‘हिरासतमा राख्ने योजनामा संलग्नलाई जवाफदेही बनाउन कानूनी उपचारमा जान्छु’
कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई हिरासतमा राख्ने योजनामा संलग्नलाई जवाफदेही बनाउन कानूनी उपचारको बाटो खोज्ने बताएका छन्।
जिल्ला सरकारी वकीलको कार्यालय, धनुषाको निर्णयका आधारमा बुधबार हाजिर जमानीमा रिहा भएपछि सिरोहियाले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। ‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी नौ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानूनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु,’ सिरोहियाले भनेका छन्।
विज्ञप्तिमा सिरोहियाले आफूलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासस्वरूप यस्तो हर्कत गरिएको पनि उल्लेख गरेका छन्।
‘अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैंमा गैरजिम्मेवार हर्कत थियो भन्ने प्रस्ट छ। अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटि भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो,’ सिरोहियाले भने।
पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न आफ्ना वकीलहरूले पटक पटक आग्रह गर्दा पनि आलटाल भएको सिरोहियाको आरोप छ। उनले भने, ‘आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानूनी शासनका लागि चुनौती हो भन्ने मेरो ठहर छ।’
गत जेठ ८ गते थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट सिरोहियालाई पक्राउ गरिएको थियो। उनलाई थप अनुसन्धानका लागि धनुषा लगिएको थियो। हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, धनुषाबाट तीन पटक म्याद थप गरिएको थियो।
उनको स्वास्थ्यमा समस्या देखिएपछि भने गत मंगलबार ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो।