सहकारीले चैन खोस्यो, सरकारले भरोसा
बुढ्यौलीका लागि जोगाएको रकम फिर्ता नआउँदा ८४ वर्षे उमेरमा आन्दोलनमा धाइरहेछन् बचतकर्ता।
विश्वनाथ सिन्हाले प्राध्यापन पेशामा ५४ वर्ष बिताएपछि २०६८ सालमा अवकाश पाए। अबको पूँजी भनेकै सञ्चयकोष र उपदानमा जम्मा भएको रकम थियो। दम्पतीबीच त्यो पैसा झिकेर अलिक ब्याज आउने ठाउँमा राख्ने सल्लाह भयो।
ब्यांकभन्दा सहकारीको जगजगी रहेको समय थियो त्यो। बढीभन्दा बढी ब्याज दिने प्रतिस्पर्धा थियो।
सिन्हाले धेरै सोच्नै परेन। किनकि उनकै विद्यार्थी इच्छाराज तामाङले खोलेको चल्तीको सहकारी छँदै थियो, सिभिल सहकारी। तामाङलाई उनले पुल्चोक इन्जिनीयरीङ क्याम्पसमा पढाएका थिए। विद्यार्थीकै सहकारीमा राख्दा सुरक्षित हुने ठानेर गएका सिन्हालाई तामाङले पनि त्यस्तै आश्वासन दिए।
अरू साथीले सबै पैसा एउटै सहकारीमा नराख्न सल्लाह नदिएका होइनन्। तर १५ प्रतिशत ब्याजको लोभ पाएका सिन्हालाई त्यसले छोएन।
त्यो सल्लाह नसुनेकोमा अहिले भने उनलाई पछुतो छ। अनुहार मलिन बनाउँदै भन्छन्, “५४ वर्ष पढाएर कमाएको पैसा सहकारीले खाइदियो, एक करोड १९ लाख रुपैयाँ डुब्यो।”
यही पीरले सिन्हालाई ८४ वर्षे उमेरमा पनि आराम छैन। जेठ ९ गते बुधबार उनी छाता टेक्दै पुतलीसडक आइपुगेका थिए, आफू जस्तै सहकारीपीडितको हुलमा मिसिएर। रिपोर्टर्स क्लबमा थप आन्दोलन कसरी अघि बढाउने भन्ने छलफल हुँदै थियो।
आज ८२ वर्षीया पत्नी जितनीदेवी चाहिं साथमा थिइनन्। नत्र सुगरकी बिरामी उनी पनि नयाँ बानेश्वरबाट पतिसँगै कहिले आन्दोलन, कहिले धर्ना त कहिले पत्रकार सम्मेलन धाइरहन्छिन्।
पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा सिन्हाका विद्यार्थी रहेका तामाङ पछि त्यहीं अध्यापक भए। त्यहीं पढाउँदा-पढाउँदै सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ चलाउन थाले। आफ्नो विद्यार्थीको यस्तो प्रगति देखेर खूब खुशी मान्थे सिन्हा। तामाङप्रति यतिसम्म आश्वस्त थिए कि थपिएको ब्याजको रकम समेत झिक्दैनथे।
पछि सहकारीमा पैसा हिनामिना हुन थालेको चर्चा चल्यो। सिन्हाले मुद्दती खाताको रकम सुरक्षित गर्न एक करोड एक लाख रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाइसकेका थिए। चेक पनि काटिसकिएको थियो। तर आफ्नै विद्यार्थीले के फसाउला र भन्ने ठानेर उनले ६ दिनपछि त्यो फिर्ता गरिदिए।
बिस्तारै सहकारी संकटमा पर्दै गयो। सिन्हालाई अब त पैसा झिक्नुपर्छ भन्ने लाग्यो। तर हातमा कहिले १० हजार त कहिले पाँच हजारभन्दा पर्दै परेन। तीन वर्षयता त ठप्पै छ। सिन्हा छाँगाबाट खसे झैं भएका छन्।
आन्दोलनमा धाउँदा धाउँदा थकित सिन्हा सुस्केरा हाल्दै भन्छन्, “पाउरोटी मात्र खाएर जोगाएको पैसा डुब्यो, मेरो भाग्य नै यस्तै रहेछ।”
सिभिल सहकारीमै जायजेथा राखेकी मीरा धिताल भट्टराई पनि दुई वर्षयता आन्दोलनमा धाइरहेकी छन्। भट्टराईका अनुसार उनको नाममा ५० लाख र पति दिलीपका नाममा ३३ लाख रुपैयाँ जम्मा गरिएको थियो।
“समस्या पर्दा काम लाग्छ भनेर राखेको पैसा पति क्यान्सरले थलिंदा समेत फिर्ता पाइनँ,” उनी भन्छिन्, “सरकारले जनतालाई आर्थिक सुरक्षा दिन नसक्दा अहिले हजारौंको बिचल्ली भयो।”
उनका अनुसार सिभिल सहकारीमा दुई हजार ५६ बचतकर्ताको रकम डुबेको छ। सिभिलका सञ्चालक तामाङ बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएसँगै कैदमा छन्। संविधानसभा सदस्य तामाङ सिभिल ब्यांकका समेत अध्यक्ष हुन्।
सिभिलका मात्र होइन, अरू थुप्रै सहकारीका बचतकर्ता पनि उस्तै पीडामा छन्। रकम फस्नु र आन्दोलनमा उत्रनु साझा नियति बनेको छ। उनीहरू कतिसम्म सकसमा छन् भन्ने ती आन्दोलनमा लाग्ने नाराबाट पनि थाहा हुन्छ- बुढेसकालमा कसले किनिदेला औषधि, कसले सोध्ला पानी?
सहकारीपीडित दुई वर्षयता नियमितजसो आन्दोलनमा छन्। रकम फिर्ता दिलाइदिने भन्दै सरकारले पटक पटक सम्झौता गर्छ, तर पालना गर्दैन। त्यसैले उनीहरूले जेठ ११ बाट तेस्रो चरणको आन्दोलन थालेका छन्।
आन्दोलनको नेतृत्व गरिरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीका अनुसार देशभर कुल २९ हजार ८८६ सहकारीका ७३ लाख सात हजारभन्दा बढी सदस्य छन्। तीमध्ये ३५० वटा सहकारीबाट बचत फिर्ता नपाएको भन्दै १४ लाखभन्दा बढी सम्पर्कमा आएका छन्।
सरकारले हालसम्म २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। तिनीहरूमाथि कुल ३५ अर्ब ९८ करोड ८० लाख रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप छ।
यो पनि पढ्नुहोस् :