नेपालमा छायांकन भएको ‘द टाइगर्स नेस्ट’ प्रदर्शनसँगै किम्फ शुरू
इटालीका निर्देशक ब्रान्डो क्विलिचीको द टाइगर्स नेस्ट चलचित्रको एशिया प्रिमियरसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) शुरू भएको छ।
द टाइगर्स नेस्ट एक किशोर (बालमणि) र बाघको डमरुबीचको आत्मीय सम्बन्धको कथा हो। भुइँचालोमा आमा गुमाएपछि अनाथ आश्रममा बसिरहेका बालमणिले नजिकै जंगलमा रहेको डमरुलाई शिकारीबाट जोगाएर उद्धार गर्छन्। त्यसपछि यी दुईबीच मित्रता गाँसिन्छ।
उनीहरू हिमालयसम्मको रोमाञ्चक यात्रामा निस्कन्छन्। तर शिकारी र अनाथ आश्रमका सञ्चालक पनि पछिपछि दौडिन्छन्, जसले यी दुई पात्रको यात्रामा आरोहअवरोह ल्याइदिन्छ।
चलचित्रको कथा बौद्ध धर्मको एउटा किंवदन्तीमा आधारित छ। मान्छे र जनावरको भावनात्मक सम्बन्धको कथा चित्रण गर्ने यस चलचित्रमा हिमालको प्राकृतिक चित्रण पनि उत्तिकै सशक्त छ।
नेपालमा छायांकन भएको यस चलचित्रमा नेपाली कलाकार लुनिभा तुलाधर, भूमिका चौधरी लगायतको पनि अभिनय छ। एक घन्टा ३४ मिनेटको द टाइगर्स नेस्ट शुक्रबार २ बजे पुनः प्रदर्शन हुनेछ।
यसअघि उद्घाटन समारोहमा लेखक तथा निर्देशक जोन पोर्टरले मुख्य प्रवचन दिएका थिए। आफू ४५ वर्षअघि पहिलो पटक नेपाल आएको समय र अहिले धेरै कुरा परिवर्तन भएको बताउँदै पोर्टरले भने, “नेपालीको हाँसो भने जस्ताको तस्तै छ।”
मानव सभ्यतामा हिमाली पर्वतमालाको ठूलो प्रभाव रहेको उनको भनाइ थियो। सगरमाथा दिवसकै सन्दर्भ जोडेर किम्फ आयोजना हुनु अर्थपूर्ण रहेको उनले बताए। पहिलो पटक सगरमाथा आरोहण गरेको दिनको स्मरण गर्दै २९ मेमा सगरमाथा दिवस मनाउने गरिन्छ।
त्यस्तै, उद्घाटन समारोहमा बोल्दै किम्फ अध्यक्ष रम्यता लिम्बूले महोत्सवको विषयवस्तु ‘परिवर्तनको प्रतिध्वनि’ ले किम्फकै परिवर्तनलाई पनि इंगित गर्ने बताइन्। किम्फको दुई दशक लामो यात्रामा दर्शक, ओटीटीको प्रभाव, कोभिड-१९ र आर्थिक पक्षले नयाँ नयाँ परिवर्तन आत्मसात् गर्दै अघि बढेको लिम्बूले उल्लेख गरिन्।
“किम्फमा छनोट भएका विदेशी फिल्म मार्फत विश्वव्यापी र नेपाली फिल्म मार्फत हाम्रै समाजका मुद्दाहरू र कथाशैलीबारे जानकारी तथा अनुभव लिन पाइन्छ,” उनले भनिन्।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले किम्फको सहआयोजक हुन पाएकोमा खुशी व्यक्त गरे। “सिनेमा नेपाली कला-संस्कृतिलाई विश्वमञ्चमा पुर्याउने माध्यम हो र किम्फले त्यो अवसर प्रदान गरेको छ,” परियारले भने।
उद्घाटन सत्रमा श्रीतारा ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना भइरहेको महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुँदै छन्। महोत्सव जेठ २० गतेसम्म चल्नेछ।
यो पनि पढ्नुहोस् : किम्फमा के देखाइँदै छ?