तलसम्म संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ : मन्त्री चौधरी
महिला मन्त्रालयका स्थानीय तहसम्म संरचना नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बताएकी छन्।
राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यसअघिको संरचना पनि स्थानीय तहमा गाभिएको उल्लेख गरिन्। “महिला विकास अधिकृतहरू स्थानीय तहमा गाभिए। तर अहिले महिला मन्त्रालयको तल संरचना नहुँदा काम गर्न अप्ठ्यारो परिरहेको छ,” मन्त्री चौधरीले भनिन्, “सेवाग्राहीले पनि अप्ठ्यारो महसूस गरिरहनुभएको छ।”
त्यस्तै, मन्त्री चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरे पनि सचेतना नपुगेको बताइन्। “कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भए पनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन,” उनले भनिन्, “आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन्।”
यो सबैको समान अधिकार भएकाले छोरीले पनि पैतृक सम्पत्ति पाउनुपर्ने उनको भनाइ थियो।