अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प दोषी ठहर
अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विभिन्न मुद्दामा दोषी ठहरिएका छन्।
आउँदो राष्ट्रपति चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका ट्रम्प यसरी दोषी ठहरिने इतिहासकै पहिलो पूर्व राष्ट्रपति हुन्। म्यानह्याटनका १२ न्यायाधीशले ट्रम्प विरुद्ध परेका ३४ वटै मुद्दामा दोषी ठहर्याएका छन्। जेठ २९ मा उनी विरुद्ध सजाय सुनाइने भएको छ।
६ सातासम्म लम्बिएको सुनुवाइमा अदालतले २२ जना साक्षीको बयान लिएको थियो। यसरी बयान दिनेहरूमा स्टोर्मी ड्यानियल पनि थिइन्, जससँगको अन्तरंग सम्बन्ध ढाकछोप गर्न ट्रम्पले पैसा दिएको विषयको मुद्दा मुख्य थियो।
कानूनविद्ले उनलाई जरिवाना मात्रै होइन, जेल सजाय पनि हुन सक्ने आकलन गरेका छन्। तत्कालका लागि भने उनलाई जमानत विनै रिहा गरिएको छ।
ट्रम्पले अदालतको यस निर्णयलाई ‘अपमानजनक’ भनेका छन्। “यो अपमान हो। यो भ्रष्ट न्यायाधीशहरूले गरेको धाँधलीपूर्ण सुनुवाइ हो,” उनले भनेका छन्, “हामी अन्तिमसम्म लड्नेछौं।”
ट्रम्पलाई उनको सन् २०१६ को चुनावी अभियानका अन्तिम दिनमा पूर्व वयस्क फिल्म स्टार स्टोर्मी ड्यानियललाई मौन रहन पैसा दिएको आरोप लागेको थियो।
उनलाई त्यो रकम कानूनी खर्चका रूपमा देखाउने छलकपटलाई अनुमोदन गरेको आरोप लागेको थियो। त्यसो गर्नु निर्वाचन कानूनको विपरीत हुने आरोपकर्ताको दाबी थियो।
ट्रम्पलाई सजाय सुनाएको केही दिनपछि रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन हुँदै छ, जुन सम्मेलनले उनलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार अनुमोदन गर्ने सम्भावना छ। डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जो बाइडेन उम्मेदवार छन्। ट्रम्पले भनेका छन्, “वास्तविक फैसला आउँदो ५ नोभेम्बरमा जनताले गर्नेछन्।”
यस सजायले ट्रम्पलाई आउँदो राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन भने रोक्नेछैन। त्यसैले उनी यस सजाय विरुद्ध पुनरावेदनमा जाने पक्का छ।
यस फैसलाले राष्ट्रपतीय चुनावी दौडमा के-कस्तो असर पार्छ भन्ने यकीन भइसकेको छैन। यद्यपि यसअघि भएका सर्वेक्षणले केही प्रभावशाली निर्वाचन क्षेत्रमा मतदाताले अपराधमा दोषी करार गरिएका उम्मेदवारलाई भोट नहाल्ने आकलन गरिएको छ।
यदि ट्रम्पले बाइडेनलाई पराजित गरे पनि उनी ह्वाइट हाउस पुग्ने पहिलो अपराधी अमेरिकी हुनेछन्।
ट्रम्पका समर्थकले विज्ञप्ति जारी गर्दै उक्त फैसलाको विरोध गरेका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यो फैसला ‘अमेरिकी इतिहासकै लज्जास्पद’ भएको टिप्पणी गर्दै न्याय प्रणाली ‘असन्तुष्टलाई मौन बनाउने’ हतियारको प्रतीक भएको बताए।
ट्रम्पलाई मुद्दाको अवधिभर म्यानह्याटन अदालतमा उपस्थित हुने आदेश दिइएको थियो। यसले गर्दा उनी चुनावी अभियानमा सहभागी हुन पाएनन्।
तर पनि उनले दैनिक रूपमा बाइडेनमाथि प्रहार गरिरहे। यो मुद्दा म्यानह्याटनका वकीलहरूले राजनीतिक उद्देश्यले प्रेरित भएर ल्याएको उनको तर्क थियो।
पूर्व राष्ट्रपति ट्रम्पले अन्य तीन आपराधिक मुद्दा पनि सामना गर्दै छन्। दुई वटा मुद्दा चुनावी हस्तक्षेप सम्बन्धी छन्। तर यी मुद्दाको सुनुवाइ आसन्न राष्ट्रपतीय चुनाव (५ नोभेम्बर) भन्दा अघि हुने सम्भावना कम छ।