गृहमन्त्री लामिछाने विरुद्धको मुद्दा फेरि स्थगित
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा दोस्रो दिन पनि स्थगन भएको छ।
गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताको कार्यालय विरुद्धको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ तोकिएको थियो। न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको मुद्दा स्थगन भएको हो।
यसअघि जेठ १६ मा पनि सुनुवाइ स्थगन भएको थियो। न्यायाधीश पोखरेलकै इजलासमा पेशी तोकिएको थियो।
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएका छन्। महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछाने विरुद्ध कुनै पनि अभियोग नरहेको भन्दै पत्र दिएको थियो।
त्यस विरुद्ध अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते सर्वोच्चमा रिट दिएका थिए। रिटमा सहकारी ठगीमा जोडिएका गृहमन्त्री लामिछानेले अनुसन्धानमा अनुचित प्रभाव पारेकाले उनलाई पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ। प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि लामिछाने गृहमन्त्रीको पदमा रहुन्जेल निष्पक्ष अनुसन्धान नहुने रिटमा जिकिर गरिएको छ।
यो रिटमाथि दुई पटक पेशी तोकिए पनि सुनुवाइ स्थगन भएको छ। रिट निवेदककै तर्फबाट सुनुवाइ स्थगन गरिएको सर्वोच्च अदालतले जनाएको छ।
रिट दर्ताका लागि पनि सुनुवाइ गर्नुपरेको थियो। सर्वोच्चका रजिस्ट्रार विमल पौडेलले रिट दर्ता नहुने भन्दै दरपीठको आदेश दिएका थिए। त्यसपछि अधिवक्ता भट्टराईले इजलासमा निवेदन दिएका थिए।
त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो। इजलासको आदेशपछि मात्रै सर्वोच्चमा रिट दर्ता भएको थियो।
अब यो रिटमाथि जेठ २० गते पेशी तोकिएको छ।