आगामी वर्ष नौ सय मेगावाट बिजुली थपिने
सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा विद्युत् क्षमता चार हजार ५०० मेगावाट पुग्ने बताएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ९०० मेगावाट बिजुली थप हुने बताए। ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कुल जडित क्षमता बढ्ने बजेटमा उल्लेख गरिएको छ।
हाल प्रतिव्यक्ति विद्युत् खपत क्षमता ३८० किलोवाट रहेकामा आगामी वर्ष त्यसलाई बढाएर ४५० किलोवाट पुर्याउने लक्ष्य छ। मन्त्री पुनले आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बाङ्लादेश निर्यात गर्ने घोषणा पनि गरेका छन्।
सुक्खा यामको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई पनि विशेष प्राथमिकतामा राखेको मन्त्री पुनले बताएका छन्। निर्माण प्रक्रियामा जाने तयारीमा रहेको एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण शुरू गरिने घोषणा पनि गरेका छन्।
आयोजना निर्माणका लागि वित्तीय स्रोतको सुनिश्चितताका लागि दुई वटा ढाँचा प्रस्ताव गरिसकिएको उनले बताएका छन्। जलाशययुक्त आयोजनाको बाँध र विद्युत्गृह छुट्टाछुट्टै निर्माण गर्ने गरी आवश्यक व्यवस्था गरिने बजेटमा उल्लेख छ।
६३५ मेगावाट क्षमताको दूधकोशी, ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण शुरू गर्ने व्यवस्था बजेटमा गरिएको पुनले बताएका छन्।
सरकारले वैदेशिक रोजगारीमा रहेका नागरिकको लगानीलाई सुरक्षित गर्ने गरी ७७.५ मेगावाट क्षमताको घुन्सा खोला र ७०.३ मेगावाट क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजनाको निर्माण शुरू गर्ने पनि घोषणा गरेको छ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत १०६ मेगावाट क्षमताको जगदुल्ला, ९९.९ मेगावाट क्षमताको तामाकोशी पाँचौं, २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत् आयोजना निर्माण शुरू गर्ने लक्ष्य निर्धारण गरिएको छ।
सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न परम्परागत ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाको उपयोग र प्रवर्द्धन मार्फत विस्थापन गर्दै जाने लक्ष्य राखिएको मन्त्री पुनले बताएका छन्। निजी क्षेत्रको लगानीमा १०० मेगावाट क्षमता बराबरको सौर्य ऊर्जा प्रणाली जडानका लागि आवश्यक व्यवस्था बजेटले गरेको छ।
हरित हाइड्रोजनको उत्पादन, भण्डारण र प्रयोगलाई प्रोत्साहन गर्ने सरकारको नीति छ। ढल्केबर-इनरुवा प्रसारण लाइन, बाह्रबिसे-खिम्ती-लप्सीफेदी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गरिने प्रतिबद्धता मन्त्री पुनले जनाए। सेती करिडोर, भेरी करिडोर र बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण शुरू गर्ने सरकारले लक्ष्य निर्धारण गरेको उनले बताएका छन्।