विश्वकपको अभ्यास खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी टी-२० विश्वकपअघिको अभ्यास खेलमा आज नेपाल क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।
विश्वकप खेल्ने टोली आजदेखि अभ्यास खेलमा प्रतिस्पर्धा गर्दै छन्। आईसीसीको तालिका अनुसार नै अभ्यास खेल हुँदै छन्।
अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेइरी स्टेडियममा नेपाल र क्यानडाको खेल आज राति ९ः१५ बजे शुरू हुनेछ। पछिल्ला पाँच वटा खेल हेर्दा क्यानडाको प्रदर्शन राम्रो रहेको छ।
पछिल्ला पाँच खेलमा नेपालले एक खेल जितेको छ भने तीन खेल हारेको छ। एक खेल अनिर्णीत भएको थियो। क्यानडाले भने पाँच खेलमा चार खेल जितेको छ भने एक खेल हारेको छ।
त्यस्तै, अभ्यास खेलमा ओमन र पपुवा न्यूगिनी तथा नामिबिया र युगान्डा प्रतिस्पर्धा गर्नेछन्।
यसअघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास खेल खेलेको थियो। जेठ ७ मा अमेरिका पुगेपछि पनि ह्युस्टन हुरिकेनसँग दुई वटा अभ्यास खेल खेलेको थियो। हुरिकेनसँगका दुवै खेल नेपालले जितेको थियो।
अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप जेठ १९ गतेदेखि शुरू हुँदै छ। नेपालको पहिलो खेल जेठ २२ मा नेदरल्यान्ड्ससँग हुनेछ। नेपाल रहेको समूह ‘डी’ मा नेदरल्यान्ड्ससँगै दक्षिण अफ्रिका, श्रीलंका र बाङ्लादेश छन्।
नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।