यार्सागुम्बा संकलन गर्न गएका तीन जनाको लेक लागेर मृत्यु
शनिबारयता मात्र यार्सागुम्बा संकलन गर्न गएका मुगुका तीन जनाको मृत्यु भएको छ।
लेक लागेर सिकिस्त भएका २० वर्षीय देवराज बुढालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार उनको मृत्यु भएको हो। मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार मुगु स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदै गर्दा छायानाथ रारा नगरपालिका-१०, तल्लेख गाउँका बुढाको बाटैमा ज्यान गएको हो।
सोही ठाउँका जीवन बुढा सिकिस्त बिरामी छन्। स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार भइरहेको छ।
शनिबारै मुगु पाटनको ठूलो काइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका-१२, शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको थियो।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगूम कार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो।