‘द टाइगर्स नेस्ट’ मा बालक र डमरुको यात्रा
आमा गुमाएका बालक र जंगलबाट ल्याएर पिंजडामा कैद गरिएको डमरुको यात्राको कथा हो द टाइगर्स नेस्ट, जुन नेपालमा छायांकन गरिएको थियो।
२०७२ सालको भूकम्पमा बालक बालमणि (सन्नी पावर)ले आमा गुमाए। समाज कल्याण परिषद्ले उसलाई चितवनको एक अनाथालयमा हस्तान्तरण गरिदिएको छ, जहाँ कसैलाई ‘आफ्नो’ पाउँदैन।
चलचित्रले एक बालकको दृष्टिकोण र यात्रावृत्तान्त मार्फत भूकम्पको प्रभाव, तस्करी, नेपाली भूगोल र जातीय विविधता, हिमाली रहनसहन हुँदै संरक्षणको महत्त्वसम्म उजागर गर्दै जान्छ। नेपाली घुमन्ते जाति राउटेको रहनसहन, जंगली भीरमौरीको मह काढेको, उच्च हिमाली भेग लगायत दृश्यले नेपालको संक्षिप्त भ्रमण गराउँछन्।
बाघको पिठ्यूँमा बसेर हिमालय पर्वत पार गरी एक भीरमा अवतरण गरेका बौद्ध गुरुको लोककथा र त्यही भीरमा ‘टाइगर्स नेस्ट’ गुम्बा रहेको प्रसंगलाई आधार मानेर चलचित्रले बाघ संरक्षणको विषय उठान गरेको छ। जुन सन्देशमूलक त छ नै, कलात्मक पनि छ। चलचित्रको प्रस्तुतीकरण मनोरञ्जनात्मक भएकाले पनि दर्शक चलचित्र हेरुन्जेल बालमणि र डमरु (जसलाई बालमणिले मुक्ति नाम दिएको छ)कै यात्रामा एकाकार भइरहन्छन्।
बौद्ध लोककथालाई आधार मानेकाले चलचित्रले भौतिक सुखसयलको लोभमा पर्दा अपराधकर्ममा फस्न सकिने चेतावनी पनि सुषुप्त ढंगले दिइरहेको हुन्छ। जस्तो- अनाथालयका भान्से जेनान (अमनदीप सिंह) बुलेट मोटरसाइकलप्रतिको आसक्तिले तस्करहरूको समूहलाई सघाउन पुग्छन्।
तस्करको पञ्जाबाट मुक्त हुने प्रयासमा बालमणि र मुक्तिले नदी पार गरेको, डुंगा पल्टिएपछि यी दुईले एकअर्कालाई अंकमाल गरेको, बालमणिले बाख्राको दूध खुवाएर मुक्तिको भोक मेटाएको, सडक बालबालिकामा रूपान्तरित बालमणिका साथीहरूले मुक्तिलाई तस्करको अड्डाबाट फुत्काउन मद्दत गरेको जस्ता दृश्यले चलचित्रलाई दर्शनीय बनाएका छन्। यसले बालमणि र मुक्तिबीचको अटूट सम्बन्धलाई पनि संकेत गर्छ।
चलचित्रको उत्तरार्द्धमा समान व्यथा भए पनि बालमणि र मुक्ति दुवैले आआफ्नो विगतलाई स्वीकार गर्दै नयाँ जीवनको शुरूआत गरेको दृश्य सशक्त लाग्छ। यी दुईको पुनःस्थापनालाई चलचित्रमा कलात्मक तरीकाले देखाइएको छ। तस्करी, जलवायु परिवर्तन लगायत विभिन्न कारण बाघको संख्या घट्दो भए पनि बिस्तारै माथिल्ला भेगमा पनि बाघ देखा पर्न थालेको कथनसँगै चलचित्रले आशाको सञ्चार गर्छ।
चलचित्रमा हिमाली क्षेत्रको दृश्यको छायांकन निकै सुन्दर छ। पार्श्वध्वनि कलाकारका अभिनयले पनि चरित्रलाई न्याय गरेका छन्। लूनिभा तुलाधर, भूमिका थारू लगायत कलाकारले सहायक भूमिकाबाटै भए पनि आआफ्नो पात्र स्थापित गरेका छन्।
चलचित्रमा खलनायकलाई स्थापित गर्न नसकिएको, संयोगात्मक घटना धेरै देखाइएको पक्षले केही दर्शकलाई बिझाउन सक्छ, तर यी कमजोरी गौण पनि लाग्न सक्छन्।
इटालीका निर्देशक ब्रान्डो क्विलिचीले बालमणि र डमरुबीचको सम्बन्धको आधारमा बुनेको यस भावनात्मक कथा २१औं संस्करणको काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा पहिलो प्रदर्शनीका रूपमा देखाइएको थियो। किम्फमै जेठ १८ गते शुक्रबार दिउँसो २ बजे चलचित्र पुनः प्रदर्शन गरिंदै छ।
यो पनि पढ्नुहोस् : किम्फमा के देखाइँदै छ?