पाँच युवाले १३ करोड लगानी गरेको बाख्रा फार्म
करोडौं लगानी गरे पनि बजार सुरक्षित नभएकैले यी व्यवसायीमा उत्साह भने कमै छ।
मकवानपुर हेटौंडाका गोविन्द सुवेदी र सीताराम अधिकारीले १० वर्षअघि बाख्रा फार्म स्थापना गरेका थिए- सिमलथली एग्रो प्रालि। ५० वटा बाख्रा, बाख्राको खोर र घाँसका लागि बिरुवा समेतको व्यवस्थापन गर्दा शुरूआती लगानी नै ८० लाख रुपैयाँ पुगेको थियो।
व्यवसाय फस्टाउँदै गयो, दुई वर्षमै बाख्राको संख्या २०० पुग्यो। अहिले व्यवसाय विस्तार गर्दै जाँदा फार्ममा बाख्राको संख्या ८०० पुगेको छ। १८ जनाले रोजगारी पाएका छन्। फार्मको लगानी पनि १३ करोड रुपैयाँ पुगेको छ।
सिमलथली एग्रो १० बिघा जग्गामा फैलिएको छ। यसमध्ये आठ बिघा भाडाको हो, जसको वार्षिक भाडा ६ लाख रुपैयाँ छ। कम्पनीको नाममा रहेको दुई बिघामा आधुनिक शैलीको खोर निर्माण गरिएको छ। जसमा बोयर प्रजातिका बाख्राहरू उमेर अनुसार छुट्टाछुट्टै समूहमा राखिएका छन्।
“जाँगर भए कामको खोजीमा विदेश जानु पर्दैन, हामीले आफू मात्रै होइन, अरूलाई पनि रोजगार दिन सकेका छौं,” गोविन्द भन्छन्। हेटौंडा उपमहानगरपालिका-३ मा रहेको यस फार्म सञ्चालकलाई बागमती प्रदेश सरकारले उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत गरेको गोविन्द बताउँछन्।
गोविन्द र सीतारामले हालेको व्यावसायिक जगमा अहिले काठमाडौंका पवन आचार्य, हेटौंडाकै कृष्ण सुवेदी र दोलखाका राजु अधिकारीले पनि लगानीको इँटा थपेका छन्। बाख्रापालनका क्षेत्रमा नमूना ढंगले काम गर्न लगानी गरेको पवन बताउँछन्। कृष्ण र राजुले कुनै समय वैदेशिक रोजगारमा भुक्तमान खेपेका थिए। मलेशिया र कतारमा नौ वर्ष कठिन जीवन बिताएका राजु भन्छन्, “हामी आफैं सञ्चालक र कामदार हौं। काम सानो वा ठूलो हुँदैन, आत्मनिर्भरता मुख्य कुरा हो।”
सिमलथली एग्रोले व्यावसायिक बाख्रापालनबारे सैद्धान्तिक ज्ञान र व्यावहारिक तालीम पनि प्रदान गर्दै आएको छ। हालसम्म ४०० घरका १२०० जनालाई बाख्रापालन सम्बन्धी तालीम दिइसकेको छ। बोयर जातका बाख्रा पालेका अन्य जिल्लाका कृषकहरू पनि अवलोकनका लागि यहाँ आउने गरेका छन्। फार्मसँगैको खेतका गरा गरामा बाख्रालाई आवश्यक पर्ने घाँस खेती गरिएको छ। फार्मबाटै ७० वटा जिल्लामा बीउका रूपमा बोयर जातका बोका पनि पुर्याइएको छ। बाख्रामा नश्ल सुधारका लागि उत्पादित पाठापाठीको बजारीकरण समेत गरिएको छ।
बाख्रा खरीद गर्न नसक्ने र विदेशबाट फर्किएर नेपालमै केही गरौं भन्ने युवाहरूका लागि १५० वटा बाख्रा पनि उपलब्ध गराइएको छ।
बसामाडीका २५ वर्षीय सागर प्रजा श्रीमती शान्ति प्रजासँगै २०७२ सालदेखि यही फार्ममा कार्यरत छन्। “आफ्नो परिवारसँगै यही बाख्रा फार्ममा काम गर्न पाएको छु, मलाई विदेशको रहर छैन,” सागर भन्छन्, “परिवारसँगै बसेर सजिलो काम गर्न पाएको छु, योभन्दा ठूलो के चाहियो र?”
बजारको चिन्ता
फार्ममा लगानी बढाउँदै १३ करोड पुर्याए पनि बजार सुरक्षित र सुनिश्चित नहुँदा यी व्यवसायीमा उत्साह भने घट्दो छ। “लगानी बढाउन ऋण नै लिनुपरेको छ,” गोविन्द भन्छन्, “किसान व्यवसायीलाई प्रेरित गर्ने सरकारी नीति छैन, सहकार्य छैन। आफ्नै बलबुताले जति भ्यायो उति गरिरहेका छौं, खास नाफा पनि छैन।”
बोयर प्रजातिका बाख्रा खासगरी बीउकै लागि बिक्री हुने र मासुका लागि बिक्री हुँदा पनि बिचौलियाका कारण उचित मूल्य लिन नसकिरहेको उनी बताउँछन्। “हजारौं लगानी गरेर बाख्रा तयार गरिन्छ, बिचौलियाले ढाड छामेर मूल्य लगाउँछन्। स्थानीय सरकारले थोरै सहयोग गरिदिए पनि हामीलाई धेरै हुने थियो, त्यो छैन,” उनी भन्छन्।
बीमा लगायत सुविधा नहुँदा पनि समस्या भएको उनी बताउँछन्। जस्तो- २०७९ चैत २५ देखि २०८० वैशाख १५ गतेसम्ममा बोयर प्रजातिका ११३ वटा पाठा मरे।
प्रदेश सरकारले उनीहरूलाई कृषि राहत अन्तर्गत प्रतिपाठा एक हजार रुपैयाँका दरले क्षतिपूर्ति दियो। तर उक्त राहत लगानीका हिसाबले निकै कम रहेको गोविन्दको भनाइ छ। “विदेशबाट बोयरका बीउ पाठा ल्याउँदा एउटैलाई ५० हजार लगानी परेको हुन्छ। यसरी हेर्दा ती पाठामा मात्रै ५६ लाख ५० हजार लगानी भइसकेको थियो,” उनी भन्छन्।
“५६ लाख ५० हजार नोक्सान हुँदा सरकारले एक लाख ३० हजार दिन्छ, कसरी सरकार छ भनेर ढुक्कले लगानी गर्नु?” गोविन्द थप्छन्।
यी व्यवसायीलाई सताइरहेको अर्को समस्या हो- बाख्राको बड्कौलाको बजार नहुनु। बड्कौला साह्रो हुने र खेतमा हाल्दा पानीमा तैरिने भएकाले हाल किसानले बड्कौलाभन्दा कुखुराको मल नै रोज्छन्। तर यसलाई प्रशोधन गरेमा उच्च गुणस्तरको मल बन्ने गोविन्दको दाबी छ।
फार्म नजिकै तरकारी खेती गर्ने किसानहरूले प्रतिबोरा २५० देखि ३०० रुपैयाँसम्ममा बड्कौला किन्ने त गरेका छन्। तर यसलाई प्रशोधन गरे प्रतिकिलो ३३ रुपैयाँसम्म बेच्न सकिने उनी बताउँछन्। “हामीले जानेका छौं, तर बजेट छैन। मेरै फार्ममा मल खेर गइरहेको छ,” गोविन्द भन्छन्।
प्रदेश सरकारको कृषि मन्त्रालय र कृषि निर्देशनालयमा बाख्राको बड्कौला प्रशोधन गरेर उच्च गुणस्तरको प्रांगारिक मल बनाउन बाख्रा व्यवसायी संघले बजेट माग गरे पनि सुनुवाइ नभएको उनी बताउँछन्। फार्ममा बाख्राको पिसाब पनि संकलन गरेर राखिएको छ, यो पनि बिक्री हुन सकेको छैन।