सहकारी ठगी छानबिनको सहमति कांग्रेसद्वारा अनुमोदन
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि गरिएको सहमति अनुमोदन गरेको छ भने अब संसदीय छानबिन समिति गठन हुने भएको छ।
कांग्रेस संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए। “सहकारी ठगीको छानबिनका लागि कार्यदलले गरेको सहमति कांग्रेसले अनुमोदन गरेको छ,” बैठकपछि लेखकले भने, “कार्यदलले संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्छ र आजै संसदीय छानबिन समिति गठन हुन्छ।”
संसदीय छानबिन समितिको कार्यक्षेत्रबारे कार्यदलले सहमति गरेको छ। संसदीय छानबिन समितिले कसैलाई पनि नछोड्ने लेखकले बताए। “व्यक्तिविशेषको नाम नराखे पनि छानबिन समितिले सहकारीको रकम अपचलनमा संलग्न जोसुकैमाथि पनि छानबिन गर्ने तय भएपछि सहमति गरेका हौं,” लेखकले भने।
संसदीय छानबिन समितिले समग्र सहकारीबारे कानूनी र संस्थागत प्रबन्धको अध्ययन गरी आवश्यक सुझाव दिने भएको छ। त्यस्तै, बचतकर्ताको रकम कसरी सुरक्षित गर्ने र कसरी फिर्ता गर्ने भन्ने विषयमा पनि सुझाव दिनेछ।
सहकारीको रकम निजी कम्पनीमा लगेको विषयमा पनि छानबिन हुनेछ। निजी कम्पनीमा रकम लग्दा संलग्न सबै व्यक्तिमाथि छानबिन हुने सहमति भएको छ। “सहकारीको रकम निजी कम्पनीमा लग्दा संलग्न भएका व्यक्तिमाथि छानबिन हुनेछ र दोषीलाई कारबाहीका लागि सिफारिश गर्नेछ,” लेखकले भने, “सहकारीको रकम जहाँ पुगेको छ, त्यहाँसम्म समिति पुग्छ।”
यो सुनिश्चित भएकाले कांग्रेसले सहमति जनाएको लेखकको भनाइ थियो। आजै अपराह्न ४ बजेसम्म प्रतिनिधि सभाको बैठकमा संसदीय छानबिन समिति गठन हुने सहमति भएको लेखकले बताए।
यसको टुंगो कार्यदलले नै लगाउनेछ। त्यसका लागि केही बेरमा कार्यदलको बैठक बस्न लागेको छ।