सहकारी ठगी छानबिनबारे बालुवाटार बैठकमा जुटेन सहमति
सहकारी ठगी प्रकरणको संसदीय छानबिनका विषयमा छलफल गर्न बसेको सत्तापक्षीय र प्रतिपक्षी दलको बैठकमा सहमति जुट्न सकेन।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सत्तापक्षीय र प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बसेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पक्षसँग छुट्टाछुट्टै र सामूहिक रूपमा छलफल गरे पनि सहमति जुट्न नसकेको नेताहरूले बताएका छन्।
नेपाली कांग्रेस लगायत विपक्षी दलले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएका छन्। संसदीय छानबिन समिति गठन गर्ने विषयमा सत्तारूढ दल पनि सहमत छन्।
संसदीय छानबिन समितिको कार्यक्षेत्र तय गर्न कानूनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। संसदीय छानबिन समितिको कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। सत्तापक्षले व्यक्तिविशेषको नाम तोक्न नहुने अडान लिएको छ भने कांग्रेसले नाम तोकेरै छानबिन गर्नुपर्ने माग गरिरहेको छ। कार्यदलमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन्।
बालुवाटार बैठकमा पनि सहमति जुट्न नसकेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए। “गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको वेला गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी मार्फत सहकारीको रकम अपलचन गरिएको छ, त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ,” कांग्रेसका तर्फबाट कार्यदलका सदस्य समेत रहेका परियारले भने, “प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, तर सत्तापक्ष कहिले सकारात्मक छौं भन्ने त कहिले गलत व्याख्या गरेर अलमल्याउन खोजिरहेको छ।”
कांग्रेसले नामका विषयमा लचक हुन खोजे पनि सत्तापक्षीय दलले समस्या समाधान गर्न नखोजेको उनको भनाइ छ। आजको बैठकमा पनि सत्तापक्षीय दलकै कारण सहमति जुट्न नसकेको उनको भनाइ छ। “जताबाट कुरा उठाए पनि छानबिन रवि लामिछानेमाथि नै हुने हो, त्यसले हामी लचकता अपनाउन तयार छौं,” परियारले भने, “तर समग्र सत्तापक्ष समस्या समाधानतिर भन्दा पनि अल्झाइराख्ने देखिन्छ।”
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (एमाले) नेता विष्णु पौडेलले सहमति जुट्न नसकेको बताए। कांग्रेसले गर्दा सहमति जुट्न नसकेको पौडेलको भनाइ थियो। “नेपाली कांग्रेस राष्ट्रिय राजनीति बिथोल्ने काममा लागेको छ। विशेष गरेर हाम्रा अध्यक्ष विरुद्ध लाञ्छना लगाइरहेको छ,” पौडेलले भने, “हाम्रा अध्यक्ष विरुद्ध लगाएका लाञ्छनाबारे सार्वजनिक रूपमा माफी माग्नुपर्छ। अन्यथा कांग्रेससँगको सम्बन्ध ठीकसँग अघि बढ्दैन।”
कांग्रेस नेताहरूले सहकारी ठगी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई जोगाउन खोजेको आरोप लगाउँदै आएका छन्। गृहमन्त्री लामिछानेमाथि छानबिन हुँदा एमाले नेता पनि तानिने डरले संसदीय छानबिन समिति बनाउन नदिएको कांग्रेसको आरोप छ। त्यसैलाई लिएर एमाले नेता पौडेलले कांग्रेसले अध्यक्ष ओली विरुद्ध लाञ्छना लगाएको बताएका हुन्।
जसले गर्दा संसदीय छानबिन समितिका विषयमा सहमति जुट्न नसकेको पौडेलको भनाइ छ। पौडेलले भने, “कांग्रेस समिति भन्ने तर नबनाउनेमा उद्यत छ।”
बिहानको सर्वदलीय बैठकमा सहमति नजुटेपछि फेरि आजै साँझ बैठक बस्ने भएको छ। सत्तापक्षीय र प्रतिपक्षी दलले आआफ्नो पार्टीमा छलफल गरेपछि आजै साँझ सर्वदलीय बैठक राखेर सहमतिको प्रयास हुने कांग्रेस नेता परियारले बताए।