कृषि बीमा फेरि सञ्चालन हुने
गत चैतदेखि स्थगन भएको कृषि तथा पशुपन्छी बीमा फेरि शुरू हुने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाली तथा पशुधन बीमाको अनुदान रकम भुक्तानी गर्न सहमति जनाएपछि किसानका लागि लाभदायक यो कार्यक्रम फेरि सञ्चालनमा आउने भएको हो। यसअघि मन्त्रालयले बीमाको अनुदान रकम दिन आनाकानी गरेपछि बीमा कम्पनीले बीमा गर्न छोडेका थिए।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा मन्त्रालयका सचिव, नेपाल बीमक संघ, नेपाल बीमा प्राधिकरणका प्रतिनिधिको बिहीबारको बैठकले कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको अनुदान बक्यौता रकम मन्त्रालयले निकासा गर्ने टुंगो लगाएको हो।
यस अनुसार बीमा कम्पनीले जारी गरेको कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमालेख बापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये हाललाई करीब ९७ करोड रुपैयाँ यथाशीघ्र भुक्तानी गर्न मन्त्रालयले समझदारी गरेको छ। बाँकी रकम चालू आर्थिक वर्षभित्रै भुक्तानीका लागि मन्त्रालयले पहल गर्ने र बीमकले कृषि तथा पशुपन्छी बीमालाई निरन्तरता दिने सहमति भएको हो।