किनारमै डुबिरहेको रेशमको किस्ती
रेशम चौधरी जेलमा छँदा गठन भएको नागरिक उन्मुक्ति पार्टी उनी रिहा भएपछि झन् बलियो र देशव्यापी बन्नुको सट्टा आन्तरिक विवादले तहसनहसको बाटोमा छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी जेलबाट उन्मुक्त भएको ठ्याक्कै एक वर्ष पुग्यो। रिहा भएको वर्ष दिन पुगेको अवसरमा नाउपाले कैलालीको टीकापुरस्थित कार्यालयमा शुभकामना साटासाट पनि गर्यो। टीकापुर घटनामा अदालतले दोषी ठहर्याएका उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि २०८० जेठ १५ मा रिहा भएका थिए।
रेशमको रिहाइको केही समयपछि उनीप्रति शुभेच्छा राख्ने पूर्व राजदूत विजय कर्णलाई सोधेको थिएँ- अब रेशमको नागरिक उन्मुक्ति पार्टीले लगाउला त छलाङ?
डा. कर्णले भनेका थिए- खोइ, केटाले केही गर्ला जस्तो छाँटकाँट ल्याएन है। न कसैसँग सरसल्लाह छ न त भलाकुसारी। बरु ‘पावर शेयरिङ’ मा श्रीमतीसँग खटपट सुन्छु। जेलबाट छुटेको वर्ष दिनमै पार्टीलाई उकास्ने होइन, डुबाउने छाँट पो देख्दै छु।
केही समयअघि पनि डा. कर्णसँग साक्षात्कार भयो। उनले भने- मैले त रेशमलाई आफ्नो पार्टी बिगार्न वर्ष दिन लाग्ला कि भनेर अनुमान गरेको थिएँ। कति चाँडै तहसनहस पो पारेछ। यति चाँडै त मधेशवादी पार्टीमा पनि फूट देखिएको थिएन।
यो त डा. कर्णको विश्लेषण थियो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमले पछिल्लो समय सामाजिक सञ्जालमा लगाइरहेको आरोप-प्रत्यारोप हेर्दा आमनागरिकलाई विश्लेषण जरुरी देखिंदैन, सबै छर्लंग बुझिन्छ।
गत वैशाख ८ मा रेशमले रञ्जितालाई सम्बोधन गर्दै फेसबूकमा लामो स्टाटस लेखे। जसले उनको पारिवारिक तथा पार्टीको स्थिति उजागर गर्छ।
यसले छर्लंग पार्छ, नाउपाको विवादमा रेशम-रञ्जिता दम्पतीले सार्वजनिक गर्न केही बाँकी छैन। दुवैले एकअर्कालाई नांगेझार पारिसके। आपसमा मन माझ्न कोठाभित्र बस्नुपर्नेमा सामाजिक सञ्जाल रंग्याइरहेका छन्।
रेशमलाई इंगित गर्दै जेठ १० मा रञ्जिताले फेसबूकमा लेखिन्, ‘आफ्नो खल्तीमा सांसदहरूको लेबी आउन्जेल सही, पार्टीकै कामको लागि अब लेबीको सही उपयोग हुन लागेपछि लेबी नतिर्ने निर्णय भन्दै सचिवालयमा पत्र पठाउनु जायज होला र मान्यवर?’
पूर्व राजदूत डा. कर्णले इंगित गरेको ‘पावर शेयरिङ’ को कुरा अर्थात् पार्टीको नामबाट उठ्ने रकमकलमको व्यवस्थापनमा कसको बोली बिक्ने भन्ने प्रसंग शायद यही थियो।
लगत्तै अर्को दिन जेठ ११ मा रेशमले फेसबूकमा लेखे, ‘सुतिरहेको बाघको जुँगा उखेल्न खोज्नु जस्तो मूर्खता केही हुन्न।’
रञ्जिताले पार्टीको नामबाट उठ्ने रकमकलमको विषय उठाएपछि रेशम तिल्मिलाएका देखिन्छन्। श्रीमान्-श्रीमती नै एकअर्कोलाई खुइल्याइरहेका छन्, डुबाउने कोशिश गरिरहेका छन्। यहींनिर हिन्दीको एउटा शायरी मेल खान्छ।
हमें तो अपनों ने लूटा,
गैरों में कहां दम था।
मेरी किश्ती डूबी वहां,
जहां पानी कम था।
टीकापुर घटनामा पक्राउ पुर्जी जारीपछि भारतमा भोकै-प्यासै कठिन परिस्थितिसँग जुधिरहेका थिए। जेल परेपछि पनि कहिले छुट्ने भन्ने अनिश्चितताको भुमरीमा थिए रेशम। यद्यपि जसोतसो डुंगा पार लगाए। विडम्बना, हालको सहज अवस्था, नेता तथा कार्यकर्ताको साथसमर्थन रहेको वेला रेशमको कश्ति त कम पानी होइन, किनारमै डुबिरहेको छ।
मन्त्रीको लफडा
सत्ता र शक्तिकै मोहले नाउपा कठिन अवस्थामा पुगेको छ। मन्त्री अर्थात् लाभको पदले नै रञ्जिता र रेशमसँगै नाउपा कम पानीमै डुबिरहेको दुवैलाई थाहा छ। तैपनि आफ्नो गल्ती स्वीकार गरेर सम्बन्ध सुधार्नुको सट्टा एकअर्काका कमीकमजोरी कोट्याउन तँछाडमछाड गरिरहेका छन्।
सत्ताको यो कस्तो नशा हो, घरपरिवार नै बिग्रिने। उनीहरूका धेरै शुभेच्छुकले भनिरहेका छन्- जसले आफ्नो घरव्यवहार मिलाउन सक्दैन, उसले देश के पो बनाउला!
खैर, मन्त्रीकै विषय हेरौं। जनता समाजवादी पार्टी (जसपा), नेपालबाट फुटेको अशोक राई नेतृत्वको जसपाबाट नयाँ मन्त्री नियुक्त भइसके। तर नाउपाको टुंगो छैन। जेठ ७ मा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि पनि रञ्जिताले नाउपाबाट मन्त्री बनाउन निकै जोडबल गरेकी थिइन्।
प्रतिनिधि सभामा नाउपाका चार सांसद छन्। अध्यक्ष रञ्जिताले अहिले मन्त्री नबन्ने सार्वजनिक रूपमै बताउँदै आएकी छन्। अर्का दुई सांसद लालवीर चौधरी र गंगा चौधरी रेशमकै पक्षमा खुलेर लागेका छन्।
त्यसैले सांसद अरुण चौधरीको पालो आउँछ। जेठ ७ मै सांसद चौधरीले भनेका थिए, ‘प्रचण्डसँग हिजो मात्र भेटघाट भयो। विश्वासको मतलगत्तै जेठ ८ मा नाउपाबाट मन्त्री नियुक्त गर्ने कुरा छ।’ तर अहिलेसम्म नाउपाबाट मन्त्री बनाउने कुनै छाँटकाँट देखिंदैन।
वैशाख पहिलो साता अध्यक्ष रञ्जिता धनगढीमा थिइन्। बसेरा होटलमा कार्यकर्तामाझ घेरिएर बसेकी उनी थकित देखिन्थिन्। आफू छुटेको वर्ष दिन पुगेको अवसरमा टीकापुरमा कार्यकर्तालाई सम्बोधन गर्दा रेशमको मुहारमा कुनै उत्साह देखिंदैनथ्यो।
यति वेला नाउपाका सांसदको मुहारको कान्ति हराएको छ। पार्टीबाट मन्त्री बनेका प्रदेश सांसद पनि जाँगरिला देखिंदैनन्। दम्पतीको सत्ता झगडाले ‘मिसन ८४’ मा पार्टीलाई नयाँ उचाइमा पुर्याउने धेरैको सपना अहिले नै खलबलिएको छ।
अस्थिर रेशम
रेशम पनि अस्थिर देखिन्छन्। वैशाख १६ मा उनले रञ्जिता सहितको तस्वीर टाँसेर फेसबूकमा लेखे, ‘महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाऊ भन्ने रञ्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोस्ट गरें।’
बिहान यो पोस्ट गरेका उनले बेलुका ‘हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं’ भनेर लेखेका छन्। यसरी आफ्नो निर्णयमा एक रात पनि टिक्न नसक्ने मनुवाले राजनीतिको रथ कसरी पो हाँक्छन्!
नाउपाका नेता लक्ष्मण थारूले वैशाख १९ मा फेसबूक मार्फत रेशमलाई सल्लाह दिए, ‘साथी रेशम तीन काम गरौं। पहिलो धैर्य गरौं, झिनामसिना विषयमा नबोलौं, नलेखौं। सामूहिक छलफल, सामूहिक निर्णय गरौं, जसका लागि निःस्वार्थ सोच्ने काममा खटिनेहरूको सानो टीम बनाऔं। तेस्रो हाम्रो मुख्य मुद्दामै केन्द्रित हौं, उपलब्धिको रक्षा गरौं, योजाबद्ध (रूपमा) अगाडि जाऔं। बिग्रिएको सपार्ने जगत्को ज्ञानी लिडर हो।’
नाउपा त्यागेर हाल नेकपा (माओवादी केन्द्र)मा लागेका बर्दियाका मोहन थारूको रेशमलाई सोधाइ छ, ‘तपाईं बाहिर नहुँदा जमेको र बनेको पार्टी, तपाईंको उपस्थिति हुँदा झन् क्षयीकरण हुनुमा कतै कारण तपाईंको व्यक्तिगत बढी महत्त्वाकांक्षा त हैन? अरूलाई दोष लगाउनुभन्दा आफैलाई निर्मम समीक्षा गर्नुस्।’
रेशम भने समीक्षा गर्ने पक्षमा छैनन्, देखिंदैनन्। फौजदारी अभियोग लागेको व्यक्ति पार्टीको कुनै जिम्मेवारीको लागि योग्य नहुने व्यवस्था छ। तैपनि अध्यक्ष बन्न यति छिटै पलाएको उनको महत्त्वाकांक्षा नै पार्टी भताभुंग हुनुको मूल कारक हो।
निर्वाचन आयोगले अध्यक्षको पगरी खोसेपछि पार्टीको संरक्षकको हैसियतले पुरानै तरीकाले काम गरेको भए पनि हुन्थ्यो। उनी तिलमिलाएर मुद्दामामिलामा दौडिए। सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। यसलाई रञ्जिताले आफू विरुद्धको मुद्दा ठानिन्। दम्पती नै दुई ध्रुव भएपछि सत्ता र शक्तिका लागि गठबन्धन पनि अलग अलग रोज्नु स्वाभाविक थियो।
म नै पार्टीको सर्वेसर्वा भन्ने रेशमको रोग रञ्जितामा पनि सरेको छ। सामूहिक छलफल र निर्णयको अभावले नै नाउपाको डुंगा डुब्दै गएको छ। फेरि नाउपामा रेशम र रञ्जिता बाहेक तेस्रो धार पनि देखिएन।
गुमेको मुख्यमन्त्री
नाउपाको विवादको जड अहिलेको गठबन्धनलाई समर्थन गर्ने रञ्जिता तथा नेपाली कांग्रेस गठबन्धनमा रहनुपर्छ भन्ने रेशमको अडान हो। नाउपा छाडेर हाल ‘सिटिजन फस्ट’ अभियानमा रहेका अभियन्ता सुरेन्द्र चौधरीको विचारमा विना शर्त कांग्रेस वा दाहालतिर लाग्ने दुवै कुरा नाउपाको हितमा छैन।
यही विवादले सुदूरपश्चिम प्रदेशमा नाउपाले मुख्यमन्त्री गुमाएको छ। पाँच सांसद रेशमतिर र दुई सांसद रञ्जितातिर लाग्दा अर्कै पार्टीले मुख्यमन्त्री पाएको छ। नाउपाभन्दा कम सांसद रहेको नेकपा (एकीकृत समाजवादी)बाट दीर्घ सोडारी मुख्यमन्त्री छन्।
नाउपा एकजुट भए अहिलेको सरकार सजिलै ढल्छ। सातै सांसद एकजुट भए नाउपाकै नेतृत्वमा नयाँ सरकार बन्न सक्छ। अर्को, प्रदेशले केन्द्रलाई दबाब दिन पनि सक्छ। रेशम र रञ्जिता मिल्न बाध्य हुन्थे। तर दुर्भाग्य प्रदेश सांसद पनि दुवैतिर लागेका छन्। यस्तो वेला रेशमले कांग्रेस बाहेक केही नदेख्ने र रञ्जिताले दाहाल गठबन्धन बाहेक अरू नदेख्ने रोगले नाउपालाई कसैले भाउ दिइरहेका छैनन्।
अभियन्ता सुरेन्द्र चौधरीको बुझाइमा दाहाल नेतृत्वको गठबन्धनले नाउपालाई शुरूदेखि नै महत्त्व दिएको छैन। जस्तो कि गठबन्धनको न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा नाउपा अटाएन। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा पनि नाउपा नेतृत्वको हस्ताक्षर समेत आवश्यक ठानिएन।
नाउपाबाट संघीय सरकारमा मन्त्री नबनाउनु पनि गठबन्धनले महत्त्व नदिएको अर्को उदाहरण हो। त्यसैले रञ्जिताले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएर नाउपालाई प्रतिपक्षमा उभ्याउने हो भने रेशमको हालको लाइन पनि ‘क्लियर’ हुनेछ। यसले नाउपा पनि ‘लिक’ मा आउनेछ।
भत्किरहेको नयाँ घर
थरुहट नेता लक्ष्मण थारू नाउपामा आबद्ध भएका थिए। तर रेशमको शैलीबाट वाक्कदिक्क भएर विश्राम लिए। अहिले उनी पूर्ण रूपमा कृषिमा लागेका छन्।
त्यस्तै, रेशमले पनि जेठ १७ मा फेसबूकमा लेखे, ‘बस्तीमै छु, जनतासँग छु। असार नजिकिंदो छ, त्यसैले खेतीपाती पनि हेर्नै पर्यो।’
छिटोभन्दा छिटो विवाद सल्टिएन भने रेशमको अबको बाटो कृषि नै हुनेछ। उनको हातबाट राजनीति पार लाग्ने देखिन्न।
खासमा रेशमले आफूलाई राजनीतिक प्राणी बनाउनै सकेनन्। हुन पनि उनी कलाकार हुन्। नानीदेखि लागेको अभिनय गर्ने बानी त्याग्न सकेनन्। पहिलो गाउँबस्तीमा हुने कार्यक्रम मार्फत कला प्रदर्शन गर्थे, अहिले सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिरहेका छन्। विडम्बना, सामाजिक सञ्जाल मार्फत प्रदर्शन भइरहेको कलामा अब दिलचस्पी कमैलाई छ।
रिहापछि रेशमले संकल्प गरेका थिए, जेलबाट जन्मिएको पार्टीलाई राष्ट्रिय पार्टी बनाउने। एक पटक मेची-महाकाली दौडाहा पनि गरेका थिए। संकेत पनि राम्रै देखिंदै थियो। तर अहिले काठमाडौंको अनामनगरस्थित नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयको साइन बोर्ड मेटाइएको छ। रञ्जिताले केन्द्रीय कार्यालय महाराजगन्जमा सारेकी छन्।
श्रीमान्-श्रीमतीले एकअर्कालाई सम्झाउन बुझाउन नसके २०८४ सालपछि नाउपाको साइन बोर्ड धेरै ठाउँमा मेटिइसकेको हुनेछ। किनकि पार्टीरूपी नयाँ घरमा प्लास्टर गर्नुको इँटा झिकिरहेका छन्। यति वेला रेशमकै कविताले गिज्याइरहेको भान हुन्छ।
मुद्दा नबदल साथी हो,
छेपारोझै रङ नफेर साथी हो,
अझ घर बनेको छैन।
धुरीखामो जोडिएको छैन,
छाउने खर काटिएको छैन,
नयाँ घर बनाउने संकल्प नबदल साथी हो।