गाजामा भइरहेको नरसंहार विरुद्ध माइतीघरमा प्रदर्शन (तस्वीरहरू)
इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहार विरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
नागरिक अगुवा, अधिकारकर्मी, लेखक, साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका युवाले शनिबार साँझ माइतीघरमा प्रदर्शन गरेका हुन्। फोटो सर्कल, हातेमालो, नेप्लिज फर प्यालेस्टिनियन र डिकोलोनियल सोलिडारिटी नेटवर्क नेपालको आयोजनामा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागी लेखक सञ्जीव उप्रेतीले नेपाल र नेपालीले विना संकोच मानव अधिकारको पक्षमा उभिन ढिलो भइसकेको बताए। “गाजामा भइरहेको नरसंहार र हमासको आक्रमणलाई छुट्याएर हेर्नुपर्छ, इजरायलको पक्षमा उभिनु हुँदैन,” उप्रेतीले भने, “दुवै घटना गलत हुन्, दुवैको विरोध गर्नुपर्छ।”
त्यस्तै, डा. महेश मास्केले इजरायलले युद्धको सीमा नाघिसकेकाले नेपालीले प्यालेस्टिनीको पक्षमा उभिनुपर्ने बताए। “इजरायलले महिला, बालबालिका तथा समग्र प्यालेस्टिनी नागरिकमाथि गरिरहेको नरसंहारको विरुद्ध आवाज उठाउन जरुरी छ,” मास्केले भने।
नेपालले पश्चिमा मिडियाको आँखाबाट हेर्न नहुने प्रदर्शनमा सहभागीको भनाइ थियो। कवि उज्वला महर्जनले दक्षिणएशियाकै नागरिक एकताबद्ध भएर इजरायलले गरिरहेको नरसंहार विरुद्ध बोल्ने वेला आएको बताइन्। “हामी लामो समयदेखि पश्चिमा मिडियाको आँखाबाट संसार हेरेर बसिरहेका छौं, अब अबेर भइसकेको छ,” उनले भनिन्।
नारीवादी अनुसन्धाता दीक्षा खड्कीले इजरायलले गरिरहेको नरसंहार नजीर बनेर अन्य मुलुकका लागि पनि संकट बन्न सक्नेतर्फ सचेत गराइन्। त्यसैले इजरायलले गरिरहेको नरसंहारको विरोध गर्दै नेपाल प्यालेस्टाइनको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो।
प्रदर्शनमा सहभागी अधिकारकर्मी सुशील प्याकुरेलले नेपाल र नेपालीले कुनै पनि समस्याको शान्तिपूर्ण तरीकाले समाधान होस् भन्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरे। इजरायलले गरिरहेको नरसंहार विरुद्ध उभिुनपर्ने बताउँदै उनले भने, “अब नेपाल सरकारले आफ्नो कुरा बाहिर ल्याउन जरुरी छ। इजरायली नरसंहार विरुद्ध नेपाल सरकार मौन बस्नु हुँदैन।”
आठ महीनादेखि इजरायलले प्यालेस्टाइनमाथि हमला गरिरहेको छ। इजरायली नरसंहारमा ३६ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
अहिले इजरायलले गाजापट्टीको रफाह शहरमा आक्रमण गरेको छ। पछिल्लो २४ घण्टामा १०० जनाभन्दा बढीको ज्यान गएको अल जजीराले उल्लेख गरेको छ। इजरायली नरसंहारमा परी ज्यान गुमाउने अधिकांश बालबालिका, महिला र ज्येष्ठ नागरिक छन्।
प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाउँदै गरिएको प्रदर्शनमा इजरायली नरसंहार रोक्न, स्वतन्त्र प्यालेस्टाइनको पक्षमा उभिन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पक्राउ गर्न माग गरिएको छ। उनीहरूले नेपाल सरकारलाई पनि प्यालेस्टाइनको पक्षमा उभिन आग्रह गरेका छन्।