लोसपाले ठाकुरलाई दियो मधेश सरकारबारे निर्णय गर्ने जिम्मा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेश सरकारको विषयमा आवश्यक निर्णय लिने जिम्मेवारी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।
लोसपाको पदाधिकारी बैठकले मधेश प्रदेशमा सरकार निर्माण र विश्वासको मत विषयमा आवश्यक निर्णय लिन अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिने निर्णय गरेको लोसपा प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बताए।
“नयाँ सरकार निर्माण हुने अवस्थामा पार्टीले कस्तो भूमिका खेल्ने र अहिलेको सरकारले प्रदेश सभामा विश्वासको मत लिंदा कस्तो भूमिका खेल्ने भन्ने निर्णय हुन्छ,” सोनलले भने, “अध्यक्षजीले समय अनुसार निर्णय गर्नुहुनेछ।”
लोसपाले अहिले नै कुनै निर्णय गरेर जानुको साटो परिस्थिति हेरेर उचित निर्णय लिने उनको भनाइ छ। लोसपा अहिले विपक्षी गठबन्धनमा छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजप्रसाद यादवले जेठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी नयाँ सरकार गठनको प्रयासमा छन्।