साँच्चैका सहकारी संकटग्रस्त छैनन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियम पालना गरेर काम गर्ने सहकारी समस्यामा नरहेको बताएका छन्।
काठमाडौंमा आयोजित एमालेको राष्ट्रिय महिला भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ठगेर खानेहरू प्रवेश गरेको सहकारी मात्रै समस्यामा परेको बताए। “अहिले सहकारीमा गैरसहकारीवाला, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी बदनाम भएका छन्, समस्याग्रस्त भएका छन्, संकटग्रस्त छन्,” अध्यक्ष ओलीले भने।
सहकारीको नियम पालना गरेर चलेका सहकारीले राम्रो गरिरहेको उनको भनाइ थियो। “साँच्चैका सहकारी संकटग्रस्त हुँदैनन्, छैनन्,” ओलीले थपे, “आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैन।”
देशका विभिन्न शहरमा सञ्चालित केही ठूला सहकारी समस्यामा परेका छन्। बचतकर्ताको अर्बौं रुपैयाँ डुबेको छ। बचतकर्ताको रकम डुबेका २९ सहकारीको छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिएको छ।
भेलाको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। भेलामा एमालेका २३ वटा जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीका प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी पाँच हजार सहभागी छन्।
काठमाडौंमा बुधबारदेखि शुरू भएको दुईदिने भेलामा समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा छलफल हुनेछ।
यो पनि पढ्नुहोस्: सहकारी छानबिनमा संसदीय समितिले पहिल्याउनुपर्ने बाटो