गर्मीले नेपालगन्जका विद्यालय असार पहिलो सातासम्म बन्द
केही दिनदेखि गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले असार ७ गतेसम्म विद्यालय बन्द गरेको छ।
गर्मी र लूले पठनपाठनमा समस्या भएपछि जेठ २० गतेदेखि असार ७ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको नेपालगन्ज उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए। यसअघि नेपालगन्ज उपमहानगरले यही जेठ १५ देखि १८ गतेसम्म गर्मी बिदा दिएको थियो।
उपमहानगरको शिक्षा महाशाखाको क्यालेन्डरमा भने यस वर्ष जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा दिने उल्लेख छ। त्यसअघि नै गर्मी बढेपछि विद्यालय बन्द गरिएको हो।
केही दिनयता नेपालगन्जमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि छ। एकै दिनमा अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ।
गर्मी बढेपछि पश्चिम तराईका विभिन्न स्थानीय तहले पनि विद्यालय बन्द गरेका छन्। घोराही, तुलसीपुर, धनगढी लगायत शहरमा पनि विद्यालय बन्द छन्।