यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ।
दार्चुलाका अपिहिमाल गाउँपालिका-३, राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।
उनी शुक्रबार अपिहिमाल गाउँपालिका-३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्दै थिए। यार्सा खोज्ने क्रममै साँझ भीरबाट लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।
यो समयमा हिमाली जिल्लाका बासिन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा खोज्न हिमालतिर लाग्ने गरेका छन्। विशेष गरेर दार्चुला, बझाङ, डोल्पा, मुगु लगायत जिल्लाका बासिन्दा यार्सागुम्बा खोज्ने जाने गरेका छन्।
हिमाली भीरपाखामा यार्सागुम्बा खोज्ने क्रममा लडेर ज्यान जाने गरेको छ। कैयौं घाइते हुने गरेका छन्।