सुर्खेत जीप दुर्घटना : चार जनाको मृत्यु, दुई घाइते
सुर्खेतको रातानाङ्लामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार बिहान सुर्खेतबाट कालीकोटतर्फ गइरहेको भे१च २५६० नम्बरको जीप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटना भएको थियो। दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। प्रहरीका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका-३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विकको ज्यान गएको छ।
त्यस्तै, कालीकोट खाँडाचक्र-९ का जीप चालक २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका-३ भर्ताका ३८ वर्षीय नरी कामी घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ।
जीपमा ६ जना सवार थिए। जीप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।