टी-२० विश्वकपको पहिलो खेलमा घरेलु टोलीको प्रभावशाली जित
आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले प्रभावशाली जित हासिल गरेको छ।
डल्लासमा आइतबार बिहान भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको छ। क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
अमेरिकाका लागि आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा चार चौका र १० छक्का प्रहार गर्दै ९४ रन बनाए।
त्यस्तै, एन्ड्रिस गसले अर्धशतक प्रहार गरे। उनले ४६ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६५ रन बनाए। यसैगरी, कप्तान मोनांक पटेलले १६ र कोरी एन्डर्सनले तीन रन बनाए।
क्यानडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले एक-एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पाँच विकेटको क्षतिमा १९४ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धालिवालले ६१, निकोलस किर्टोनले ५१, श्रेयस मोवाले ३२, आरोन जोनसनले २३ र दिलप्रीत बज्वाले ११ रन बनाए।
अमेरिकाका लागि अली खान, हरमीत सिंह र कोरी एन्डरसनले एक-एक विकेट लिए। यो जितसँगै अमेरिकाले दुई अंक जोडेको छ।
आजै अर्को खेलमा नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिज र पपुवा न्यूगिनी प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेलका रूपमा मंगलबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।