विपद्ले बदलियो खेती प्रणाली
बर्सेनि आउने बाढीले बालीनाली नै सखाप पार्न थालेपछि कैलालीको टीकापुर क्षेत्रका किसानले खेती प्रणाली नै परिवर्तन गरेका छन्।
हरेक वर्ष बर्खा लागेसँगै कैलालीका टीकापुर, भजनी र जोशीपुर क्षेत्र डुबानमा पर्छन्। जसले गर्दा किसानले अन्नबाली भित्र्याउन पाउँदैनन्। बर्सेनि खाद्यान्न अभाव हुन थालेपछि किसानले खेती प्रणाली नै परिवर्तन गरेका छन्।
विशेषगरी टीकापुर र भजनी नगरपालिकाको डुबान क्षेत्रमा खेती प्रणाली बदलिएको हो। एक दशकअघिसम्म गर्मी याममा प्रायः खेत बाँझै राख्ने गरिन्थ्यो। अहिले भने त्यहाँ हरियाली छाएको छ। किसानले चैते धान र मकै खेती गर्न थालेका छन्।
भजनी नगरपालिका भएर बग्ने मोहना, पथरैया, काँढा र कान्द्रा लगायत सानाठूला नदीमा बाढी आउँछ। बाढीको उच्च जोखिममा रहेकै कारण वडा नं. ३ र ८ का किसानले चैते धान लगाउने गरेका छन्।
भजनी नगरपालिका-८ का कृष्ण चौधरीले वर्षौंदेखि बर्खे बाली भित्र्याउन पाएका छैनन्। वर्षा याममा लगातारको डुबानले अन्नबाली नष्ट पारेपछि चैते धान लगाउन शुरू गरेको चौधरी बताउँछन्। “बाउबाजेले परम्परागत खेती गर्थे। तर हरेक वर्ष डुबानले सखाप पार्थ्यो,” उनी भन्छन्, “अहिले तीन बिघामा चैते धान रोपिरहेका छौं। आठ जनाको परिवारलाई वर्षभरि खान पुग्छ।”
दुई/चार वर्षयता वडाभरि नै चैते धान रोप्ने किसान बढ्दै गएको उनी बताउँछन्। “बाढी र डुबानले सखाप पारेपछि खेती प्रणाली नै बदलेका छौं,” उनी भन्छन्।
वर्षा याममा बाढी आउँदा सबै खेतबारी डुबानमा पर्छ। पानी भरिने भएकाले खेत बाँझै रहन्छ। पानी सुक्न थालेपछि किसानले तोरी र गहुँ लगाउँछन्। फागुनमा अन्न भित्र्याएपछि चैते धान रोप्ने गरेको चौधरी बताउँछन्।
जमीनमुनिको पानीले सिंचाइ गर्ने गरेको भजनी-३ की कृषक पवित्रा चौधरी बताउँछिन्। जसले गर्दा गर्मी लाग्दा पनि रोपाइँ गर्न समस्या हुँदैन। फागुन अन्तिममा लगाएको धान असारमा भित्र्याउने गरेका छन्। “चैते धान लगाउँदा ढुक्क भएको छ,” उनी भन्छिन्।
उनीसँग तीन बिघा जमीन छ। ठेक्का र अधियाँ गरेर १० बिघामा खेतीपाती गर्दै आएकी छन्। सबै जमीनमा चैत धाने नै रोपेको उनी सुनाउँछिन्। “पुरानै खेतीपाती लगाउँदा बाढीले नोक्सान हुन्छ, लगानी पनि उठ्दैन। गहुँ पनि जंगली जनावरले खाइदिन्छ,” चौधरी भन्छिन्, “चैते धान लगाएपछि सजिलो भएको छ। नौ जनाको परिवारलाई वर्षभरि खान पुगेको छ।”
अहिले स्थानीय र प्रदेश सरकारले पनि चैते धान खेतीमा अनुदान दिन शुरू गरेका छन्। सिंचाइ, मलखाद, बीउमा स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले सहयोग गर्न थालेपछि आकर्षण बढेको भजनी-८ का किसान प्रमोद सुनार बताउँछन्। “पानी तान्न डिजल चाहिन्थ्योे, बेमौसम भएकाले मलखाद पनि पाइँदैनथ्यो,” सुनार भन्छन्, “अहिले त सबै ठाउँमा बिजुली पनि छ, सिंचाइका लागि मोटर, मलखाद र बीउमा ज्ञान केन्द्रले सहयोग गरेपछि चैते धान खेती गर्न सजिलो भएको छ।”
भजनी नगरपालिकाका कृषि अधिकृत सुशोधन अधिकारी एक हजार हेक्टर जमीनमा चैते धान खेती भइरहेको बताउँछन्। “डुबानबाट अन्न जोगिने भएकाले चैते धान खेती गर्ने किसान बढिरहेका छन्,” अधिकारी भन्छन्।
प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना र सुदूरपश्चिम प्रदेशको कृषि ज्ञान केन्द्रले चैते धान खेती प्रवर्द्धनका लागि सहयोग गरिरहेको उनी बताउँछन्। माटो परीक्षण, मलखाद, बीउ र प्राविधिक सहयोग पाएपछि किसानलाई पनि सजिलो भएको उनको भनाइ छ।
भजनी नगरपालिकामा मात्रै ११ हजार हेक्टर कृषियोग्य जमीन छ। वर्षा याममा तीन हजार हेक्टर जमीन डुबानमा पर्ने गरेको नगरपालिकाको तथ्यांक छ। जसले गर्दा यो जमीन बाँझो रहन्छ।
विपद्बाट अन्नबाली जोगाउन चैते धान खेतीतिर लागेको मेयर केवल चौधरी बताउँछन्। उनका अनुसार नगरपालिकाले वडा नं. ३ र ८ लाई चैते धान खेती जोनकै रूपमा विस्तार गर्ने योजना ल्याएको छ। चैते धान खेती प्रवर्द्धन गर्ने उद्देश्यले सिंचाइ सुविधा पुर्याउन नेपाल विद्युत् प्राधिकरणसँग विद्युतीय पोल र तार विस्तारका लागि सम्झौता गरिएको उनी बताउँछन्।
बाढी प्रभावित क्षेत्रमा पर्याप्त मात्रामा चैते धान खेती विस्तार गर्न सरकारले सिंचाइ सुविधा पुर्याउन सके किसानलाई ठूलो राहत पुग्ने उनको भनाइ छ। त्यसैलाई ध्यानमा राखेर प्राधिकरणसँग दुई करोड रुपैयाँको योजनामा सम्झौता भएको उनी सुनाउँछन्।
त्यस्तै, कृषि ज्ञान केन्द्र, कैलालीले पनि बाढीबाट डुबानको जोखिममा परेका भजनी, टीकापुर, घोडाघोडी, जानकी, जोशीपुर, बर्दगोरिया र कैलारीमा चैते धान खेतीका लागि कार्यक्रम सञ्चालन गरेको छ। सिंचाइको सुविधा भएका किसानले तोरी निकालेपछि लगाउने चैते धान अतिरिक्त आम्दानीको स्रोत बनेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामनारायण चौधरी बताउँछन्।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार कैलालीमा यस वर्ष एक हजार १०० हेक्टर जमीनमा चैते धान लगाइएको छ। जसबाट पाँच हजार ७२० मेट्रिक टन धान उत्पादन हुने आकलन छ।
चैते धान चिउरा उत्पादनका लागि राम्रो मानिन्छ। त्यसैले यसको बिक्रीवितरणमा पनि कुनै समस्या हुँदैन।