गर्मी छल्न पश्चिम तराईमा विद्यालय बन्द
केही दिनयता गर्मी बढेपछि पश्चिम तराईका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक सातायता गर्मी बढेको छ। धनगढी, नेपालगन्ज, घोराही, तुलसीपुर लगायत शहरमा गर्मीले जनजीवन प्रभावित भएको छ।
धनगढीमा बिहीबार अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ। विभागको फिल्ड कार्यालय, अत्तरियाका अनुसार धनगढीको अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ।
त्यस्तै, पश्चिम तराईका अधिकांश शहरमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस नाघेको छ। केही शहरमा ४० डिग्री सेल्सियसको हाराहारी पुगेको छ।
गर्मी बढेपछि स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। धनगढी उपमहानगरले जेठ २४ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको छ।
त्यस्तै, दाङको घोराही र तुलसीपुर उपमहानगरले पनि पाँच दिन बिदा दिएका छन्। दुवै उपमहानगरमा जेठ २२ गतेसम्म शैक्षिक संस्था बन्द रहने भएका छन्।
गर्मीले जनजीवन प्रभावित भएपछि शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको घोराहीका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जनाएका छन्। स्थानीय तहले पछि बर्खे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिएका हुन्।