गोरखा मिडिया सहित २९ सहकारीको छानबिन हुने
गोरखा मिडिया नेटवर्क प्रालि सहित २९ सहकारीको संसदीय छानबिन हुने भएको छ।
संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्न गठित कार्यदलले गोरखा मिडिया नेटवर्क सहित २९ सहकारीको छानबिन गर्ने सहमति गरेको हो। कार्यदलले संसदीय छानबिन समितिका लागि चारबुँदे कार्यक्षेत्र तय गरेको छ।
सहकारीको छानबिनका लागि ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिने भएको हो। सात सदस्यीय छानबिन समितिमा तीन जना महिला सदस्य हुने तय गरिएको छ।
विशेष समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानूनी र संस्थागत प्रयोजन एवं प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धनमा अध्ययन गरी सुझाव दिनेछ।
त्यस्तै, समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिश गर्ने भएको छ।
तेस्रो बुँदामा सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका २० वटा संस्था लगायत सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ताको प्रक्रियाबारे अध्ययन गरी बचत फिर्ताको उपाय सुझाइने उल्लेख छ।
चौथो बुँदामा सहकारी संस्था सदस्य एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानिनोक्सानी पुर्याएको भनेर संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका नौ वटा सहकारीको अध्ययन गर्ने उल्लेख छ।
त्यस्तै, सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थामा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानूनी रूपमा प्रवाह भए/नभएको र त्यस्तो गैरकानूनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूबारे अध्ययन छानबिन गर्नेछ। जोखिममा परेको रकमको असुलीको उपाय र त्यसमा संलग्न देखिएका व्यक्तिहरूलाई कानून बमोजिम कारबाहीका लागि सिफारिश गर्ने सहमति भएको हो।
सहमतिपत्रमा कार्यदलका संयोजक पदम गिरी, सदस्यहरू जीवन परियार, महेश बर्तौला, शिशिर खनालसँगै बैठकमा उपस्थित हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन्। कार्यदलले मंगलबार संसदीय छानबिन समितिको कार्यक्षेत्र सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ।
छानबिन हुने सहकारीहरू :
१) ओरियन्टल को-अपरेटिभ लिमिटेड
२) स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
३) प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को-अपरेटिभ लिमिटेड
४) प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
५) कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
६) कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
७) कुवेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
८) चार्टर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
९) भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१०) स्ट्यान्डर्ड मल्टिप्रपोज को-अपरेटिभ लिमिटेड
११) सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१२) लु:निभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१३) पशुपति सेभिङ क्रेडिट को-अपरेटिभ लिमिटेड
१४) शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१५) तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१६) हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
१७) कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१८) कान्तिपुर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड
१९) लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२०) गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२१) आईडियल यमुना बहुउद्देश्यीय संस्था लिमिटेड
२२) ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२३) सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२४) समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२५) सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२६) सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२७) सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२८) सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२९) स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड