ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवामा नखटाउन अन्तरिम आदेश
ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवक ट्राफिक बनाएर सडकमा खटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
यससँगै रिटको अन्तिम फैसला नहुँदासम्म सरकारको निर्णय कार्यान्वयनमा रोक लागेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो।
गृहमन्त्री रवि लामिछानेको निर्देशनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवक बनाएर सडकमा खटाउन थालेको थियो। यस विरुद्ध जेठ १८ गते कृष्ण विक सहित सात जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।
ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना हुने कानूनी व्यवस्था छ। कानूनमा स्वयंसेवकका रूपमा खटाउने बन्दोबस्त नभएको र सडकमा खटाउँदा व्यक्तिको गोपनीयता हनन हुने भएकाले सरकारको निर्णय खारेज गर्न रिटमा माग गरिएको छ।