वर्षाले सडक भासिंदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सडक भासिंदा राजमार्ग अवरुद्ध छ।
गए राति २ बजेतिर गैंडाकोट-९, थुम्सीको जंगलमा सडक भासिएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध छ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिंदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको बताए। भासिएको सडकमा एउटा ट्रक फसेको छ।
यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसका चालकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना भएको छ। त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन्।
ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइते यात्रुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।
अहिले सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उनले बताए। यस क्षेत्रमा गत वर्ष पनि बर्खाको समयमा सडक भासिएको थियो।