आमजनतामा आशा जगाउने गरी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आमजनतामा आशा जगाउने गरी बजेट ल्याएको बताएका छन्।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पुनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने दाबी गरे। बजेट मार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको उनको भनाइ थियो।
“आगामी आर्थिक वर्षको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ,” अर्थमन्त्री पुनले भने, “हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोशिश गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ।”
नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको उनको भनाइ थियो। “आमजनतामा आशा जगाउने गरी बजेट आएको छ,” पुनले भने, “बजेटले उद्यमी व्यवसायीलाई आशा जगाउने अपेक्षा गरेका छौं।”
बजेटले युवालाई मुलुकभित्रै काम गर्ने वातावरण सिर्जना गर्ने उनको भनाइ थियो। “देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृत्ति बढेको छ। सजिलै विदेशको बाटो रोज्नेभन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ,” उनले भने।
करका दर परिवर्तन गर्दा पनि आवश्यकता र औचित्यमा ध्यान दिइएको उनको दाबी छ। “कुनै पनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएका छन्,” पुनले भने।
बजेटका प्राथमिकता र उद्देश्य धेरैतर्फ छर्नेभन्दा पनि कृषि, ऊर्जा, सूचना प्रविधि लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति अवलम्बन गरेको अर्थमन्त्री पुनले बताए। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अबको १० वर्षमा रु.३० खर्बको निर्यात पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ थियो।