विस्मृत घटनाको जबर्जस्त प्रस्तुति
पहिलेका कम्युनिस्टको जस्तो त्याग अहिलेकामा नदेखेका राजवको निष्कर्ष छ- अब राजनीतिमा आदर्श नै रहेन, आख्यान मात्र रह्यो।
दीपावलीको बिदापछि २०२८ सालको कात्तिकमा एक्लै जनकपुर जाने तयारीमा थिएँ। म त्यहाँको जानकी हाइस्कूलमा पढ्थें। माइला ठूलाबा गुणनिधि भट्टराईले कामविशेषले आफू पनि बारातिर जानुपर्ने भएकाले पथलैयासम्म सँगै लैजाने कुरा गर्नुभयो। म उहाँको सहारा पाएर खुशी भएँ।
कालीमाटीबाट ट्रक चढेर हामी हेटौंडा पुग्यौं र त्यहीं जेठा ठूलाबा यज्ञप्रसाद भट्टराईको घरमा बस्यौं। भोलिपल्ट बिहान वीरगन्ज जाने ट्रक चढेर पथलैया पुग्यौं। त्यहीं ओर्लिएर जनकपुर जाने अर्को ट्रक चढ्नुपर्ने थियो मैले। तर माइला ठूलाबाले आफूलाई पनि जनकपुर घुम्न जान मन लागेको बताउँदै भोलिपर्सितिर सँगै जाने कुरो गर्नुभयो र मलाई तीन-चार दिनसम्म बाराकै विभिन्न ठाउँमा दौडाउनुुभयो। उहाँले बाराका गोपाल शर्मा र अरू पनि दुई/चार जनालाई भेट्नुभयो। त्यस क्रममा म उहाँको पछि पछि लागेर जुग्वाहा, खैराहा, कोल्हवी, निजगढ, बदाफर आदि ठाउँ पुगेको थिएँ।
खैराहाको एउटा टोलमा गाउँलेहरूको ठूलै भीड जम्मा भएको थियो। एक जना मानिस ‘नट्वालाई काट्यो, नट्वालाई काट्यो’ भन्दै कराइरहेको थियो। राँगो डोर्याएर हिंडिरहेका एक जना घुमन्ते मुसलमानलाई कुनै समूहले हतियार हानेर बाटोमै ढालिदिएको थियो रे!
अर्कातिरबाट त्यही ठाउँमा एक हुल मानिस हतियार बोकेर कराउँदै आएको हामीले देख्यौं। त्यो हुल ‘सुभानमियाँलाई मार्नै पर्छ’ भन्दै दौडिरहेको थियो। हामी डरायौं। माइला ठूलाबाले काभ्रेबाट खैराहामा बसाइँ सरेका न्यौपाने अथवा बडाल थरका कसैलाई भेट्नुभयो। उनले ‘तपाईंहरू यहाँ नबस्नोस्, यहाँबाट गैहाल्नोस्’ भनेपछि हामी रातारात कोल्हवीतिर लागेका थियौं। बाटोमा हामीले एक जना व्यक्ति ‘बाफ रे बाफ, गौमाताको काट्देगल, बाफ रे बाफ गौमाताको खादेगल’ भन्दै त्यही भीडतिर दौडिएको देखेका थियौं।
भोलिपल्ट बिहान ठूलाबाले कोल्हवी बजारमा स्कूल नजिकै कसैलाई भेट्नुभयो। त्यहाँ त्यस दिन हाटबजार पनि लागेको थियो। भेटघाटपछि हामी हाटबजार घुम्दै थियौं। नजीकै नारा लगाएको सुनियो, ‘गणेश पनुवारके काट्नेका बा, कोल्हवी गाउँ फुकेके बा।’
त्यहाँ गणेश पनुवार नामका प्रधानपञ्च रहेछन्। बेचन नामका मुसलमानलाई मार्नुपर्ने तर प्रधानपञ्चले नमारेको वा मार्न नदिएको भन्दै केही स्थानीयले उनी विरुद्ध जुलूस सहित नारा लगाएका रहेछन्। त्यहाँ पनि धेरै बेर बस्नु उचित नहुने ठान्दै हामी हिंड्यौं।
दौडादौडमा बाराका विभिन्न ठाउँ घुम्दै चार दिन बित्यो। राम्रो जग्गा मिलाइदिन्छु भनेर पैसा लिएका तर थप पैसा मागेर जग्गा मिलाइदिन आलटाल गरिरहेका गोपाल शर्माका कारण माइला ठूलाबा तनावमा हुनुहुन्थ्यो। त्यसैले मलाई जनकपुर जाने गाडी चढाएर उहाँ फेरि बदाफरतिर लाग्नुभयो।
त्यस वेला बाराका खैराहा र कोल्हवीतिर के घटना भएको हो, मेरो बालमस्तिष्कले बुझ्ने कुरो थिएन। त्यसबारे थप जिज्ञासा राख्ने चेतना पनि थिएन। पछि त्यस घटनाबारे चासो राखे पनि यथार्थ कसैले भन्न सकेको थिएन।
केहीले त्यसलाई रौतहटतिरबाट फैलिएको धार्मिक दंगा बताउँदै ‘धोधाकाण्ड’ वा ‘भुसाहाकाण्ड’ का रूपमा चर्चा गरे पनि किन, के कारणले र कसबाट त्यो घटना हुन पुगेको थियो भनी खोतल्ने प्रयास कसैले गरेन। बरु अझ बिर्सिदिने काम भयो।
५२ वर्षपछि उक्त घटनाको उत्खनन गर्ने र झल्झली सम्झाउने काम गरेका छन्, साहित्यकार राजवले। नेपाली समाजको एउटा गम्भीर घटनालाई क्रूर पृष्ठमा जो थिएको विषय बनाएर जीवन्त राख्नमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। उहिले खैराहा र कोल्हवीमा झल्याकझुलुक केही दृश्य मात्र देख्न पुगेको मेरा लागि उपन्यासको विषयवस्तु नै आकर्षण बन्न पुग्यो। पढ्दै जाँदा तिनै दृश्य मेरो स्मृतिमा नाच्न पुगे। केही प्रसंगले त मथिंगल नै रिंगाइदिए।
२०२८ असोजतिर बाराको भुसाहा गाउँमा जलाल मियाँ नामका मानिसले गाई काटेर खाएको र मासु बेचेको भनी बारा, पर्सा र रौतहटमा हल्ला फैलिएको थियो। त्यसको केही समयपछि राजव एसएलसीको जाँच दिन आफ्नो गाउँ बन्जरिया पुगे। त्यही वेला उनले हल्लाकै भरमा बाराका विभिन्न ठाउँमा हिन्दूहरूलाई उक्साएर धार्मिक दंगा मच्चाइएको र मुसलमानमाथि हिंसात्मक आक्रमण भएको सुने। घटनामा केही हिन्दू पनि पीडित बने। यस घटनाले त्यसै वेलादेखि लखेटिइरहेका राजवलाई केही न केही त लेख्नै पर्छ भन्ने लागेको रहेछ। उनको त्यही प्रतिबद्धतास्वरूप प्रकाशित हुन पुगेको हो- क्रूर पृष्ठमा जो थिए।
स्थानीय समाज र जीवनसँग ६० वर्षदेखि संगतमा रहँदै आएका राजवले उपन्यास मार्फत त्यस घटनाको यथार्थ उजागर गरेका मात्र होइनन्, यसलाई राष्ट्रिय चासोको विषय समेत बनाउने काम गरेका छन्।
उपन्यासमा उनको यथार्थ फोटोग्राफिक छैन, त्यो पुनःसिर्जनाका रूपमा व्यक्त भएको छ। यथार्थलाई उनले प्रतिलिपि होइन, संश्लेषणात्मक प्रतिविम्बका रूपमा प्रस्तुत गरेका छन्, जसले उपन्यासको कलात्मकता बढाएको छ। कला-साहित्य यथार्थको पुनःसिर्जनाको विशिष्ट रूप हो भन्ने सौन्दर्यशास्त्रीहरूको भनाइलाई पुनःपुष्टि गर्ने काम राजवले गरेका छन्।
कुनै विचारप्रति आस्थावान् हुँदाहुँदै राजव आफ्नो लेखनमा विचारको सूत्रबाट मुक्त छन्। उनी कुनै पनि कुरालाई सूत्रविशेषका रूपमा स्वीकार गर्दैनन्। बरु विषय र प्रस्तुतिमा केही न केही नयाँपनको खोजी गर्ने उनले यसमा पनि आफ्नो त्यो विशेषता स्थापित गरेका छन्। हरेक उपन्यासमा नयाँ फड्को मार्दै आएका राजवले विषयवस्तु, त्यसलाई हेर्ने कलाचेतना र लेखनशिल्पमा यस उपन्यास मार्फत अर्को फड्को मारेका छन्।
यो उपन्यास विषयवस्तु, कथ्यको बनोट र लेखनशिल्प तिनै कुरामा प्रभावशाली छ। तराई र काठमाडौंको काँठका जीवन, चरित्र र राजनीतिलाई मिहिन ढंगले उतारिएको छ। यससँगै तराईबाट ट्रकमा राखेर काठमाडौंमा भैंसी ल्याउने उहिलेको प्रचलनको यथार्थ चित्रण गरिएको छ। ५० वर्षअघि तराई-पहाड वा तराई-काठमाडौं ओहोरदोहोर गर्नेहरूको बाइरोडको ट्रकयात्रा कस्तो हुन्थ्यो भन्ने कुरा समेत उपन्यासकारले झल्झली सम्झाएका छन्।
कथावस्तु संक्षिप्त र चुम्बकीय छ। चित्रण-वर्णन लोभलाग्दो छ। ठाउँ ठाउँमा स्थानीय भाषाको प्रयोगले रोचकता अझ थपेको छ। थोरै शब्दमा धेरै कुरा भनेको उपन्यासले आकार सानै भए पनि ठूलो सन्देश सम्प्रेषण गरेको छ।
राजनीतिक विषयवस्तु भएकाले तत्कालीन दलहरूका कुरासँगै विचारका दृष्टिले पनि उपन्यास प्रखर छ। कम्युनिस्टहरूको त्यस वेलाको त्याग, आदर्श, निष्ठा र इमान हेरेर होला, लेखकले तिनीहरूप्रति सहानुभूति राखेका छन्।
बालक अफजल समेत अर्को पुस्ताको आदर्श कम्युनिस्ट बनोस् भन्ने ध्येयले उपन्यासकारले उसलाई कम्युनिस्ट प्राध्यापकको जिम्मा लगाएको देखिन्छ। यस सन्दर्भमा लेखकको वैचारिक धरातल मुखरित भएको बुझ्न सकिन्छ।
सामाजिक परिस्थिति, परिवेश, व्यक्ति, प्रवृत्ति र घटनाका सूक्ष्म अध्येता हुन् राजव। लेखकको हैसियतमा उनको त्यो अध्ययन गहिरो छ। समाजका दुःख, उत्पीडन, त्याग, आदर्श, विसंगति आदिलाई नै राजवले कथ्यशोधनको धरातल बनाउँदै आएका छन्।
लेखकले आफू मौन रहेर केही विषयमा पाठकका लागि छोडेका जिज्ञासा, कुतूहलता र प्रश्नले उपन्यासलाई दर्बिलो बनाएका छन्। पाठकलाई शुरूमै ‘क्रूर पृष्ठमा को होलान्?’ भन्ने प्रश्नले कुतूहलता जगाउँछ। सामान्य संकेत मात्र गरेर छाडिएका प्रसंगहरूले पनि पाठकलाई घोत्लिन बाध्य बनाउँछन्। जस्तो- गाई काटेको भन्ने सामान्य हल्लाकै भरमा मुस्लिम बस्तीमा आक्रमण गरी भाला रोपेर मार्ने अनि बस्ती जलाउनेहरू को थिए होलान्? अब अफजल के होला? आदि।
यसरी घटनामा परेर पीडा भोगेकाहरूका बारेमा उपन्यासकारले मर्मस्पर्शी चित्रण गरे पनि क्रूर पृष्ठका कर्ता-कारकका बारेमा अनुमान गर्न उनले पाठककै जिम्मा छोडिदिएका छन्, किनभने आमरूपमा बुझिने कुरा हो- जातधर्मको विवादलाई भड्काएर विपक्षीको विनाश गर्ने काम सत्तापक्षले नै गर्ने गरेको छ।
कागले कान लगेको हल्लाकै भरमा समाजमा नहुनुपर्ने अनेक घटना हुने गरेका छन्। गाई काटेको हल्ला पनि त्यस्तै रहेको संकेत उपन्यासकारले गरेका छन्। तथापि उपन्यासको प्रभावले पाठकलाई ‘यथार्थमा गाई काटिएको हो कि होइन त?’ भन्ने कुतूहलतामै रिंगाउँछ। यही कुतूहलताकै बीच पाठकलाई घटनाको सत्यतथ्यतिर अग्रसर गराउँछ।
प्रमुख र सहायक गरी १४/१५ जना पात्रका बीचमा यो उपन्यास बुनिएको छ। बाइरोडमा ट्रकबाट ओर्लिएर पिसाब गर्दा पनि जनै काँधमा हाल्ने कट्टर हिन्दू डल्ले बाको दुःखमा परेको मुसलमानलाई सहयोग गर्नु पनि धर्म नै ठान्ने मानवतावादी भावना, मकरन्द उपाध्याय भण्डारी र त्रिपुरारि शर्मा जस्ता निष्ठा र आदर्शमा अटल राजनीतिक चरित्रले यसमा विशेष महत्त्व पाएका छन्। बालक अफजल आफैं कुनै कार्यव्यापारमा छैन, तर उपन्यासको केन्द्रमा उही नै छ। कुनै एउटा पात्रलाई विना कार्यव्यापार शुरूदेखि अन्त्यसम्म उपन्यासको केन्द्रमा राख्न सक्नु उपन्यासकारको सफलता हो।
धनसम्पत्तिमा अत्यन्तै विपन्न रहे पनि सहृदयी भावनामा सम्पन्न लौकी डोमी जस्ता पात्रलाई उपन्यासकारले छोटो भूमिकामा पनि बडो महत्त्वका साथ उतारेका छन्। कांग्रेसको राजनीतिमा नगन्हाए पनि मालअड्डाको जागीरे जीवनमा गन्हाएका जमीनदार धर्मनाथ घिमिरे र अर्का जमीनदार मुकुन्दकृष्ण शर्माको पारिवारिक सम्बन्ध, सामाजिक सम्बन्ध र कांग्रेससँगको राजनीतिक सम्बन्धलाई अत्यन्तै प्रभावकारी ढंगले प्रस्तुत गरेका छन्।
यता, एउटा जमीनदार धर्मनाथकी छोरी लीला शर्मा कम्युनिस्ट हुनु, उता अर्का जमीनदार मुकुन्दकृष्णका छोरा त्रिपुरारि आदर्श कम्युनिस्ट हुनु र यी दुवैका बीच विवाह हुनुलाई पनि उपन्यासकारले अत्यन्तै स्वाभाविक रूपमा चित्रण गरेका छन्।
कांग्रेस विचारका जमीनदारकी कम्युनिस्ट विचारकी छोरी कांग्रेस विचारकै जमीनदारका कम्युनिस्ट विचारको छोरोसँग विवाह गरेर गएपछि पारिवारिक रूपमा झेल्नुपरेका समस्यालाई पनि लेखकले बडो सहज पारामा उजागर गरेका छन्। काठमाडौंको काँठबाट शहरतिर दूध बेच्न ल्याउने प्रसंगलाई डल्ले बा र हरि लुइँटेल मार्फत रोचक पारामा प्रस्तुत गरिएको छ।
क्रूर पृष्ठका कारकतत्त्वहरूले गाईकाण्डका नाममा हिंसात्मक घटना भड्काएर त्यस वेलाका आदर्श कम्युनिस्टहरूको प्रभाव क्षेत्रलाई समाप्त गर्न खोेजेको सन्देश उपन्यासले बोकेको छ। उहिलेको कम्युनिस्ट आदर्शप्रति उपन्यासकार राजवको मोह देखिन्छ। त्यसैले त्यस आदर्शका अनेक सन्दर्भलाई उनले उपन्यासमा उतारेका छन्।
त्यस वेलाको जस्तो त्याग र आदर्श अहिलेका कम्युनिस्टमा नरहेको विचार उपन्यासकारको छ। तीसको दशकको त्याग र आदर्शको तुलनामा अहिलेका नेताहरू नौ तला माथिबाट बजारिएको ठान्छन् राजव। लेखकको निष्कर्ष पनि छ- अब राजनीतिमा आदर्श नै रहेन, आख्यान मात्रै रह्यो।