महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयो : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउने उद्देश्यले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याइएको बताएकी छन्।
छैटौं राष्ट्रिय महिला अधिकार दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने बनाइन्। तर राज्यका तर्फबाट महिला, बालबालिका मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन्।
“भर्खरै बजेट आएको छ, तर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका क्षेत्र तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेटको व्यवस्था गरिएको छ,” मन्त्री चौधरीले भनिन्, “विगतभन्दा बजेट बढेको छ, तर समग्रमा हेर्दा बजेट निकै न्यून छ।”
बजेट निर्माण प्रक्रियामा प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पटक पटक कुराकानी गरिएको भए पनि त्यस अनुसार विनियोजन नभएको गुनासो गरिन्। “मैले आफ्नो जीवनकालमा यस्तो महसूस गरेकी थिइनँ कि, मलाई यो पितृसत्तात्मक समाज नै हो भन्ने महसूस भयो,” मन्त्री चौधरीले भनिन्।
कार्यक्रममा पाँच जना महिला उद्यमीलाई पुरस्कृत गरिएको छ। उनीहरूलाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
कोशी प्रदेशबाट मोरङको उर्लाबारी नगरपालिका-७ स्थित निरू ढाका कपडा उद्योगकी सञ्चालक निर्मला चौहान, मधेश प्रदेशबाट बाराको कलैया उपमहानगरपालिका-१६ स्थित जय माता दि कपास उद्योगकी सञ्चालक बविताकुमारी तेली, बागमती प्रदेशबाट ललितपुर-२४ स्थित माउन्टेन बि कन्सर्न प्रालिकी सञ्चालक सरिता श्रेष्ठ भट्टराई, गण्डकी प्रदेशबाट पोखरा उपमहानगरपालिका-११ स्थित हङकङ ब्यूटी इन्स्टिच्यूट प्रालिकी सञ्चालक मिना गुरुङ र सुदूरपश्चिम प्रदेशबाट दार्चुलाको महाकाली नगरपालिका-४ स्थित एभिरिल बेबी शप एन्ड डिजाइनिङ कर्नरकी सञ्चालक तारा देवल पुरस्कृत भएका हुन्।