त्रिभुवन विश्वविद्यालयको सम्पत्ति खोज्न त्रितालको नेतृत्वमा समिति गठन
त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गा तथा चल-अचल सम्पत्तिको खोजी गर्न पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरिएको छ।
मन्त्रिपरिषद्को जेठ १७ गते बसेको बैठकले समिति गठन गरेको हो। समितिका सदस्यमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा.डा. प्रेमसागर चापागाईं नियुक्त भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ। समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गामध्ये प्रारम्भिक चरणमा उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य चल-अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्नेछ।
बैठकले नेपाल विशेष सेवा (बीसौं संशोधन) नियमावली, २०८१ मा लोक सेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्ले जर्मनीको बोनमा यही जेठ २१ देखि २५ गतेसम्म सञ्चालन हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन अन्तर्गतको पर्वतीय तथा जलवायु परिवर्तन सम्बन्धी विज्ञ संवाद कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको पाँडेलाई स्वीकृति दिएको छ।
त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराललाई मनोनयन गर्ने, सहसचिव तारादत्त भट्टराई नेपाल प्रत्यायान केन्द्रको कार्यकारी निर्देशक पदमा कामकाज गर्न तोक्ने, लोक सेवा आयोगको सिफारिशमा विभिन्न सेवा समूहका सात जना राजपत्रांकित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा गरी क्रमशः नायब महान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिस्ट्रारमा पदस्थापन गर्ने, राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरू मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गरेको छ।