ओलीको प्रश्न- यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन्।
संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा सत्तारूढ दलसँग छलफल नगरिएको बताए। उनले बजेटमाथि खुलेर छलफल गर्न आफ्ना सांसदलाई निर्देशन दिए।
सत्तारूढ दलसँग छलफल नगरिएकाले यो बजेट माओवादी पार्टीको जस्तो देखिएको टिप्पणी गरे। “यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो,” अध्यक्ष ओलीले भने, “छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि? जस्तो बढ्ता देखिन गएको छ।”
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा एमाले पनि सहभागी छ। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका थिए।
त्यस्तै, बजेट माओवादीतिर ढल्किएको पनि ओलीको भनाइ थियो। “रकमको बाँडफाँड पनि त्यसैगरी एकातिर ढल्किए जस्तो देखिन्छ,” ओलीले भने, “यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन्।”
यससँगै बजेटले सही बाटो समात्न नसकेको पनि ओलीको टिप्पणी छ। “हामीले समाजवाद निर्माणको बाटो लिएका छौं। त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनुपर्थ्यो,” उनले भने, “अलि अन्योलग्रस्त देखिन्छ।”
उनले बजेटमाथिको छलफलमा आफ्नो कुरा खुलेर राख्न सांसदलाई निर्देशन दिए। बजेटमा भएका सकारात्मकसँगै कमीकमजोरी र कुन मन्त्रालयमा कस्तो विनियोजन भयो भनेर हेर्न पनि आफ्ना सांसदलाई सुझाएका छन्।