
त्यसपछि दुई घण्टाको छोटो पदयात्रामा निस्किए। धम्पुसबाट धिताल हुँदै अस्तामसम्म आइपुग्दा प्रसन्न देखिन्थे।
थाइल्यान्डका राजदूत सुआपोङ सिरिसर्न।
छोटो पदयात्रा गरेका राजदूत सिरिसर्न मक्ख थिए। जंगलको बाटोमा जुका पन्छाउँदै, चौतारीमा थकाइ मेट्दै, गाउँलेसँग भलाकुसारी गर्दै रमाइरहेका उनले भने, “अघिल्लो महीना नै पोखरा घुम्ने योजना बनाएको थिएँ, तर मिलेन। यस पटक घुम्न पाउँदा खुशी लागेको छ।” उनले नेपालको हावापानी, खोलानाला र प्राकृतिक सौन्दर्यको वर्णन गरे।
फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लाचनेलले ३ जून १९५० मा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए। उनीहरूले अन्नपूर्णको चुचुरोमा टेकेको दिनको सम्झनामा हरेक वर्ष अन्नपूर्ण दिवस मनाइँदै आएको छ।
यही अवसरमा ट्रेकिङ एशोसिएशन अफ नेपाल, गण्डकी र नेपाल पर्वतारोहण संघ, गण्डकीको सहाकार्य तथा परराष्ट्र मन्त्रालय, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा पर्यटन बोर्ड, गण्डकीले तीन दिन अन्नपूर्ण दिवस मनाउँदै छ। पहिलो दिन पोखरामा पाँच देशका राजदूत तथा विभिन्न दातृ संस्थाका प्रमुख, पर्वतारोहीको सहभागितामा धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरिएको हो।
श्रीलंकाका राजदूत सुदर्शन पाथीराना।
पदयात्रीको यही समूहमा थिए, श्रीलंकाका राजदूत सुदर्शन पाथीराना। श्रीमतीसँगै पदयात्रा गरेका पाथीराना पनि प्रफुल्ल देखिन्थे। कहिले जुत्तामा लागेका जुका फ्याँक्दै त कहिले चौतारामा थकाइ मार्दै दुई घण्टे यात्रा पूरा गरेर पाथीराना दम्पतीले।
धम्पुस गाउँमा नौमती बाजाको धुनले विशिष्ट पाहुनाको स्वागत गरिएको थियो। ह्याङजाकोटमा गाउँलेले फूलमाला लगाइदिंदै सेलरोटी र गुन्द्रुक अचारले स्वागत सत्कार गरे। विशिष्ट पाहुनाले गाउँको सेलरोटी र गुन्द्रुक अचारको स्वाद लिए।
.JPG)
नेपालका लागि बेलायती राजदूत रोब फेन पटक पटक पोखरा आइपुगेका छन्। यस पटक पोखरामाथिको डाँडा पुगेर पदयात्रा गर्न पाउँदा फुरुङ्ङ थिए। कति वेला गाउँका गोठ, घरका तस्वीर मोबाइलमा कैद गरिरहन्थे त कति वेला सेल्फी लिइरहेका भेटिन्थे।
पदयात्राका क्रममा धम्पुससँगै पोखराको सौन्दर्यले लोभ्याएको उनले सुनाए। “यो साँच्चिकै अद्भुत अनुभव रह्यो,” राजदूत फेनले भने।
बेलायती राजदूत रोब फेन।
बेलायती नागरिकलाई हिमाल आरोहणका लागि यस क्षेत्रले नै प्रेरणा दिएको उनको भनाइ थियो। “हामी बेलायती नागरिकका लागि पोखरा हिमालय प्रस्थानको बिन्दु हो,” राजदूत फेनले भने, “यस क्षेत्रका पर्वत र पर्वतारोहणले बेलायती नागरिकलाई पर्वतारोहणका लागि प्रेरणा दिएका छन्।”
नेपालीका लागि इजरायलका राजदूत हनान गोदेल गोल्बर्जरले पनि प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। नेपाल प्राकृतिक सौन्दर्यको खजाना भएको गोल्बर्जरको भनाइ थियो। नेपालको विकासका लागि पर्यटन उद्योग अत्यन्तै महत्त्वपूर्ण रहेको उनको ठम्याइ थियो।
.JPG)
त्यस्तै, नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसैन हस्मी, दक्षिणएशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव गोलाम सारवार, नेपालका लागि भारतका डेपुटी चिफ मिशन प्रसन्ना श्रीवास्तव पनि पदयात्रामा थिए। अन्नपूर्ण दिवसकै लागि पोखरा आइपुगेका उनीहरू धम्पुसका डाँडाकाँडा शयर गर्दा प्रसन्न देखिन्थे।
परराष्ट्रसचिव सेवा लम्साल, यूएनडीपीकी नेपाल प्रमुख अयाशनी मेडागनगोडा ल्याबे, यूएसएडकी डेपुटी डिरेक्टर जुडिथ अलमाडोभर, यूएनएफपीएका बसीर नजिब पनि पदयात्रामा रमाए।
.JPG)
पाहुनासँगै पदयात्रा गर्दा पर्वतारोही लाक्पा डेन्डी शेर्पा र दाबा योङजोम शेर्पा पनि खुशी थिए। विशिष्ट पाहुनासँगकाे पदयात्रा रमाइलो भएको उनीहरूले सुनाए।
यूएनडीपीकी प्रमुख ल्याबेले नेपालले प्राकृतिक सौन्दर्यको संरक्षण गरेर त्यसै सुहाउँदो पर्यटन गतिविधि गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “नेपालको विशेषता भनेकै यसको ‘सिम्प्लिसिटी’ हो। यसलाई नेपालले बचाउनुपर्छ।”
यूएनडीपीकी नेपाल प्रमुख अयाशनी मेडागनगोडा ल्याबे।
केही दिनयता पोखरामा चर्को घाम लाग्दै आएको छ, गर्मी पनि बढेको छ। आज भने बादल लाग्दा पोखरा शीतल बनेको थियो। बादलले अन्नपूर्ण हिमशृंखलालाई ढपक्कै छेकिदिएको थियो।
हिमाल त हेर्न पाउनुभएन नि भन्ने जिज्ञासामा नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथीरानाले भने, “यसको अर्थ अर्को पटकका लागि आउन निम्तो हो नि!”
श्रीलंका र थाइल्यान्डका राजदूत दम्पती।
.JPG)
.JPG)
.JPG)