सहकारी ठगी छानबिनमा अडान नछाड्ने कांग्रेसको निष्कर्ष
नेपाली कांग्रेसले सहकारी ठगीका लागि संसदीय छानबिनमा अडान नछाड्ने निष्कर्ष निकालेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार अपराह्न बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले अडान यथावत् राख्ने निष्कर्ष निकालेको हो। यसअघि राख्दै आएको मागबाट पछाडि नहट्ने कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ। संसदीय छानबिन समिति गठन गर्न प्रमुख दलहरू सहमत भइसकेका छन्। तर संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्दा गृहमन्त्री लामिछानेको नाम राख्नुपर्ने कांग्रेसको माग छ। सत्तारूढ दल भने व्यक्तिविशेषको नाम तोक्न नहुने अडानमा छन्।
यसै विषयमा छलफल गर्न कांग्रेस सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका थिए। बैठकमा कार्यदलका सदस्य परियारले अहिलेसम्म भएका छलफल र सहमतिबारे जानकारी गराएका थिए।
त्यसपछि कांग्रेस बैठकले आफ्नो अडान नछाड्ने निष्कर्ष निकालेको हो। बैठकपछि परियारले भने, “विगतदेखि जे कुरा राखेका छौं, त्यही कुरा दोहोर्याउँछौं।”
बूढानीलकण्ठ बैठकपछि कांग्रेस नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरूलाई छलफलका लागि बोलाएका हुन्।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक, सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार गएका हुन्।