भीरबाट अन्धाधुन्ध ढुंगा उत्खनन, ४५ परिवार जोखिममा
ठेकेदारले भीरबाट अन्धाधुन्ध ढुंगा निकाल्दा सिन्धुपाल्चोकको इन्द्रावतीका ४५ परिवार जोखिममा परेका छन्।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६, वसन्तपुरस्थित भीरबाट निर्माण व्यवसायीले ढुंगा निकालिरहेका छन्। भीर भत्काउँदा पहिरो खस्ने डरले सिरानटोल, गैरीगाउँ र सिमलबोटका बासिन्दा थातथलो गुम्ने चिन्तामा छन्।
सिन्धु‐काभ्रे कन्स्ट्रक्शन प्रालिका सञ्चालक अशोक कोइराला र सरोज तामाङले ढुंगा निकालिरहेको स्थानीय बासिन्दा बताउँछन्। अन्धाधुन्ध ढुंगा निकाल्दा आफूहरू त्रसित बनेको उनीहरूको भनाइ छ।
ढुंगा उत्खननको विरोध गर्दा पनि नरोकिएपछि स्थानीय कृष्णबहादुर तामाङ, विमलकुमार ठकुरी, होमप्रसाद नेपाल लगायतले गाउँपालिका कार्यालयमा उजुरी दिएका छन्। उजुरीमा ढुंगा उत्खननले बस्ती उच्च जोखिममा परेकाले तत्काल भीर भत्काउने काम रोक्न माग गरेका छन्।
निर्माण व्यवसायीले २०८० वैशाखदेखि ढुंगा झिक्न थालेको स्थानीय गोपीकुमार ठकुरी बताउँछन्। जसले गर्दा गत वर्ष भीरको उत्तरतर्फ पहिरो गएको थियो। पहिरोले सडक अवरुद्ध भएको थियो भने २० परिवारले प्रयोग गर्दै खानेपानीको मुहान पुरिएको थियो। मुहान सुकेपछि टाढाको पधेंरोबाट पानी बोक्न परिरहेको ठकुरी सुनाउँछन्।
वडाध्यक्ष इन्द्रबहादुर तामाङ वडा सदस्यहरूले वन उपभोक्ता समितिसँग मिलेर अनुमति दिएको बताउँछन्। वडा सदस्य खिलप्रसाद आचार्य र शम्भुप्रसाद कोइरालाले भीरको ढुंगा झिक्न अनुमति दिएको वडाध्यक्ष तामाङको आरोप छ। “गत वर्ष वडा सदस्यहरू आचार्य र कोइराला तथा वन उपभोक्ता समिति बसेर भीरको उत्तरी मोहडामा ढुंगा झिक्ने अनुमति दिनुभएछ। स्थानीयले नै अनुमति दिएकाले मैले विरोध गरिनँ,” उनी भन्छन्।
गाउँपालिका अध्यक्ष झम्क नेपाल ढुंगा उत्खननबारे जानकारी नभएको प्रतिक्रिया दिन्छन्। सामाजिक सञ्जालमा आलोचना भएको थाहा पाएपछि ढुंगा झिकिएको भनिएको स्थानमा पर्ने वडा नं. ६ को कार्यालयमा परिपत्र गरिएको नेपालको भनाइ छ। ‘‘स्थानीय बासिन्दा ढुंगा उत्खनन रोक्न माग गर्दै निवेदन लिएर आउनुभएको रहेछ,” गाउँपालिका अध्यक्ष नेपाल भन्छन्, “यो वडाले हेर्ने भएकाले वडा कार्यालयलाई के-कसो हो, बुझेर रोक्नू भनेर आदेश गरी पठाएको छु।”
वडाध्यक्ष तामाङका अनुसार गत वर्ष वसन्तपुरदेखि गोल्माथानसम्म बाटोमा ढुंगा बिच्छ्याउन निर्माण व्यवसायी पासाङ तामाङले ठेक्का पाएका थिए। वडा सदस्यद्वय शम्भुप्रसाद कोइराला र खिलाप्रसाद आचार्यकै रोहबरमा भीरबाट ढुंगा झिक्न दिइएको थियो। यसपालि पनि स्थानीयले केही भन्दैनन् भन्ने सोचका साथ ढुंगा झिकिरहेको ठेकेदारले बताएको वडाध्यक्ष तामाङ सुनाउँछन्।
यस वर्ष इन्द्रावती-६ को वडा कार्यालयको पर्खाल र वसन्तपुरमा रहेको स्वास्थ्य चौकी बनाउन ७७ लाख ९२ हजार रुपैयाँ बजेट छुट्याइएको छ। त्यसको ठेक्का अशोक कोइराला र सरोज तामाङले पाएका छन्। त्यही कामका लागि वन उपभोक्ता समितिको सहमतिमा ढुंगा झिकेको कोइराला र तामाङको भनाइ छ। “ढुंगा झिक्न स्थानीय प्रतिनिधि र वन उपभोक्ता समितिको मौखिक सहमति लिएका छौं,” कोइराला भन्छन्।
बस्ती जोखिममा पर्ने गरी भीरबाट ढुंगा निकालिरहेको विषयमा वन उपभोक्ता समिति र जनप्रतिनिधि एकाअर्कालाई दोष देखाउँछन्। उपभोक्ता समितिका अध्यक्ष डोलनाथ आचार्य समितिले ढुंगा झिक्न अनुमति दिन नमिल्ने र समितिले अनुमति नदिएको प्रतिक्रिया दिन्छन्। “स्थानीय बासिन्दा, वडा र गाउँपालिकाको सहमति भएमा आफूले विरोध नगर्ने वचन ठेकेदार कोइरालालाई दिएको छु,” आचार्य भन्छन्।
आचार्यका अनुसार गत वर्ष वडा सदस्य सहितको वन उपभोक्ता समितिको बैठकमा वसन्तपुरदेखि गोल्माथान जाने बाटोको उचाइ काट्ने क्रममा ढुंगा झिक्ने तर वन क्षेत्रलाई नछुने सहमति भएको थियो। गत वर्ष त्यही आधारमा निर्माण व्यवसायी पासाङले ढुंगा लगे पनि यस पटक भने कुनै सहमति नभएको आचार्यको भनाइ छ।
वडा सदस्य खिलप्रसाद आचार्य पनि आफूले कुनै सहमति नदिएको बताउँछन्। “गत वर्ष हाम्रो सहमति भनेको अग्लो बाटोलाई सम्याउने भएको हो, तर यसपालि हामीले कुनै निर्णय गरेका छैनौं,” उनी भन्छन्।
ढुंगामा चौतर्फी दबाब
वसन्तपुरको भीरको ढुंगामा गाउँपालिकाकै अन्य वडाले पनि आँखा लगाएका छन्। वडाध्यक्ष तामाङका अनुसार कार्यपालिकाको बैठकमा अन्य वडाका अध्यक्षहरूले भीरको ढुंगा झिकेर प्रयोग गर्न माग गर्दै आएका छन्। “केही वडाध्यक्षले ढुंगा झिक्ने निर्णयका लागि दबाब दिएका थिए, तर मैले स्थानीय बासिन्दालाई असर पर्ने भन्दै छलफल अघि बढ्न दिइनँ,” उनी भन्छन्।
वन उपभोक्ता समितिका अध्यक्ष आचार्य पनि वडा नम्बर ७ का अध्यक्ष दिलबहादुर श्रेष्ठ र वडा नं. ८ का अध्यक्ष रवीन्द्रकुमार खातीले फोन गरेर ढुंगा निकाल्नका लागि अनुमति दिन दबाब दिएको बताउँछन्। “गाउँपालिका अध्यक्ष, प्रदेश मन्त्री समेत मेरै मानिस भएकाले मैले जहिले चाह्यो, तहिले ढुंगा झिक्न सक्छु,” आचार्य भन्छन्। सबैतिरबाट दबाब आएपछि आफूले बैठक डाँकेर ढुंगा झिक्न नदिने निर्णय गराएको उनी सुनाउँछन्।
पहिरोको जोखिम
अन्धाधुन्ध ढुंगा झिक्दा पहिरोको जोखिम बढेको विज्ञहरू बताउँछन्। भूगर्भशास्त्री सुबोध ढकाल विना अध्ययन कुनै पनि ठाउँबाट ढुंगा उत्खनन गर्न नहुने बताउँछन्। “कति खन्दा कस्तो असर पर्छ भनेर अध्ययन जरुरी हुन्छ। विना अध्ययन ढुंगा उत्खनन गर्दा त्यसबाट हुने क्षति अकल्पनीय हुन्छ,” ढकाल भन्छन्।
अर्कातिर, कुनै पनि निकायबाट औपचारिक रूपमा अनुमति नलिई काम गर्दा जोखिम झन् बढ्ने उनको भनाइ छ। कोही जिम्मेवार नहुँदा जथाभावी रूपमा ढुंगा निकालिने र यसले जोखिम बढाउने उनी बताउँछन्।
यसरी उत्खनन गर्दा पहिरोको जोखिम हुने ढकालको भनाइ छ। “ढुंगा झिकेको ठाउँबाट गल्छी बन्दै जान्छ र गल्छी गहिरिंदै गएपछि पहरोमा पानी छिर्दै जान्छ र पहिरो जान्छ,” उनी भन्छन्, “भीरको फेदमा काट्नु हुँदैन। भीरको फेदमा बाटो बनाउँदा पनि भीर नै खस्ने डर हुन्छ।”