स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप
दाङको घोराहीमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप भएको छ भने दुई जना घाइते भएका छन्।
सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएपछि आइतबार बिहान गुठीपीडितले घोराहीस्थित मालपोत र नापी कार्यालयमा तालाबन्दी गरेका थिए। त्यही क्रममा प्रहरी र पीडितबीच झडप भएको हो।
झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। यससँगै १३ सेल अश्रुग्यास प्रहार गरेको छ। स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
झडपमा पीडित र प्रहरी गरी १५ जना घाइते भएका छन्। संघर्ष समितिका सचिव प्रविन दिहत थारूका अनुसार सुशिल चौधरी, रुपनारायण चौधरी, फूलमान चौधरी, महेन्द्र चौधरी, तुलसी चौधरी, गंगावती चौधरी र सुनिता चौधरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको संघर्ष समितिका सचिव थारूले बताए।
त्यस्तै, झडपमा आठ जना सुरक्षाकर्मी पनि घाइते भएको नापी कार्यालयमा खटिएका घोराही नगर प्रहरी प्रमुख रामप्रसाद पाण्डेले बताए। उनका अनुसार, प्रहरी नायव निरीक्षकद्वय खिम केसी र रामप्रसाद पराजुली, प्रहरी हवल्दारद्वय रामबहादुर लोहार र खिमबहादुर जीसी तथा प्रहरी जवानहरू धनबहादुर केसी, रोशन चौधरी, सागर चौधरी र फत्तेसिह चौधरी घाइते भएका छन्।
गत महीना सरकारसँग भएका दुई सम्झौता कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिका सचिव थारूले बताए। उनीहरूले गुठी जग्गालाई रैकर कायम गर्न र मोही अधिकार सुनिश्चित गर्न माग गर्दै आएका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए।
गुठीपीडितको आन्दोलनका कारण कामकाज गर्न नसकिएको नापी कार्यालयका प्रमुख पुरण चौधरीले बताए। नापी कार्यालय अगाडि पीडितहरूले प्रदर्शन गरिरहेका छन्।
यो पनि पढ्नुहोस् : सधैं भूमिहीन स्वर्गद्वारीका मोही