चक्रवातको सामान्य प्रभाव, पूर्वी नेपालमा वर्षा हुने
स्थानीय वायुसँगै रेमल चक्रवातको सामान्य प्रभावले पूर्वी नेपालमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रहने विभागले जनाएको छ। देशका बाँकी भूभागमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको आकलन छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
आज राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने विभागको अनुमान छ। कोशी प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।