सिक्किममा चल्यो प्रेमसिंह तामाङको जादू, ३२ मध्ये ३१ सीटमा एसकेएम विजयी
मुख्यमन्त्री प्रेमसिंह तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले सिक्किममा अत्यधिक बहुमत प्राप्त गरेको छ।
सिक्किम विधान सभाको आइतबार सम्पन्न मतगणना परिणाम अनुसार मोर्चाले ३२ मध्ये ३१ सीट जितेको छ। सन् २०१९ मा भएको निर्वाचनमा मोर्चाले १७ सीट जितेको थियो। ३२ सदस्यीय विधान सभामा सरकार गठनका लागि १७ सीट आवश्यक पर्छ।
यस पटकको निर्वाचनमा भने मोर्चाले पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टलाई नराम्ररी पराजित गरेको हो। गत निर्वाचनमा १५ सीट जितेको फ्रन्ट यस पटक भने एक सीटमा खुम्चिएको छ।
पूर्व मुख्यमन्त्री चाम्लिङ पनि पराजित भएका छन्। चाम्लिङ मोर्चाका भोजराज राईसँग तीन हजार ६३ मतले पराजित भएका छन्। राईले आठ हजार ३७ मत पाउँदा चाम्लिङले चार हजार ९७४ मत पाए। तेस्रो स्थानमा रहँदै भारतीय जनता पार्टीका अर्जुन राईले ७३९ मत मात्रै पाए।
चाम्लिङ दोस्रो निर्वाचन क्षेत्रबाट पनि पराजित भएका छन्। मोर्चाका राजु बस्नेत सात हजार १९५ मत पाएर निर्वाचित भएका छन् भने चाम्लिङले चार हजार ९३९ मत मात्रै पाए। चाम्लिङ २५ वर्ष सिक्किमको मुख्यमन्त्री भएका थिए।
त्यस्तै, मुख्यमन्त्री तामाङ दुई क्षेत्रबाट निर्वाचित भएका छन्। रेनोक क्षेत्रमा उनले फ्रन्टका सोमनाथ पौडेललाई सात हजार ४४ मतले पराजित गरेका हुन्। अर्को, सोरेङ-चाकुङ क्षेत्रमा पनि फ्रन्टका उम्मेदवार डा. एडी सुब्बालाई सात हजार ३९६ मतले पराजित गरेका छन्। उनले १० हजार ४८० मत पाए भने सुब्बाले तीन हजार ८४ मत पाए।
तामाङ पूर्व मुख्यमन्त्री चाम्लिङका निकट थिए। चाम्लिङले पार्टी स्थापना गर्दा पनि तामाङ पनि संस्थापक सदस्य थिए।
सन् २०१३ मा उनले चाम्लिङसँग विद्रोह गरेर नयाँ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा खोलेका थिए। सन् २०१४ मा भएको चुनावमा मोर्चाले १० सीट जितेको थियो। त्यति वेला चाम्लिङकै पार्टीले २२ सीट जितेको थियो।
त्यसपछि तामाङ जेल जानुपरेको थियो। सन् १९९४ देखि १९९९ को अवधिमा उनीमाथि भ्रष्टाचारको आरोप लागेको थियो। त्यसमा उनलाई जेल सजाय भएको थियो।
दोषी ठहर भएपछि उनको विधान सभा सदस्य पद पनि गुमेको थियो। सन् २०१६ देखि दुई वर्ष जेल बसेका थिए। उनी सन् २०१८ मा जेल मुक्त भएका थिए।
त्यसपछि सन् २०१९ मा भएको निर्वाचनमा उनको पार्टीले बहुमत प्राप्त गरेको थियो। उनी मुख्यमन्त्री बनेका थिए। अहिले फेरि उनको पार्टीले अत्यधिक बहुमत हासिल गरेको छ।