गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को को बने मन्त्री?
गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिएका छन्।
बुधबार अपराह्न आयोजित विशेष समारोहमा मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
त्यस्तै, मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुख भट्टले दुई मन्त्री पनि नियुक्त गरेका छन्। आर्थिक मामिलामन्त्रीमा डा. टकराज गुरुङ र जलस्रोतमन्त्रीमा बिन्दु थापा नियुक्त भएका हुन्। उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख भट्टले बुधबार नै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। उनी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका हुन्।
यस उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरेपछि नयाँ मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको थियो।
प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुख सहित आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।