मुस्ताङी ‘राजा’ को जलवायु चिन्ता
हिमाली क्षेत्रका लाखौं बासिन्दालाई जस्तै अचेल मुस्ताङी ‘राजा’ जिग्मे सिंगी पलवर विष्टलाई पनि जलवायु परिवर्तनले निम्त्याइरहेको संकटले चिन्तित बनाएको छ।
नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संविधान सभाबाट २०६५ जेठ १५ मा गणतन्त्र घोषणा हुँदा नजिकैको नारायणहिटी राजदरबारमा मात्रै होइन, हिमालपारिको मुस्ताङ दरबारमा पनि सन्नाटा छायो। मुस्ताङी राजा सिग्मे पलवर विष्ट पनि चिन्तित बने। किनकि उनको पनि पद गुमेको थियो।
तर राजा विष्टको चिन्ता धेरै दिन रहेन। राजकीय पदबाट स्वतः अवकाश पाए पनि मुस्ताङवासीको प्रेम र सम्मान उस्तै रहिरह्यो। मुस्ताङको जनजीवनमा पूर्ववत् सक्रिय रहे। मुस्ताङवासीसँगै मुस्ताङ पुग्ने स्वदेशी तथा विदेशीसँगको भलाकुसरी यथावत् रह्यो।
मुस्ताङका जनताका लागि राजाकै रूपमा रहिरहे। गाउँका समस्या, पूजाआजा, परम्परागत गतिविधिमा जनताले राजदरबार धाउन छाडेनन्। मुस्ताङवासी विभिन्न सांस्कृतिक उत्सवमा राजा विष्टसँगै रमाइरहे।
राजा विष्टको २०७३ पुस १ गते ८६ वर्षको उमेरमा निधन भयो। त्यसपछि जिग्मे सिंगी पलवर विष्ट उत्तराधिकारी भए। निधन हुनुअघि नै राजा विष्टले जिग्मे सिंगी पलवर विष्टलाई उत्तराधिकारी घोषणा गरेका थिए।
संवैधानिक रुपमा युवराज वा राजा हुन नपाएकोमा चिन्ता छैन, विष्टलाई। चिन्ता छ त मुस्ताङ र मुस्ताङी जनताको। किनकि अझै पनि मुस्ताङवासीले उनलाई राजाकै रूपमा प्रेम र सम्मान दिइरहेका छन्। प्रशासनिक अधिकार नभए पनि ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक रूपमा राजालाई मान्ने परम्परा मुस्ताङमा अद्यापि छ। स्थानीय सरकारले समेत ‘मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा’ भनेर उल्लेख गर्दै आएका छन्।
६७ वर्षीय ‘राजा’ विष्टलाई अचेल त अर्को एउटा चिन्ता थपिएको छ, जलवायु संकट। “अहिले त हिमालमा हिउँ देखिंदैन, पोखरीहरू साना भएका छन्,” उनी भन्छन्, “भविष्य चाहिं राम्रो छैन।”
राजा र जलवायु संकट
२०८० साउन २८ गते मुस्ताङमा अत्यधिक पानी पर्यो। कागबेनी लगायत खोलानालामा बाढी आयो। कागबेनीको बाढीले ३० घर बगायो भने कैयौं भौतिक संरचना नष्ट भए। बाढीले विस्थापित स्थानीय बासिन्दा पूर्ववत् अवस्थामा फर्किन सकेका छैनन्।
उपल्लो मुस्ताङको थिंग्र गाउँमा हुर्किएका ‘राजा’ विष्ट बाल्यकालमा ठूलो पानी परेको र बाढी आएको नदेखेको बताउँछन्। उनी थिंग्र गाउँबाट पश्चिम क्षेत्रसम्म घुम्न निस्किन्थे। गाउँमा घुमफिर गर्दा हिउँको थुप्रो, पोखरी देखेको बाल्यकालको सम्झना अझै पनि ताजा रहेको सुनाउँछन्।
अहिले हिउँ पर्न कम भएको छ। पहिलो जस्तो चिसो पनि हुँदैन। पाँच दशकअघिको तुलनामा अहिले मुस्ताङमा गर्मी महसूस हुने गरेको बताउँछन्।
वैज्ञानिकले पनि विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको बताउँदै आएका छन्। जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि मुस्ताङमा तापक्रम बढिरहेको पुष्टि गर्छ।
विभागको जोमसोम स्टेशनले रेकर्ड गरेको तथ्यांक अनुसार जोमसोमको वार्षिक तापक्रम पछिल्लो १२ वर्षमा केही बढेको देखिएको छ। २०६८ सालमा जोमसोमको वार्षिक तापक्रम १७.६८ डिग्री सेल्सियस रहेकोमा २०८० सालमा ०.३२ डिग्रीले बढेर १८ डिग्री सेल्सियस पुगेको छ।
मुस्ताङको हावापानी परिवर्तन भएको विष्टले पनि महसूस गरेका छन्। पहिला हिउँ पर्ने समयमा हिउँ, पानी पर्ने समयमा पानी र हावा चल्ने समयमा हावा चल्थ्यो, मजाले। सबै थोक आफ्नै लयमा हुन्थ्यो, जसको मुस्ताङवासीलाई कुनै असर परेको थिएन।
तर अहिले बेमौसमी पानी पर्ने, हिउँ नपर्ने, हावा जोडले चल्ने गरेकाले असर परिरहेको उनी बताउँछन्। “हावापानीमा धेरै परिवर्तन भएको छ। अहिले गाह्रो पनि छ,” विष्ट भन्छन्, “म सानो हुँदा त्यस्तो ठूलो पानी परेको याद छैन।”
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि जोमसोममा वर्षाको अनुपात बढेको देखाँउछ। २०६७ सालमा जोमसोममा वार्षिक २८६.२ मिमि वर्षा भएकोमा २०७८ सालमा ६६५.७९ मिमि वर्षा भएको तथ्यांक छ।
बेमौसमी र ठूलो वर्षाले मुस्ताङका ढुंगाले छाएका परम्परागत घरमा असर पुगेको छ। परम्परागत घरले ठूलो पानी थेग्न सकेका छैनन्। त्यसैले त्रिपाल लगाएर त्यसमाथि ढुंगाले छाउने तथा ढलान गर्न थालिएको छ। केहीले जस्ताको छाना हाल्न शुरू गरेका छन्।
स्थानीय बासिन्दा पनि अहिले लगातार पानी पर्ने गरेको बताउँछन्। जसका कारण परम्परागत घर चुहिने गरेका छन्। विष्ट बाल्यकाल र युवावस्थामा पनि यस्तो नदेखेको सुनाउँछन्। “हाम्रो फेरि त्यही ‘फ्ल्याट’ घर हुन्थ्यो। पानी, हिउँले समस्या हुँदैनथ्यो,” उनी भन्छन्, “अहिले त छत चुहिएर त्रिपालले छोप्नुपर्ने अवस्था छ, केही परिवारले जस्ताले छोप्न पनि शुरू गरिसकेका छन्।”
जलवायु संकटको प्रभावले मुस्ताङका परम्परागत घर, गुम्बा, सम्पदा लगायत संरचनामा नै असर पर्ने देखिएको उनी बताउँछन्। त्यसैले स्वर्गीय बुबाको नाममा स्थापित लोग्याल्पो जिग्मे फाउन्डेशन मार्फत जलवायु संकट र सामाजिक क्रियाकलापमा लागिरहेको विष्ट सुनाउँछन्। “यस वर्ष मुस्ताङमा जलवायु संटकका विषयमा अध्ययन पनि गर्न लागिरहेका छौं,” उनी भन्छन्, “जलवायु परिवर्तनको असरबारे अध्ययनपछि त्यही अनुरूप कार्यक्रम ल्याउने योजना पनि बनाइरहेका छौं।”
घट्दै घोडा, याक र भेडा
जिग्मे पलवर विष्ट राजा छँदा ६५ वटा घोडा थिए। अहिले जिग्मे सिंगी पलवर विष्टसँग पाँच वटा मात्रै घोडा छन्। पूर्व राजपरिवार मात्रै होइन, मुस्ताङवासीले पनि घोडा पाल्न छाड्दै गएका छन्। युवा विदेशिंदै जानु र घोडाको खान्कीको उत्पादन घट्दै जानुले मुस्ताङमा घोडा, याक, भेडाको संख्या कम हुँदै गएको उनी बताउँछन्।
सडक नपुग्दा मुस्ताङवासीले यात्रा गर्न घोडा र सामान ढुवानीका लागि खच्चडको प्रयोग गर्थे। विष्ट पढाइका लागि उपल्लो मुस्ताङबाट तल्लोे मुस्ताङ (जोमसोम) झरेका थिए। “कहिले पैदल त कहिले घोडामा गरी तीन दिन लगाएर जोमसोम झर्थ्यौं,” उनी सम्झन्छन्, “हाम्रा लागि घरबाट आउने खानेकुरा खच्चडमा नै ल्याइन्थ्यो।”
मुस्ताङवासीका लागि त्यति वेला घोडाको ठूलो महत्त्व थियो। सडक र यातायात पुगेपछि मुस्ताङमा घोडा पाल्ने क्रम घटेको छ। मुख्य सांस्कृतिक कार्यक्रममा मात्रै घोडाको प्रयोग हुने गरेको छ।
२०८० असारमा ‘राजा’ विष्टले जेठा छोरा जिग्मे धिन्डुप फुन्छोक पलवर विष्टको विवाह गराएका थिए। विवाहको दिन लोमान्थाङ गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो। विवाह समारोहलाई विशेष बनाउन सबै गाउँलेले आआफ्नो घोडा ल्याएका थिए।
“मैले छोराको बिहे काठमाडौंमा नै गर्न खोजेको थिएँ, तर गाउँका सबैले यता (मुस्ताङ) नै गर्नुपर्छ भने,” विष्ट सुनाउँछन्, “त्यसपछि गाउँले दाजुभाइ, दिदीबहिनीले नै माया गरेर आफैं घोडा लिएर आए। त्यति वेला झन्डै २५० घोडा ल्याएका थिए।”
त्यस्तै, लोमान्थाङ नजिकैको चुम्जुङ गाउँ याक र भेडामै निर्भर रहन्थ्यो। चुम्जुङ याक र भेडाको गाउँकै रूपमा चिनिन्थ्यो। अहिले त्यहाँ पनि याक र भेडाको संख्या कम भएको विष्ट बताउँछन्।
पछ्याउँदै बुबाका पदचाप
मुस्ताङी ‘राजा’ विष्ट अहिले काठमाडौं र मुस्ताङ आउजाउ गरिरहन्छन्। ९२ वर्षकी आमाको रेखदेखका लागि काठमाडौं रहनुपर्ने बाध्यता पनि छ। उनी विष्टलाई जन्म दिने आमा भने होइनन्।
पूर्व राजा जिग्मे पलवर विष्टका तीन दाजुभाइ थिए। उनी सबैभन्दा कान्छा थिए। जेठा दाजु अल्पायुमै बिते र उनका छोरा थिएनन्। माइला दाजु लामा बने। उनैका एक्ला छोरा हुन्, जिग्मे सिंगी पलवर विष्ट।
सानै छँदा आमाको निधन भयो। बाबु पनि लामा भएर डोल्पातिर लागेपछि उनको रेखदेखको जिम्मा राजपरिवारका कान्छा सदस्य जिग्मे पलवर विष्टले लिए। दाइले छोडेर गएपछि उनी नै मुस्ताङका राजा बने। राजा विष्टले पनि भाइको छोरा जिग्मे सिंगी पलवर विष्टलाई नै उत्तराधिकारी घोषणा गरे।
परिस्थितिले मुस्ताङी राजाका उत्तराधिकारी बनेका हुन्, जिग्मे सिंगी पलवर विष्ट। देश गणतन्त्रमा गइसकेपछि सांस्कृतिक प्रतीक रूपमा मात्रै राजा भन्ने गरेको उनी सुनाउँछन्। “नाम मात्रैको राजा हो,” विष्ट भन्छन्, “यो सबै त गाउँले दाजुभाइ, दिदीबहिनीको माया, एकता र सद्भाव हो भन्ने बुझेको छु।”
राजा जिग्मे पलवर विष्टका एक छोरा थिए। उनी सानैमा बिते। गणतन्त्र आइसकेपछि कानूनी रूपमा राजाको पदवी त खोसियो, तर मुस्ताङवासीले उनैलाई राजा मानिरहे। अहिले जिग्मे सिंगी पलवर विष्टलाई पनि मुस्ताङवासीले राजाकै रूपमा मान्यता दिइरहेका छन्। उनी पनि आफ्नो जीवन मुस्ताङका जनताकै लागि समर्पित गरिरहेको बताउँछन्।
मुस्ताङवासीलाई आफ्नै दाजुभाइ, दिदीबहिनी जस्तै ठान्छन्। धेरै समय मुस्ताङमै बिताउँछन्। आमाको सेवाका लागि कहिलेकाहीं काठमाडौं पुग्छन्। जन्मदिने आमाको त उनलाई सम्झना छैन। “मलाई त आफ्नै आमाको अनुहार याद छैन,” राजा विष्ट भन्छन्, “उहाँहरूकै छोरा भए। मलाई एकदमै मायाले हुर्काउनुभयो। बुबा कामकाजमा व्यस्त हुँदा आमाले झन् माया गर्नुभयो।”
उत्तराधिकारीका रूपमा बुबाले जनताका लागि सोच्नु, काम गर्नु, सम्झनु भन्ने गरेको उनी बताउँछन्। “बुबाको कामले नै मुस्ताङको विकास र संरक्षण भइरहेको छ,” उनी भन्छन्, “अहिले सबैले काम गरिरहेका छन्। मैले संस्था मार्फत मुस्ताङमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गरिरहेको छु।”
हुन पनि राजा जिग्मे पलवर विष्ट मुस्ताङको विकास र जनताको सहज जीवनयापनका लागि खटिन्थे। उनकै समयमा जीर्ण गुम्बा, स्तूपको पुनर्निर्माणको गरिएको थियो। “बुबा घरमा भन्दा बढी बाहिर नै हुनुहुन्थ्यो, सम्पदा संरक्षणका लागि हिंड्नुभयो, बोर्डरमा शान्ति कायम गर्न पनि जानुहुन्थ्यो,” उनी सम्झन्छन्।
बुबाका पदचाप पछ्याइरहेका राजा विष्ट व्यावसायिक रूपमा पनि सक्रिय छन्। उनी लोमान्थाङमा रिसोर्ट सञ्चालन गरिरहेका छन्। स्थानीय बासिन्दासँगै स्वदेशी तथा विदेशी आगन्तुकसँग कुराकानी, छलफल गरिहन्छन्।
जलवायु परिवर्तनले ल्याएको संकटका कारण मुस्ताङको जनजीवनमा प्रभाव परिरहेको उनले देखेका छन्, भोगेका छन्, महसूस गरेका छन्। स्थानीय बासिन्दालाई पनि जलवायु परिवर्तनले अप्ठ्यारो पार्दै गएको बताउँछन्।
गत वर्ष तल्लो मुस्ताङमा हिउँ परेन। यस वर्ष पनि हिउँ नपरेको राजा विष्ट सुनाउँछन्। हिउँ नपर्दा खेतीमा असर परिरहेको छ। परम्परागत बालीको उत्पादन कम हुँदै गएको छ भने औलोतिर फल्ने बालीको मुस्ताङमा उब्जनी हुन थालेको छ।
राजा विष्ट मुस्ताङमा बढ्दो जलवायु संकटको प्रभावसँग लड्न ठूला राष्ट्रको सहयोग आवश्यक रहेको महसूस गर्छन्। यससँगै गाउँले एकबद्ध भएर नै यसको प्रभावसँग लड्नुको विकल्प नरहेको उनी सुनाउँछन्। “मुस्ताङसँगै हिमाली क्षेत्रका बासिन्दा पनि सचेत हुनु जरुरी छ,” उनी भन्छन्, “जलवायु संकटसँग लड्न ठूला राष्ट्रले पनि सघाउनुपर्छ।”
यति वेला उनी आमाको रेखदेखका लागि काठमाडौंमा छन्। काठमाडौंको धूलो र धूवाँमा उनी आफ्नै गाउँघर लोमान्थाङको हावापानी सम्झिरहेका छन्। “जलवायु परिवर्तनले सबैतिर असर त परेको छ, तैपनि मुस्ताङको हावापानी काठमाडौंको जति बिग्रिएको छैन,” राजा विष्ट भन्छन्, “मुस्ताङसँगै हिमाली क्षेत्रलाई जलवायु संकटबाट जोगाउनु ढिलाइ गर्नुहुन्न।”