खोपको विश्वव्यापी सफलता बताउने पाँच तस्वीर
विश्व स्वास्थ्य संगठनका अनुसार ५० वर्षयता विभिन्न १४ वटा रोगबाट १५ करोड ४० लाख मानिसको जीवन खोपले नै जोगिएको छ।
धेरैलाई थाहा भएको तथ्य हो, जनस्वास्थ्य सुधारमा खोपहरू अचुक साधन बनेका छन्। विश्व स्वास्थ्य संगठनको हालैको एक अनुसन्धानले यसलाई अझ पुष्टि गरेको छ। ५० वर्षयता १४ वटा विभिन्न रोग लागेका १५ करोड ४० लाख मानिस खोपकै कारण जोगिएको अनुसन्धानको निष्कर्ष छ। यीमध्ये अधिकांश पाँच वर्षमुनिका छन् भने एक वर्षमुनिका शिशु दुईतिहाइ।
सन् १९७४ मा विश्व स्वास्थ्य सम्मेलनले विस्तारित खोप कार्यक्रम शुरू गर्यो। यस अन्तर्गत सन् १९९० सम्म सबै बालबालिकालाई भ्यागुते रोग, टिटानस, लहरे खोकी, दादुरा, पोलियो, क्षयरोग र बिफर विरुद्धका खोप लगाउने लक्ष्य तय गरिएको थियो। पछि अन्य रोगका खोप पनि समेटिए।
कार्यक्रम लागू भएयताको अवधि समेटेर गरिएको अनुसन्धानले खोप नहुँदाको तुलनामा १० वर्षमुनिका बालबालिका अर्को जन्मदिनसम्म बाँच्ने सम्भावना ४० प्रतिशतले बढेको देखाएको छ। यो सकारात्मक प्रभाव वयस्क हुँदासम्मै कायम रहेको देख्न सकिन्छ। ५० वर्ष उमेरको मानिस खोप नलगाएको अवस्थामा भन्दा अहिले अर्को जन्मदिनसम्म बाँच्ने सम्भावना १६ प्रतिशतले बढेको छ।
अनुसन्धानको तरीका
यस अनुसन्धानका निम्ति अनुसन्धाताले १९४ वटा देशमा सन् १९७४ देखि २०२४ सम्म भएका खोप कार्यक्रम र तिनले समेटेको जनसंख्या सहितको गणितीय र तथ्यांकीय मोडल तयार पारेका थिए। यद्यपि यसमा सबै रोग समेटिएका थिएनन् (उदाहरणका लागि, सन् १९८० मा उन्मूलन भएको बिफर राखिएन)।
यस विश्लेषणमा १४ वटा रोगका लागि दिइएको खोप समावेश गरिएको छ, जसमध्ये ११ वटा विस्तारित कार्यक्रममा समेटिएका थिए। केही देशमा दिइएको जापनिज इन्सेफ्लाइटिस, मेनेन्जाइटिस ए र जन्डिसको खोप पनि यसमा समेटिएका छन्, किनभने ती स्थानमा यी रोग ठूलो समस्या बनेका थिए।
खोप कार्यक्रम शुरू भएपछि हरेक देश र उमेर समूहमा यी रोग कसरी फैलिन सक्थे भन्ने देखाउन पनि यी मोडल प्रयोग गरिएका हुन्। त्यसका लागि समयसँगै भएको खोपको विस्तारलाई पनि समेटियो।
जोगिए बालबालिका
सन् १९७४ मा पहिलो जन्मदिन नमनाउँदै मर्ने शिशुको संख्या आधाभन्दा बढी थियो। अनुसन्धाताले खोपकै कारण त्यो संख्या ४० प्रतिशत जतिले घटेको हिसाब निकालेका छन्।
दादुरा, पोलियो र लहरे खोकी जस्ता रोगबाट छुटकारा पाउन विश्वभर अभियान चलाइँदा सन् १९८० को दशकमा जन्मिएका बालबालिकामा ठूलो प्रभाव पर्यो। खोप लगाउने अवसर नपाएका भए १५ करोड ४० लाखमध्ये करीब ६० प्रतिशतले दादुराकै कारण ज्यान गुमाउने थिए। दादुरा छिटो फैलिने भएकाले यस्तो अनुमान गरिएको हो। दादुरा भएको एक व्यक्तिबाट १२ देखि १८ जनासम्म संक्रमित हुन सक्छन्।
अनुसन्धान अनुसार स्वास्थ्य प्रणाली कमजोर रहेको र न्यून एवं मध्यम आय भएका देशका मानिसहरूमा खोपको नतीजा अझ प्रस्ट देखिएको छ। उदाहरणका लागि यही कोटिमा पर्ने भूमध्यक्षेत्रका र कतिपय अफ्रिकी देशमा बालबालिका बाँच्ने दर खोप कार्यक्रमले बढाइदियो। यसबाट यी तथ्यांकले स्वास्थ्य समताका लागि खोपहरूले खेलेको भूमिका पनि उजागर गर्छन्।
खस्किएको गति
कोभिड महामारीको समयमा संसारभर नै दादुराको खोप लगाउनेहरूको संख्या घट्यो। सन् २०१९ मा ८६ प्रतिशत बालबालिकाले पहिलो डोज खोप लगाएका थिए भने सन् २०२२ मा जम्मा ८३ प्रतिशतले। यो एकदमै ध्यान दिनुपर्ने विषय हो, किनभने दादुरा विरुद्ध हर्ड इम्युनिटी (सामूहिक रोग प्रतिरोधात्मक क्षमता) प्राप्त गर्न उच्च तहको (९५ प्रतिशतभन्दा बढी) खोप विस्तार हुनुपर्छ।
अस्ट्रेलियामा महामारीअघिको तुलनामा बालबालिकालाई लगाइने दादुरा, रुबेला, हाँडे विरुद्धका लगायत खोपको विस्तार खस्किएको छ।
कम वा घट्दो खोप कार्यक्रमले महामारी निम्त्याउन सक्छ जसले समुदाय र सिंगो स्वास्थ्य प्रणालीलाई नै छिन्नभिन्न पार्छ।
खासमा यस अनुसन्धानले दादुराका निम्ति मात्र नभई सबै रोगबाट जोगिन खोपको निरन्तरता किन आवश्यक छ भन्ने स्मरण गराइदिएको छ।
यद्यपि यसको नतीजाले हामीलाई खोपको प्रभावबारे पूरै कथा सुनाउँदैन। उदाहरणका लागि यस अनुसन्धानमा कोभिड र एचपीभी (ह्युमनपापिलोमा भाइरस) विरुद्धको खोपको तथ्यांक समेटिएको छैन। त्यस्तै, यसरी मोडल बनाएर गरिने सबै अध्ययनमा जस्तै यसमा पनि केही अनिश्चितता रहन सक्छन्, किनभने सबै समय र देशको तथ्यांक उपलब्ध नभएको हुन सक्छ।
यी सीमाका बावजूद अनुसन्धानले समयक्रममा विश्वव्यापी खोप कार्यक्रमको सफलता देखाउँछ। मानिसहरू रोगबाट मर्ने दर यसैगरी घटिरहोस् भन्ने हो भने खोपका लागि स्थानीय, क्षेत्रीय र विश्वव्यापी रूपमा लगानी गरिरहनुपर्छ।
(शिल युनिभर्सिटी अफ् सिड्नीकी महामारी, संक्रमणात्मक रोग र प्रतिरक्षा प्रणालीकी सहप्राध्यापक हुन् भने होगन युनिभर्सिटी अफ् न्यू साउथ वेल्स, सिड्नीकी गणितीय महामारीशास्त्री हुन्। द कन्भर्सेशनबाट लक्ष्मण श्रेष्ठले गरेका अनुवाद।)