सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत, धनुषाका न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको स्रेस्तेदार कैलाश भट्टराईले बताए। उनका अनुसार जेठ १६ गतेसम्म हिरासतमा राख्न अनुमति मिलेको हो।
सिरोहियालाई जेठ ७ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो। उनलाई काठमाडौंबाट धनुषा लगिएको थियो। शुरूआतमा जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
त्यसपछि प्रहरीले पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो। जिल्ला अदालतले जेठ ११ मा तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यो समय आज सकिएपछि प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय मार्फत अदालतमा म्याद थपका लागि पेश गरेको हो।